बाँकेको नरैनापुरमा निःशुल्क कान उपचार शिविर सम्पन्न, ५ सय बढीले लिए सेवा

बाँके,२ असार।
बाँकेको नरैनापुर गाउँपालिकामा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न भएको छ। ‘बहिरोपन निवारण कार्यक्रममा सहभागी बनौं, आफ्नो परिवारलाई बहिरो हुनबाट जोगाऔं’ भन्ने नाराका साथ सञ्चालित उक्त शिविरमा पाँच सय बढीले सेवा लिएका छन्।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुल्टेक्रा–५, नेपालगन्जको आयोजना तथा नरैनापुर गाउँपालिकाको समन्वयमा पालिकाका सबै ६ वटै वडामा क्रमशः शिविर सञ्चालन गरिएको थियो।
ब्रिनोजका आउट रिच इञ्चार्ज भीषण थारुका अनुसार शिविर गत जेठ २७ गते कटकुईया स्वास्थ्य चौकीबाट सुरु भई सोमवार गंगापुर स्वास्थ्य चौकीमा सम्पन्न भएको हो।शिविरअन्तर्गत कटकुईयामा ९० जना, लक्ष्मणपुरमा ७२, कालाफाँटामा ८२, नरैनापुरमा ४२, मटेहियामा १३० तथा गंगापुरमा ९१ जनाले कान परीक्षण गराएका थिए।
शिविरमा नाम दर्तादेखि औषधि वितरणसम्मका सबै सेवा निःशुल्क गरिएको थियो। कान स्वास्थ्य परीक्षणमा कान सहायक सीता चौधरी, दामोदर चौधरी र तिर्थमान चौधरी लगायतको सहभागिता रहेको थियो।
स्थानीय बासिन्दाले यस्तो शिविरबाट धेरै लाभ उठाएको जनाउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन्।





