चुनाव छाडेर किन शक्ति प्रर्दशनको बाटोमा छ एमाले ?

ओम शाही
सुर्खेत, ३० कार्तिक ।
नेकपा एमाले सुर्खेतले प्रतिगामी षड्यन्त्रका विरुद्ध जनप्रदर्शन गरेको छ । जिल्ला कमिटी सुर्खेतको आयोजनामा भएको प्रर्दशमा प्रतिगामी षडयन्त्रको विरोध, विघटित प्रतिनिधिसभा पुनर्स्थापना, २३ र २४ भदौको आपराधिक घटनाको निष्पक्ष छानबिनको माग गरिएको छ । त्यस्तै, आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीमा संलग्न अपराधीलाई–कारबाहीको माग एमालेले गरेको छ । जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिघटनाका विरुद्ध एमालेले आफुलाई सडक संघर्षमा केन्द्रित गराउँदै लगेको पछिल्ला क्रियाकलापले बुझिन्छ ।
शनिबार प्रतिगामी षड्यन्त्रका विरुद्ध एमालेले दशैभर आफ्नो शक्ति प्रर्दशन गरेको छ । जनप्रर्दशनलाई सम्बोधन गर्ने नेताहरुले संविधानविपरित बनेको सरकारले देशलाई राजनीतिक निकास दिन नसक्ने दावी गरे । सुर्खेतको जनप्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले जेन–आन्दोलनपछि सिर्जना भएको विषमपरिस्थितीमा संविधानले नचिन्ने सरकार स्वीकार्नु परेको दावी गर्दै देशलाई थप बर्बादीको बाटोमा जान नदिन विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुनुपर्ने धारणा राखे ।
संविधानले स्पष्ट बोलेको अवस्थामा प्रतिनिधिसभा विघटन गरी गठन भएको सरकार मुलुकको हितविपरित रहेको उनको दावी छ । जेन–जी समूहले उठाएका भ्रष्टाचार र सुशासनका सवाल सबैका साझा मुद्दा रहेको बताउँदै उनले २४ भदौको १ बजेपछिका विध्वश्समा संलग्नलाई एमालेले कदापी स्वीकार्न नसक्ने दावी गरे । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेका उनले देशलाई वर्तमान संक्रमणकालिन अवस्थाबाट बाहिर ल्याउन संविधानको रक्षा अपरिहार्य रहेको बताए ।
आन्दोलनमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी, लुटपाट र तोडफोड गर्नेहरुलाई अहिलेको सरकारले संरक्षण गरिरहेको आरोप उनको छ । लोकतन्त्र चाहने पक्षधरलाई उनले जनताका अधिकार खोस्ने र कुण्ठित गर्ने सरकारको विरोध जनाउनु पर्ने बताए । जनतलाई जागृत र संगठित गर्ने दल एमाले मात्रै रहेको उनको दावी थियो ।
‘यो कुनै सत्ता र कुर्सीको लडाइ होइन । हामी जनताप्रति जवाफदेही छौं । जनताका अधिकार खोसिने र कुण्ठित पारिने कदमका विरुद्ध एमाले छ । जनताको लामो त्याग र बलिदान पश्चात बनेको संविधान रक्षा एमालेको बटम लाईन हो,’ कँडेलले भने । संविधानको रक्षा भएमात्रै लोकतन्त्र संस्थागत हुने उनको भनाई थियो । एकाध राजनीतिकर्मीको गल्तिलाई देखाएर सिङ्गो व्यवस्थाप्रति प्रश्न उठाउनेहरुबाट समयमै सचत रहनुपर्ने उनले बताए । अहिलकै अवस्थामा आगामी फागुनमा चुनाव हुन नसक्ने दावी गर्दै उनले निर्वाचनको वातावरण बनाउनतर्फ सरकारले ध्यान दिन नसकेको दावी गरे ।
त्यस्तै, केन्द्रीय सदस्य मोहनमाया ढकालले गणतन्त्र संस्थागत गर्न विघटित प्रतिनिधिसभा पुनर्स्थापना र संविधानको रक्षा एमालेको मुल ऐजेण्डा रहेको बताइन । ‘जेन–जीका माग जायज थिए र छन् । तर, आन्दोलनका नाममा मच्चिएको अराजकताले राष्ट्रिय स्वाभिमानमा आँच आएको छ । राष्ट्रिय सम्पत्तिसँगै व्यक्तिका सम्पत्ति जलाइएका छन् । देशको सार्वभौमिकतामाथी आक्रमण भएको छ । संविधान मिच्ने काम भएको छ । यसैको विरोधमा एमाले सडक संघर्षमा निस्किएको हो,’ ढकालले भनिन् ।
जेन–जीका भावना अनुसार पारदर्शिता र सुशासनयुक्त साशान प्रणालीको अभ्यास भइरहेका बेला भएको विध्वश्व कदापी स्वीकार्य हुन नसक्ने दावी गर्दै उनले परिस्थिति जस्तो सुकै भएपनि न्यायको पक्षमा उभिन आमनागरिकलाई आग्रह गरिन । यस्तै, केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले एमालेको नेतृत्व बिना देशको समृद्धि असम्भव रहेको दावी गरे । ‘संसद पुनर्स्थापाना हुन्छ । ट्याकबाट बाहिर लिन खोजिएको संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि एमाले सडकमा उत्रिएको हो,’ उनले भने । सभामा एमालेका जिल्ला प्रदेश र केन्द्रीय तहका नेताहरुले सम्बोधन गरेका थिए ।
‘चुनावका नाममा षड्यन्त्र हुँदैछ’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन नहुने दाबी गरेका छन् । सुर्खेतमा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चुनावका नाममा देशमा थप षड्यन्त्र भइरहेकाले यसको औचित्य नरहेको बताएका हुन् ।
‘एमाले किन चुनावमा जाँदैन भन्ने प्रश्न रहला । तर, चुनाव हुँदै हुँदैन । चुनावका नाममा मुलुकमा षड्यन्त्र भइरहेको छ,’ पोखरेलले भने, ‘देशलाई चुनावको नाम दिएर भइरहेको षड्यन्त्रमाथि एमालेले प्रहार गरिरहेको छ । हुँदै नहुने चुनावका पछाडि एमाले लाग्दैन ।’ उनले जेन–जी आन्दोलनपछि संविधानविपरीत गठन भएको सरकार र प्रतिनिधिसभा विघटन एमालेका लागि मान्य नहुने बताए । २३ र २४ भदौपछि गठन भएको सरकारले लोकतन्त्र कमजोर बनाउन लागिपरेको उनले बताए ।
‘सरकार विघटन र नयाँ सरकार निर्माण आकस्मिक होइन । प्रधानमन्त्रीको राजिनामा पछि अर्को प्रधानमन्त्री बनाउने बाटो थियो । सबै दलले संविधान संवत अर्को प्रधानमन्त्री बनाउन र संविधान अनुरुप जान तयार हुँदा पनि संसद विघटन पहिलो सर्त राखेर संविधानले नचिन्ने सरकार बन्यो । एमालेका लागि सरकार निर्माण र प्रतिनिधिसभा विघटन षड्यन्त्र हो ।,’ उनले भने । विघटित संसदलाई ब्युँताएर संविधान संशोधनमार्फत विद्यमान राजनीतिक संकटबाट देशलाई बाहिर निकाल्न एमालेले चाहेको उनले बताए ।उनले लोकतन्त्रलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा सबै राजनीतिक दललाई एक ठाउँमा उभिन आग्रह गरे । उनले एमालेका पछिल्ला गतिविधि जनताको मनोबल उठाउन केन्द्रित रहेको बताउँदै आन्दोलन र हिंसालाई अलग राख्नुपर्ने धारणा राखे । जेन–जीका नाममा ३३ प्रतिशत फेक एकाउन्ट निर्माण गरेर युवाहरूलाई भड्काइएको बताउँदै उक्त आन्दोलन सामान्य प्रतिशोधले सम्भव नहुने उनको दाबी छ । उतिबेला एकतिहाइ प्रायोजित सामाजिक सञ्जालबाट सिङ्गो राष्ट्र जलाउने काम हुनु दुःखद रहेको उनको दाबी थियो ।






