नेपालगञ्जमा शीतलहर पूर्वतयारी तीव्र ४२ हजारभन्दा बढी प्रभावित हुने अनुमान

बाँके, २९ मंसिर ।
अत्याधिक चिसो बढ्दै जान थालेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा शीतलहरको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ । नेपालगञ्ज शीतलहरको उच्च जोखिममा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ । यस वर्षको पूर्वानुमान अनुसार नेपालगञ्ज उपमहानगरपालिकाभित्र ८ हजार ५ सय २४ परिवारका करिब ४२ हजार ६ सय २० जना नागरिक शीतलहरबाट प्रत्यक्ष प्रभावित हुने देखिएको छ ।
शीतलहरको जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न सहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर कार्यक्रम) को प्राविधिक सहयोगमा शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्न विषयगत क्षेत्र (क्लष्टर) बीच छलफल कार्यक्रम आयोजना गरिएको हो। आपतकालीन अवस्थाको सामना गर्न आवश्यक योजना, समन्वय र जिम्मेवारी स्पष्ट गर्ने उद्देश्यले छलफल गरिएको जनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा विपद व्यवस्थापनका लागि कुल ८ वटा विषयगत क्षेत्र सक्रिय छन् । छलफलका क्रममा खोज तथा उद्धार, समन्वय तथा सूचना व्यवस्थापन, शिक्षा, खानेपानी तथा सरसफाइ स्वच्छता (वास), आवास तथा गैरखाद्य सामग्री, स्वास्थ्य तथा पोषणलगायत क्षेत्रका प्रतिनिधिहरूले समूहगत कार्यमार्फत योजना सम्बन्धी पृष्ठपोषण दिएका छन् । आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार विषयगत क्षेत्रहरूबाट प्राप्त सुझावका आधारमा शीतलहर प्रतिकार्य योजना अझ व्यवहारिक र प्रभावकारी बनाइनेछ ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शीतलहरबाट नगरबासीलाई जोगाउन पूर्वतयारी र प्रतिकार्य योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले विपद् जोखिम न्यूनीकरण एकल प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै सबै सरोकारवाला निकाय, विषयगत क्षेत्र, संघसंस्था र समुदायको हातेमालो तथा समन्वय आवश्यक रहेको बताए । समयमै गरिएको तयारीले मानवीय क्षति कम गर्न सकिने उनको भनाइ थियो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत शर्माले मानवीय सेवामा विषयगत क्षेत्र (क्लष्टर) अवधारणाको महत्वबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी युनिसेफका राजु अधिकारीले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना र विषयगत क्षेत्रहरूको भूमिका सम्बन्धी विस्तृत प्रस्तुतीकरण गरेका थिए । छलफल र प्रस्तुतीकरणपछि नेपालगञ्ज उपमहानगरपालिकाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तेस्रो पटक अद्यावधिक गरिएको छ ।
अद्यावधिक योजनामा शीतलहरको समयमा अतिसंवेदनशील समूह—जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा विपन्न परिवारलाई प्राथमिकतामा राखेर राहत, उद्धार, स्वास्थ्य सेवा, न्यानो कपडा तथा अस्थायी आवास व्यवस्थापन गर्ने रणनीति समेटिएको छ। साथै सूचनाको प्रभावकारी प्रवाह, समुदायस्तरमा जनचेतना अभिवृद्धि र आकस्मिक प्रतिकार्य संयन्त्रलाई सशक्त बनाउने विषय पनि योजनामा समावेश गरिएको जनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी तथा सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको सुपर कार्यक्रमले विपद पूर्वतयारी र प्रतिकार्यका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । सुपर कार्यक्रममार्फत आवश्यक पृष्ठपोषण, प्राविधिक सहयोग, समन्वय, सहकार्य र सहजीकरणमा महत्वपूर्ण टेवा पुगिरहेको जनाइएको छ ।
स्थानीय तह, विकास साझेदार र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै शीतलहरबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित नेपालगञ्ज उपमहानगरपालिका आगामी दिनमा पनि पूर्वतयारीका कार्यक्रमलाई निरन्तरता दिने तयारीमा रहेको जनाएको छ ।






