बाँकेमा युरियाको हाहाकार : किसान निराश, मल वितरणमा अव्यवस्था

बाँके ,२७ कार्तिक ।
बाँके जिल्लामा पछिल्ला दिनहरूमा गहुँ बालीका लागि आवश्यक रासायनिक मल, विशेषगरी युरिया मलको अभाव गहिरिँदै गएको छ । समयमा मल नपाउँदा किसानहरूमा आक्रोश र निराशा दुवै बढेको देखिन्छ । गहुँ बाली रोप्ने समय चलिरहँदा युरिया अभावले किसानको कृषि योजना नै अस्तव्यस्त बनेको छ ।
जिल्लाभरका सहकारी संस्था र मल वितरण केन्द्रहरूमा किसानहरूको भीड बढ्दो छ। नेपालगञ्ज, कोहलपुर, डुडुवा, र बैजनाथका सहकारी कार्यालयहरूमा हरेक दिन बिहानैदेखि लाइन लाग्ने किसान साँझसम्म रित्तो हात फर्किन बाध्य छन् । कतिपय किसानले बिहानदेखि बेलुकीसम्म पर्खंदा पनि मल नपाएको गुनासो गरेका छन् ।
नेपालगञ्ज–१३ उदयपुरका किसान सुक्विन्दर सिंह भन्छन्, “पहिले धान रोप्दा पनि समयमा मल नपाएर राम्रो उत्पादन गर्न सकिएन । अहिले गहुँका लागि पनि युरिया भेटिन छाड्यो । सरकारले खेतीलाई प्रोत्साहन गर्छ भन्छ तर मल नहुँदा किसान कसरी उत्पादन बढाउँ?” उनले दुःख पोख्दै भने, “कागजमा मात्र कृषि प्रधान देश भनिन्छ, व्यवहारमा किसानलाई मल र बीउकै अभाव छ।”
युरिया नपाउँदा किसानहरू तनावमा छन् भने डिएपी मल भने केही मात्रामा उपलब्ध भएको सहकारी स्रोतले जनाएको छ । तर, युरिया नपाउँदा डिएपीको उपयोग पनि प्रभावकारी हुन सकेको छैन । किसानहरूका अनुसार, गहुँ बालीलाई युरिया अत्यावश्यक हुने भएकाले यसको कमीले उत्पादनमा सीधा असर पर्छ ।
जिल्ला सहकारी सङ्घ बाँकेका प्रबन्धक सञ्चालक नवराज उपाध्यायले किसानको मागको तुलनामा स्टक कम हुँदा समस्या देखिएको स्वीकार गरेका छन् । उनका अनुसार, “किसानको माग अनुसार मल वितरण गर्न कठिनाइ भइरहेको छ । केन्द्रबाट पठाइएको मल पर्याप्त छैन । हामी वितरण प्रणाली व्यवस्थित गर्ने प्रयासमा छौं, तर आपूर्तिको कमीले समस्या बढाएको हो ।”
तर, किसानहरू सहकारीहरूकै कामप्रति असन्तुष्ट देखिन्छन् । उनीहरूले बिहान १० बजे बोलाएर दिउँसो ४ बजे मात्रै वितरण सुरु गरेको, लाइनमा उभ्याएर मल सकिएको भन्दै फर्काएको आरोप लगाएका छन् । किसानहरू भन्छन्, “सहकारीहरू जिम्मेवार हुनुपर्ने ठाउँमा बेवास्ता गर्छन्, जसको मार हामी किसानले भोग्नुपरेको छ ।”
बाँकेकै कोहलपुर–८ की किसान लक्ष्मी थारू भन्छिन्, “हामी बिहानैदेखि लाइनमा उभिन्छौं, तर बेलुकीसम्म मल पाउँदैनौं। कहिले भोलि आऊ भनेर फर्काउँछन्, कहिले ‘स्टक सकियो’ भन्छन्। यस्तो अवस्थामा खेती गर्न साह्रो भएको छ ।” उनले थपिन्, “सरकारले हामीलाई समयमा मल पुर्‍याएन भने गहुँ बालीको उत्पादन घट्ने निश्चित छ ।”
स्थानीय सहकारीहरूमा बुधबार अत्याधिक भिड बढेपछि बिहीबारका लागि वितरण स्थगित गरिएको थियो । तर, किसानहरूका अनुसार, बिहीबार पनि पर्याप्त मल नआएपछि कतिपयले नजिकका अन्य जिल्लामा गएर युरिया खोज्ने प्रयास गरेका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका अधिकारीहरूका अनुसार, जिल्लामा यस वर्ष गहुँको उत्पादन लक्ष्य ३२ हजार हेक्टरमा तय गरिएको छ, तर युरियाको अभावले लक्ष्यमा असर पर्ने देखिएको छ । विशेषज्ञहरू भन्छन्, कृषि उत्पादन बढाउन मल आपूर्ति प्रणालीलाई समयमै व्यवस्थित नगरे उत्पादनमा गिरावट आउँछ र त्यसको असर सिधा खाद्य सुरक्षा र किसानको आम्दानीमा पर्छ ।
युरियाको अभाव समाधानका लागि सहकारीहरू र स्थानीय तहबीच समन्वय आवश्यक भएको विज्ञहरूको सुझाव छ । युरियाको अभावले बाँकेका किसानहरूका अनुहारमा निराशा झल्किएको छ, र उनीहरू तत्काल आपूर्ति व्यवस्थापन हुने अपेक्षामा छन् ।
बाँकेमा युरियाको हाहाकार : किसान निराश, मल वितरणमा अव्यवस्था

जडीबुटीखेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण

बाँकेमा युरियाको हाहाकार : किसान निराश, मल वितरणमा अव्यवस्था

सिमकोटमा चार दिनदेखी विद्युत् आपूर्ति बन्द 

Leave a comment

Your email address will not be published. Required fields are marked *