छिन्चुमा पाँच किलो अफिमसहित एक जना पक्राउ, अन्तर्राष्ट्रिय बजारमा मूल्य ५ करोड

सुर्खेत ,२६ असार।
सुर्खेतको भेरीगंगा नगरपालिका–१० तालबारीबाट सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एक जनालाई पक्राउ गरेको छ। बुधबार इलाका प्रहरी कार्यालय छिन्चु र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले विशेष सूचनाका आधारमा छापा मारेर ४६ वर्षीय जयबहादुर बस्नेतलाई पक्राउ गरेको हो। उनी जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० का स्थायी बासिन्दा हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीका अनुसार बस्नेतको साथबाट ५ किलो ४ सय ५० ग्राम अफिम बरामद गरिएको हो। यो अहिलेसम्म कर्णाली क्षेत्रमा एकै पटक बरामद गरिएको सबैभन्दा ठूलो परिणामको अफिम भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बस्नेतले अफिम भारत पुर्याउने योजनामा रहेको स्वीकार गरेको बताइएको छ। प्रारम्भिक मूल्यांकनअनुसार बरामद अफिमको नेपाली बजार मूल्य झण्डै ८ लाख ८६ हजार रुपैयाँ भए पनि भारतसम्म पुर्याउन सके यसको मूल्य ५ करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।
प्रहरीका अनुसार उक्त अफिम हेरोइन बनाउन प्रयोग हुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा यसको अवैध कारोबार हुँदै आएको छ। प्रहरीले मुख्य कारोबारी भने फरार रहेको र खोजी कार्य जारी रहेको जानकारी दिएको छ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथापाले कर्णालीका केही दुर्गम जिल्लाहरूमा अहिले पनि लुकीछिपी अफिम खेती हुँदै आएको स्वीकार गर्दै सो अफिम भारत लैजान खोजिएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो। पक्राउ परेका बस्नेतमाथि लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






