सम्पादकीय : स्वरुप फेरिएको बुलबुले

सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले ताललाई मौलिक कलात्मक बनाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले यसअघि निर्माण गरिएको पानी पिउन र नुहाउँन प्रयोग गरिने मुख्य तालको स्वरुप परिवर्तन गर्न लागेको हो । नगरपालकाले पुराना संरचना जिर्ण हुँदा वालबाट पानी चुहिने समस्याको समाधानका साथै यसको सौन्दर्य बढाउन पुराना धारा हटाएर नयाँ कलात्मक शैलीका मौलिक ढुङ्गेधार जडान गर्न थालेको छ ।

३० लाख लागतमा ताल वरिपरीका जिर्ण पुराना संरचना भत्काएर स्थानीय पत्थर तथा मौलिक कलात्मक शैलीका ढुङ्गेधारा जडान गर्ने कार्य थालिएको नगरपालिकाले जनाएको छ । यसले बुलबुलेको मुख्य चिनारी तालको थप सोभा बढ्ने नगरपालिकाको विश्वास छ । बुलबुले ताल भन्ने वित्तिकै अधिकांश मानिसको मानसपटलमा सुर्खेत जिल्लाको नाम आउछ । यो एउटा ताल मात्रै होइन ।

यसले सुर्खेत जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाएको छ । सुर्खेत आएको समयमा बुलबुले ताल नपुग्ने सायदै कमै भेटिन्छन् । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने बुलबुलेले आम मानिसको मन मात्रै जितेको छैन, यसबाट वर्षेनी राज्यलाई मनग्य आम्दानीसमेत भइरहेको छ । बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि झनै पर्यटकको रोजाई बन्दै गएको छ । दैनिक पाँच सयभन्दा बढी पर्यटकले बुलबुलेको अवलोकन गर्ने गरेको बताईन्छ ।

२०२९ सालदेखि सरकारी तवरबाट संरक्षण हुन थालेको बुलबुलेमा वनभोजस्थलदेखि घुमघाम गर्न जानेहरूको घुइँचो हुने गर्दछ । विशेष गरी बिदाको दिन पाँच हजारभन्दा बढी व्यक्तिले बुलबुलेको अवलोकन गर्ने गरेको बताइन्छ । अन्य समय नगरपालिकालाई दैनिक टिकट बिक्रीबाट १५ हजारसम्म आम्दानी हुँदा बिदाको दिनमा ३५ हजार बढी आम्दानी हुने गरेको तथ्यांक छ ।

यो आफैमा सकारात्मक पक्षभएपनि गुरुयोजना अनुरुप बुलबुलेलाई अझै व्यवस्थित बनाउँन सकिएको छैन । बुलबुले घुम्न आएका आन्तरिक पर्यटकहरुले अझै उद्यान क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको औल्याउने गरेका छन् । सार्वजनिक शौचालय, खानेपानी तथा रातको समयमा पनि घुम्न मिल्ने गरी संरचना तयार भएका छैनन् । बुलबुले क्षेत्रको फोहोरमैला व्यवस्थापन तथा सरसफाईको पाटो पनि भद्रगोल अवस्थामा छ ।

उद्यान तथा ताल क्षेत्रको सुन्दरता बढाउन राखिएका बत्ति तथा संरचनाहरु संरक्षणको अभावमा भत्किएका र बिग्रेका अवस्थामा छन् । जथाभावी फोहोर फाल्ने, फुल चुड्ने, जथाभावी बगैचामा प्रवेश गर्ने लगायतका अवाञ्छित गतिविधिले उद्यान क्षेत्र अस्तव्यस्त जस्तै बन्ने गरेको छ । अनुमति बिनै प्रवेश गर्नेहरुले बुलबुलेको सोभा थप बिगारिरहेका छन् । पछिल्लो समय बुलबुलेमाथी विभिन्न प्राकृतिक संकटहरु पनि थपिँदै गएका छन् ।

ताल वरपर विकास भएका अव्यवस्थित वस्तीका कारण तालको अस्तित्व मेटिने जोखिम उत्तिकै छ । पछिल्ला केही वर्षयता बुलबुलेमा निरन्तर पानीको स्रोतहरु घट्दै जान थालेका छन् । यसको मुख्य कारण जलवायु परिवर्तनको असर तथा यस आसपासका क्षेत्रमा भूमिगत पानीको चरम दोहोन हो । पानी रिचार्ज हुने उत्तरी क्षेत्रमा क्रङकिटले भरिदा बुलबुलेमा जलपुनरभरणको बाटो छेकिने अवस्थामा पुगेको छ । यसतर्फ नियामक निकाय वीरेन्द्रनगर नगरपालिकाले ध्यान पु¥याउनै सकेको छैन ।

कतिपय अवस्थामा ताल क्षेत्र वरपर विकास निर्माणका गतिविधिहरु वातावरण अनुकुल नुहुँनु तथा मानविय हस्तक्षेपले विगत भविष्यमा तालको अतित्व नै संकटमा पर्ने निश्चित छ । राज्यका हरेक निकायले अपनाउने विकास नीति हरितमैत्री भएमात्रै प्राकृतिक स्रोतहरुलाई बचाउन सकिन्छ । मानिसको मनोरञ्जनसँगै वावावरणमैत्री विकास नीति अवलम्बन गर्न सकिए मात्रै बुलबुले तालको दीगो व्यवस्थापनसँगै संरक्षण हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन । वीरेन्द्रनगर नगरपालिकाले राजश्व संकलन गर्ने थलोका रुपमा मात्र नभई बुलबुलेलाई दीगो हरितमैत्री क्षेत्र निर्माण गर्न बृहत गुरुयोजनाको खाँचो छ । यसतर्फ वीरेन्द्रनगरले बेलैमा ध्यान पु¥याओस् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *