सुदूरपश्चिममा मनाइयो गौरा एकादशी पर्व

बैतडी, २२साउन ।
सुदूरपश्चिम प्रदेशमा गौरा एकादशी पर्व मनाइएको छ । हरेक वर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको जानकार जयानन्द भट्टले बताए । पहिलो पटक गौराको ब्रत लिने महिलाहरुले अनिवार्य रुपमा गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा छ । गौरा उपासना गर्ने महिलाहरुले बुधबार ब्रत बसेर साँझको समयमा पूजाआजा गरेका छन् ।
गौरामा दुबधागो धारण गर्ने ब्रतालु महिलाले गौरा एकादशीबाटै गौरा पर्व सुरुवात गर्छन् । गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मात्रै गौरा पर्व मनाउने चलन रही आएको भट्टले बताए । यो पर्व सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिका लागि मनाउने गरिन्छ ।






