एनसेलको ‘एनपीएल प्ले प्याक’ सार्वजनिक: अब मोबाइलमै नेपाल प्रिमियर लिगका खेल लाइभ हेर्न सकिने

काठमाडौं ,१५ मंसिर ।
एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणलाई अझै व्यापक पहुँच दिन ‘एनपीएल प्ले प्याक’ संचालनमा ल्याएको छ। डिसहोमसँगको सहकार्यमा सुरु गरिएको यो प्याकमार्फत ग्राहकले डिशहोम गो एपमा मोबाइलबाटै खेलहरुको प्रत्यक्ष प्रसारण हेरिने सुविधा प्राप्त गर्नेछन्।
ग्राहकलाई सहज र किफायती तरिकाले एनपीएल हेर्न सक्षम बनाउने उद्देश्यले ल्याइएको यो प्याक रु २९९ (कर सहित) मा उपलब्ध छ। यो प्याक खरिद गर्ने ग्राहकले अतिरिक्त १ जीबी डेटा पाउँछन्, जुन २८ दिनसम्म मान्य रहनेछ। एनसेल एप वा *१२३# डायल गरेर प्रत्यक्ष रूपमा, साथै देशभरका एनसेलका खुद्रा विक्रेतामार्फत पनि यो प्याक खरिद गर्न सकिन्छ। प्याक सक्रिय भएपछि प्राप्त एसएमएसबाट प्राप्त लगइन विवरण प्रयोग गरी ग्राहकले डिशहोम गो एपमा सजिलै एनपीएलका खेल हेर्न सक्छन्।
एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले यस सहकार्यबारे खुशी व्यक्त गर्दै भने,
“बन्डल डेटाका साथ एनपीएलका खेलहरु मोबाइलमै प्रत्यक्ष हेर्न मिल्ने सुविधा दिन पाउँदा हामी उत्साहित छौं। डिशहोमसँगको साझेदारीले ग्राहकलाई सहज, निर्बाध र गुणस्तरीय स्ट्रिमिङ अनुभव प्रदान गर्नेछ, साथै क्रिकेटको रोमाञ्चकतालाई अझ बढाउनेछ।”
एनसेलले पहिलो संस्करणमा जस्तै यस पटक पनि ‘पावर्ड वाइ’ का रूपमा एनपीएलसँग सहकार्य जारी राखेको छ। ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ नाराका साथ कम्पनी यस वर्ष पनि सक्रिय रूपमै एनपीएलमा आवद्ध छ। खेललाई अझ रसिलो बनाउन एनसेलले फ्यान प्याकसमेत सार्वजनिक गरिसकेको छ।
यसबाहेक, एनसेल फाउन्डेसनले पनि व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गतको कार्यक्रम निरन्तरता दिएको छ। एनपीएलका खेलमा लाग्ने प्रत्येक चौकाको बदलामा ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री प्रदान गरिने घोषणा फाउन्डेसनले गरेको छ।
एनसेलको नयाँ प्याकले खेलप्रेमीहरूका लागि एनपीएललाई झनै सहज, पहुँचयोग्य र रोमाञ्चक बनाएको छ।





