एक वर्षपछि इलाका प्रशासन कार्यालयबाट सेवा सुचारु


जिल्लाको दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले स्थापित इलाका प्रशासन कार्यालयले कार्य बन्द भएको एक वर्षपछि आफ्नो सेवा सुचारु गरेको छ । गृह मन्त्रालयले नायव सुब्बा घमानसिंह रावतलाई कायम मुकायम मुकरर गरेर इलाका प्रशासन कार्यालय प्रमुखको जिम्मेवारी दिएर खटाएपछि रोकिएको काम पुनः सुरु भएको हो ।

सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा रहेको इलाका प्रशासन कार्यालयमा नयाँ जिम्मेवारी लिएर पुगेका कार्यालय प्रमुख रावतले गृह मन्त्रालयले जिम्मेवारी दिएपछि आफू कार्यालयमा आएर सेवा प्रदान गर्न सुरु गरेको बताए ।
उनले आफूले सेवा प्रदान गर्न सुरु गरेसँगै एक वर्षदेखि इलाका प्रशासन कार्यालयबाट प्रदान गर्न रोएिका सबै सेवा पुनः प्रदान गर्न थालिएको बताए ।
यसअघि मन्त्रालयले इलाका प्रशासन कार्यालयको प्रमुख नखटाउँदा सबै सेवा रोकिएका थिए । अघिल्लो वर्षको साउन महिनामा मन्त्रालयले कायम मुकायम मुकरर दिएका नायव सुब्बा भिमबहाुर रोकायालाई म्याद थप गरेको थिएन । त्यसपछि भने इलाका प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द भएका थिए । यो अवधिमा कार्यालयमा काम गर्दै आउनु भएको कम्प्युटर अप्रेटर र कार्यालय सहयोगीले आवश्यक कागजात सङ्कलन गर्ने र सेवाग्राहीलाई नै बोकाएर जिल्ला प्रशासन कार्यालयमा पठाएर सेवा प्रदान गर्ने गरिदै आएको थियो ।

उनले आफूले जिम्मेवारी पाएर कार्यालयमा उपस्थित भएपछि नयाँ नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि प्रदान, राष्ट्रि परिचय पत्र प्रदान र सिफारिस दिने कार्य सुरु भएको बताए । सेवा प्रदान गर्न सुरु गरे कै पहिलो दिनमा तीस वटा नयाँ नागरिकता, बीस वटा राष्ट्रिय परिचय पत्र, पन्द्र वटा सिफारिस प्रदान गरिएको छ ।

इलाका प्रशासन कार्यालयबाट सेवा सुचारु भएपछि दक्षिणी क्षेत्रका चार वटा गाउँपालिका सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोटका सेवाग्राहीहरुले एक दिनमा नागरिकता प्राप्त गर्न सक्ने भएका छन् । यसअघि इलाकाबाट सेवा दिन बन्द भएको समयमा सेवाग्राहीलाई सेवा लिन सदरमुकाम सिमकोट आउनु परे चारदेखि पाँच दिन लाग्ने र आर्थिक ब्ययभार समेत गर्नु पर्ने अवस्था थियो ।