भेडा पालनमा भविष्य खोज्दै : जुम्लाका युवा


जुम्लाको सिंजा गाउँपालिका –५ का उज्वल बुढा २१ वर्ष लागेका थिए । कक्षा ८ पास गरेका बुढालाई घरपरिवार र आफन्तले विदेश जान सुझाए । तर,उनलाई विदेश जान पटक्कै मन लागेन । कक्षा ८ गाउँकै विद्यालयबाट पास गरेका उज्वलको पढाइ राम्रो भए पनि आर्थिक कारणले अध्ययन थपअघि बढाउन सक्ने अवस्था थिएन ।
घर, परिवारले विदेश जानका लागि भनेर राहदानी बनाइदिए । यता,उज्वललाई भने अर्काको देशमा पुगेर कामदार बन्नुभन्दा आफ्नो देशमा किसान बन्ने इच्छा पलायो । विदेश जानका लागि जम्मा गरेको रकम उनले पुर्खाले गर्दै आएको पेशा भेडापालनमा लगाए । ‘सानै उमेरबाटै विदेश जान मन थिएन,’ उनी भन्छन्,‘भेडापालनमा राम्रो आम्दानीको सम्भावना भए पनि यसमा दुःख निकै छ ।’ आफ्नो गाउँ घरमा भेडापालन गर्दै आएका बुढाले राम्रो आम्दानी भएको सुनाए ।
अहिले उनीसँग ८० भन्दा बढी भेडा छन् । ‘सुरुमा २० वटा भेडा किनेर साथिको गोठमा मिसिएको हुँ,’ उनले भने, ‘भेडा बढ्दै जान्छन्, केही समय यस क्षेत्रमा नै जम्न सके, भने वार्षिक २०–३० लाख कमाउन सक्छु । आटिलो स्वरमा भने,झउज्वलसँगै भेडी गोठमा अर्का एक साथीका गरी करिब एक सय भन्दा धेरै भेडा छन् ।
भेडाका लागि चरण क्षेत्र बढी चाहिने भएकाले नजिक– नजिक भेडीगोठ कम हुन्छन् । लेकमा बस्नुपर्ने भएकाले पनि कतिपयले यो पेशा छोड्दै गएको उनको ठम्याइ छ । यस्तै उक्त गाउँपालिका–५ का विकास कार्की २६ वर्षका भए । ‘कार्की’ले कक्षा १२ उत्तीर्ण गरेका छन् । अकाउन्ट् विषयमा उतिर्ण भएका उनी अहिले आफ्नै गाउँमा व्यावसायिक भेडापालनमा सक्रिय छन् । व्यावसायिक भेडापालन शुरू गरेका विकासको बथानमा अहिले १ सय १५ भेडा छन् ।
उनले वार्षिक आम्दानी १० लाखभन्दा बढी हुने गरेको बताउँछन् । विकासले भने, ‘वर्षभरि झरीबादल, हिउँ र सबै दुःखकष्ट सिरानी हालेर सुत्छौं । एक दिन पैसा सिरानी हाल्ने र दुःख बिर्सने अवसर पनि हो।‘भेडा पालनमा राम्रो आम्दानीको सम्भावना छ । दुःख त सबै काममा हुन्छ । अरब गए पनि रूखमा पैसा फल्ने हैन । रुपैयाँ हाम्रो डाँडापाखामा छ,’ अर्का सिंजा –६ का २७ वर्षीय भेडा गोठाला प्रायोजन रोकायाले भने, ‘१२ कक्षा पास भएपछि परिवार र आफन्त सबैले विदेश जा भन्थे । रोकाया भन्छन् तर, म गोठालो बनें । पहिलो वर्ष ५५ वटा भेडा किनेर साथीको गोठमा मिसिएको थिए ।
अहिले ९० वटा भेडा मेरै छन् । खुसी छु, राम्रै भएको छ । बजारमा भेडाको उनबाट बनेको राडीको उच्च माग छ । राडीपाखी ८ देखि १० हजारको मुल्यमा बिक्री हुन्छ । र लिउ चारदेखि ७ हजारसम्ममा बिक्री भइरहेको छ ।’ परम्परादेखि फिरन्ते रूपमा पालिँदै आएका भेडालाई स्याल, बाघ, भालु जस्ता वन्यजन्तु बाट भेडाबाख्राको सुरक्षामा समस्या छ । चट्याङले पनि समस्या गरेको किसान बताउँछन् । भेडालाई चरनसँगै सरुवा रोगको पनि समस्या छ । जलवायु परिवर्तनको प्रभावले मात्र देखिने खोरेत,निमोनिया,पीपीआर जस्ता रोग हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । उनिहरु भन्छन् ‘गाउँकै स्रोत र साधनलाई उपयोग गरी आयआर्जन गर्ने हाम्रो लक्ष्य हो, उज्वल,विकास र प्रायोजन उदाहरण मात्रै हुन्छ ।
जुम्लाका धेरै युवाहरु यो पेसा अगालेका छन् । ‘गोठमा बस्नु र गोठालो बनेर जीवन बिताउनु कठिन भए पनि आफू जन्मेको ठाउँमा जस्तोसुकै संघर्ष र परिश्रम गर्न पछि पर्नु नहुने रोकायाको भनाइ छ । पछिल्लो समय जुम्लामा भेडापालन गर्ने किसानको संख्या बढ्दै गएको छ । जिल्ला पशु सेवा कार्यालय जुम्लाका अनुसार पशुपंक्षी उत्पादनका हिसाबले भेडा बाख्रापालनमा प्रशस्त सम्भावना छन् । कार्यालयबाट भेडा पालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधित तालिम दिँदै आइएको कार्यालय प्रमुख बुढ्थापाले बताए । जिल्लामा व्यवसायिक रुपमा, भेडाबाख्रापालन तथा पोल्ट्री फर्महरू स्थापना भएका छन् ।
जुम्लामा ८४ हजार तिन सय ८८ भेडाको संख्या छ, भने ४६ हजार तीन सय ६ बाख्रा छन् । ६९ हजार हेक्टर चरन क्षेत्र छ । यता कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरेको छ । ५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको छ । यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो ।






