सम्पादकीय :महावीरको महाअभियानलाई सलाम !

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, वैज्ञानिक र चर्चित सामाजिक अभियन्ता महावीर पुन यतिबेला आफ्नो आत्मकथा पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बिक्री गर्दै देश दौडाहामा छन् ।
पछिल्लो एक साता उनी कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर पुस्तक बेचिरहेका छन् । पुस्तक बिक्रीबाट प्राप्त आम्दानी व्यक्तिगत फाइदाका लागि नभई विरगञ्जस्थित कृषि औजार कारखानाको सुधार तथा सञ्चालनका लागि भएको घोषणा गरेका छन् ।
३० वर्षदेखि संकटमा परेको कृषि औजार कारखानाको अस्तित्व ब्युँताउन पुन आफ्नो आत्मकथा बेच्न निस्किएका हुन् । अन्य माध्यमबाट किताब बिक्री गर्दा कमिसन दिनुपर्ने, ढिला बिक्री हुनेलगायतका कारणले पुन आफैं किताब बेच्न निस्किएका हुन् ।
‘अनुसन्धान र नवप्रवर्तनबाट मात्रै देशको विकास सम्भव हुन्छ’ भन्ने मान्यतासहित राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरी कार्य गर्दै जाँदा आइपरेका उत्तारचढाव र संघर्षका कथाहरु पनि पुस्तकमा समेटिएका छन् । उनको पुस्तक बिक्रीबाट प्राप्त आम्दानी कुशल व्यवस्थापनको अभाव र चरम राजनीतिक हस्तक्षेपले एक दशकअघि नै बन्द भएको कारखाना सञ्चालनमा मद्दत पुग्नेछ । जुन कारखाना सञ्चालनमा ल्याउन सरकारले बेवास्ता गर्दै आएको छ । पछिल्लोपटक पुनकै अगुवाइमा कारखानाको मर्मत भइसकेको छ ।
कृषि औजार कारखारा सञ्चालनमा ल्याउन सबैको सहयोगको खाँचो छ । कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका आधुनिक उपकरणको उत्पादन गरी देशका कुना काप्चाका किसानलाई सरल र सुलभ तरिकाले उपलब्ध गराउन कारखानालाई ब्युताउन जरुरी छ । महावीरले थालेको यो महाअभियान आज हरेक नेपाली नागरिकको हौसलासहित सरकारले अग्रसरता लिन आवश्यक छ । कृषि औजारले भरिनुपर्ने कारखाना हरिबेजोग अवस्थामा हुनु कृषि प्रधान देशकै बेइज्जत हो । तसर्थ, उनको अभियानमा हरेक नेपाली र राज्य सञ्चालकहरुले होस्टेमा हैंसे गर्न जरुरी छ ।
महावीर पुनको अनुसन्धान, नवप्रवर्तन र आविष्कारको अभियानका सन्दर्भमा हाम्रा संघ, प्रदेश र स्थानीय सरकारहरु गम्भीर देखिएका छैनन् । वर्षेनि बजेटमा कम्तीमा १ प्रतिशत आविष्कार र अनुसन्धानको क्षेत्रका लागि विनियोजन गरिनुपर्ने मागसहित उनले केही महिना अघि आन्दोलन पनि गरेका थिए । संघीय सरकार उनका माग सम्बोधन गर्न सहमत भयो । तर सहमति अनुसार बजेट विनियोजन गर्न र माग पछि हटेको छ ।
अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारलाई प्रर्वद्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवाहरूलाई आवश्यक पर्ने अनुमति दर्ता, सञ्चालनको सहजीकरण गर्ने जस्ता सहमति गरेपनि अन्ततः सरकार कार्यान्वयनको दायित्वबाट पछि हटेको छ । उनको अभियानमा धेरै राजनीतिक दलका नेताहरुले ऐक्यवद्धता जनाएपनि कार्यान्वयनमा चुपचाप बस्ने गरेको पाइएको छ ।
आविष्कारको क्षेत्रमा राज्यले लगानी गर्नु असाध्यै सुखद र स्वागतयोग्य विषय हो । तीव्र विकासमा जाने अर्थतन्त्र भएका देशहरू र विकसित देशहरूले आविष्कारको क्षेत्रमा बढी रकम खर्चिन्छन् । तर नेपालजस्तो अति कम विकसित देशले यस्तो कुरालाई प्राथमिकतामा राखेको पाइँदैन् । जसले गर्दा नेपाल अझैं विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रमा निकै पछाडि पर्ने परिस्थिति देखापरेको छ ।
उनको पुस्तक पढेर पे्ररणादायी कुराहरु अंगाल्नु, उनको स्वयंसेवी अभियानलाई सहयोग गर्नु, विज्ञान, आविष्कार र नवप्रर्वतनका क्षेत्रमा सहभागी हुन सकेमा स्वयं व्यक्ति र मुलुकका लागि हितकर हुनेछ । युवा जनशक्ति विदेसिनको साटो नवप्रर्वतनका कार्यमा सहभागी जरुरी छ । यसले युवालाई स्वरोजगारमात्र नबनाई मुलुकको अर्थतन्त्रमा नै टेवा पु¥याउनेछ ।






