शैक्षिकतर्फ जागरुक बाल्मिकी समुदाय

उच्च शिक्षा अध्ययन गरेका बाल्मिकी समुदायका युवाहरु

विक्रम बुढा क्षेत्री ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २, बाल्मिकी टोलका ४९ वर्षका मालती बाल्मिकी नेपालगन्ज उप–महानगरपालिकामा २०४४ सालदेखि सरसरफाइको काम गर्दै आइरहेका छन् । मालतीका ४ छोरा र १ छोरी छन् । जसमध्ये २ छोरा र १ छोरी सानै छन् भने २ छोरा उनीसँगै नेपालगन्ज उप–महानगरपालिकामा सरसफाइको काम गर्छन् ।

मालती बिहान ४ बजेदेखि नेपालगन्जको फोहोर सफा गर्न सुरु गर्छन् । उनको मातहतमा नेपालगन्जको ८, ११, १२, १५, १६ र १७ नम्बर वडा रहेको छ । तर पनि मालतीको जिम्मेवारी २४ घण्टा हो । ‘हामी जतिखेर पनि तयार भएर बस्नु पर्छ । कतै कुकुर मर्छ, कतै गधा मर्छ । फोन आउने वित्तीकै जानु पर्छ,’ मालती भन्छन् ।

नेपालगन्जमा बाल्मिकी समुदायद्वारा सरसफाइमा प्रतिनिधित्व गर्ने मालतीमात्रै एक उदाहरण हैनन् । मालती जस्तै ३० वर्षभन्दा बढी समयदेखि नेपालगन्ज उप–महानगरपालिकामा सरसफाइको काम गर्ने बाल्मिकी समुदायका २० जना बढी छन् । नेपालगन्ज उप–महानगरपालिकामा कूल १ सय ४० जना सरसफाइकर्मी छन् । जसमध्ये १ सय १ जना बाल्मिकी समुदायका छन् । जसमा पनि धेरैजसोले सरसफाइको कामलाई पुस्तान्तरण गर्दै आइरहेका छन् ।

बाल्मिकी समुदायको उपस्थिति बाँके, बर्दिया र दाङमा छ । तर सबैभन्दा धेरै बाल्मिकी समुदाय बाँकेमा छन् । बाल्मिकी समाज नेपालका अध्यक्ष जगदिश बाल्मिकीका अनुसार बाँकेमा बाल्मिकी समुदायको जनसंख्या ३ हजारको हाराहामरीमा छ । जसमा पनि नेपालगन्जको वडा नम्बर २ र ९ मा बाल्मिकी समुदायको बसोबास अन्य स्थानभन्दा बढी रहेको अध्यक्ष जगदिशले जानकारी दिए ।

बाल्मिकी समुदायको पुस्तौनी पेसा भनेकै सरसफाइ हो । त्यसैले धेरैजसो बाल्मिकी समुदाय सरसफाइ पेसामा आवद्ध रहेको जगदिशको भनाइ छ । ‘नेपालमा बाल्मिकी समुदायको इतिहास करिब २ सय ५० वर्ष पुरानो छ । राणा कालमा भारतको उत्तर प्रदेशमा पर्ने मोमुहवादबाट दुई घर परिवारलाई नेपालमा सरसफाइ गर्न ल्याइएको थियो । त्यसपछि बाल्मिकी परिवारका धेरैजसो व्यक्ति सरसफाइ काममात्रै गर्दै आइरहेका छन् । अहिले पनि धेरैजसो बाल्मिकी समुदायका व्यक्तिहरु यसै काममा छन्,’ जगदिशले भने । जगदिश बाल्मिकी समुदायबाट नेतृत्व तहमा पुग्न सफल व्यक्ति गणना गर्दा एउटा हातका औला पनि धेरै हुने बताउँछन् ।

बाल्मिकी समुदायमा अझै पनि शैक्षिकस्तर, चेतनास्तर र आर्थिकस्तर कम भएको मानिने नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट बताउँछन् । ‘बाल्मिकी परिवारका सदस्य बिहानैदेखि सरसफाइमा जाने भएका कारण उनीहरुका छोरा छोरीले पनि त्यही सिक्ने गरेको धेरै पाइन्छ,’ विष्टले भने ।

केही वर्ष यता बाल्मिकी समुदायका बालबालिकालाई शिक्षातर्फ धकल्ने कोसिस सुरु भएको छ । जसमा बाल्मिकी समाज नेपाल, नेपालगन्ज उप–महानगरपालिका र अन्य दातृ निकायहरु रहेका छन् । नेपालगन्जका मेयर विष्टका अनुसार यो वर्ष बाल्मिकी समुदायका ४ जना बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको छ । ‘हामीहरुले भनिरहेका छौं । तपाईहरुको बालबालिका कति छन् । उनीहरुलाई हामीले सक्नेजति छात्रवृत्तिको व्यवस्था गर्छौ,’ विष्टले युग आह्वानसँग भने,‘बाल्मिकी समुदायमात्रै होइन अन्य समुदायमा पनि कसैले आफ्ना बालबालिकालाई विद्यालय नपठाएको सूचना पाउँदा ती अभिभावकलाई बालबालिकालाई विद्यालय पठाउन प्रेसर दिन्छौं ।’

बाल्मिकी समुदायका अध्यक्ष जगदिश केही वर्ष यता अभिभावकमा पनि बालबालिकालाई विद्यालय पठाउनु पर्छ भन्ने चेतना बढ्दै गएको बताउँछन् । उनी भन्छन्,‘अहिले हेर्ने हो भने बाल्मिकी समुदायका बालबालिका विद्यालय जान सुरु गरेका छन् । नेपालगन्जको हकमा यो वर्ष २० जनाभन्दा बढी बाल्मिकी समुदायका युवाहरुले उच्च शिक्षा अध्ययन गरेका छन् ।’ केही वर्षअघिसम्म बाल्मिकी समुदायबाट उच्च शिक्षा अध्ययन गर्ने युवाहरु खोज्दासमेत नभेटिने गरेको उनको भनाइ छ ।

उच्च शिक्षा अध्ययन गरेका युवालाई सम्मान

बाल्मिकी समाज नेपालले बुधबार नेपालगन्जमा कार्यक्रमको आयोजना गरेर उच्च शिक्षा अध्ययन गरेका १९ जना युवाहरुलाई सम्मान गरेको छ । जसमा १८ जना नेपालगन्जका र एकजना कोहलपुरका युवाहरुलाई दोसल्लाह र प्रमाण पत्र दिएर सम्मान गरिएको हो ।

त्यसैगरी उक्त कार्यक्रममा १ देखि ८ कक्षासम्म अध्ययन गर्ने ३० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । जसमा झोला, कपी, कलमलगायतका सामाग्री रहेका थिए ।

अध्यक्ष जगदिशका अनुसार बाल्मिकी समुदायका बालबालिकालाई शिक्षाप्रति अग्रसर गराउन शैक्षिक सामाग्री वितरण गरिएको हो । यसअघि पनि पटक – पटक बाल्मिकी समुदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्ने गरिएको उनको भनाइ छ ।

शैक्षिकतर्फ जागरुक बाल्मिकी समुदाय

जुम्ला साक्षर जिल्ला घोषणा, ९६.०७ प्रतिशत साक्षर

शैक्षिकतर्फ जागरुक बाल्मिकी समुदाय

सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

This will close in 0 seconds