बडिमालिका गएको जुम्लाको सरकारी टोली फर्कियो


जुम्लादेखि पूजा गर्न बाजुरास्थित बडिमालिका पुगेर सरकारी टोली १८ दिनपछि फर्किएको छ। आइतबार फर्किएको सरकारी टोलीलाई सदरमुकाम खलंगामा भव्य स्वागत गरिएको छ । बडिमालिकाबाट मुगु हुँदै कनकासुन्दरी मन्दिरको पूजा गरेर टोली खलंगा फर्किएको हो । टोलीलाई सेनाको टुकुडीले सलामी दिएको थियो।जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्याय९ रेग्मी०सहितको टोलीलाई जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरप्रमुख राजुसिंह कठायत, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र सरकारी उच्च अधिकारीले नेपाली सेनाको टुँडिखेल मैदानमा भव्य स्वागत गरेका हुन् ।
१८ दिन पहिले सरकारी टोली बडिमालिकाका लागि प्रस्थान गरेको थियो । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाको सरकारी टोली बडिमालिका पुगेर फर्किएको सरकारी टोली प्रमुख मीनबहादुर रावलले बताए ।सेनाले सलामी चढाएपछि सरकारी टोलीले ल्याएको डोलीलाई बाजागाजासहित खलंगा बजार परिक्रममा गरेर चन्दननाथ भैरवनाथ मन्दिर हुँदै दरबार मालिका मन्दिरमा पुर्याइएको थियो । डोली दरबार मालिकामा विधिवत् रूपमा बुझाइएको पुजारी उपाध्यायले जानकारी दिए।टोलीको स्वागतका लागि दुर्गम गाउँका भक्तजन पनि सदरमुकाम खलंगामा आइपुगेका थिए ।
उनीहरूले फुलमालासहित अबिर लगाइदिएका थिए । पुजारी उपाध्यायले जुम्लाबासीले दिइएको ध्वजा र अक्षता नासो पुर्याएर सबैको मनोकामना पूरा होस भन्ने कामना गरेर फर्किएको बताए।नाग पञ्चिमीका दिनमा बडिमालिका तर्फ प्रस्थान गर्ने परम्परा अनुसार जुम्लाको टोली त्यस तर्फ प्रस्थान गर्ने स्थानीय चित्रलाल श्रेष्ठले जानकारी दिए । परम्परा देखि अञ्चलाधिस कार्यालयको माताहातमा चालिआएको पुजाआजा अहिले जिल्ला प्रशासन कार्यालयको माताहातमा चलिरहेको छ ।
वढिमालिका माईको पुजा आजा गरेमा मनको ईच्छा पुरा हुने धार्मिक विश्वास रहि आएको छ । तत्कालिन बडा हाकिमको नेतृत्वमा बडिमालिका जाने चलन रहेपनि हाल जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि पठाउने गरेको छ । टोली कृष्ण जन्माअष्टमीको अघिल्लो दिनमा फर्किने गरेको छ । टोली फर्किएको भोलिपल्ट लाख्य काट्ने चलन छ ।






