पुनर्निर्माणको काम छिटो गराै : मुख्यमन्त्री शर्मा

भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणको कार्य छिटो अघि बढाउन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आग्रह गरेका छन् । मुख्यमन्त्री शर्माले भुकम्प प्रभावित क्षेत्रमा गरिने पुनर्निर्माणलाई छिटोछरितो गर्न पहल लिनुपर्ने बताए ।
उनले भने पुनर्निर्माण कार्यबिधी परिमार्जन गरेर भूकम्पप्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउन पुनर्निर्माणको कार्य तत्कालै अघि बढाईनुपर्दछ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीसंगको छलफलमा मुख्यमन्त्री शर्माले भूकम्प पश्चातको पुर्ननिर्माणमा प्रदेश सरकारलाई संघीय सरकारले भूमिका विहिन वनाएको भन्दै संघ सरकारले गर्नु पर्ने काम तत्कालन गर्न आग्रह गरे । उनले भने ‘ऐन नियम, प्रकृयालाई छोटो बनाएर भएपनी जनतालाई बर्र्षा सुरु हुनु अघि नै पुनर्निर्माण कार्य पुरा गर्नुपर्दछ ।’

भूकम्प प्रभावितको खोज, उद्धार, राहत ब्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेको प्रदेश सरकारलाई संघले पुनर्निर्माणमा अनुगमनको मात्र जिम्मेवारी दिएर भूमिका विहिन बनाएको मुख्यमन्त्री शर्माको भनाई छ । उनले भने ‘पुनर्निर्माण सम्बन्धी कार्यविधीमा आफ्ना भूमिका निश्चित भए पुनर्निर्माणको कार्यमा प्रदेश सरकारले पनि काम गर्छ ।’
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले पुनर्निर्माण कार्य अघि बढाउन अझै केही समय लाग्ने बताए । उनले भने ‘कानुनी प्रकृयाका कारण केही समय ढिला भएपनि पुनर्निर्माण कार्यको आवश्यक तयारी भैरहेको छ ।’ स्थानीय श्रोत साधनको प्रयोग गरेर कर्णाली सस्कृती, परम्परालाई कायम रहने गरि पुनर्निर्माण कार्य अघि बढाईने पोख्रेलको भनाई छ ।






