बाँता जोड्ने सडक अवरुद्ध, किसानलाई स्याउ खेर जाने चिन्ता


जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ६ को बाँता गाउँ जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । गत साउन ३० गतेको अविरल वर्षापछि पहिरोले सडक अवरुद्ध भएको स्थानीय राजेन्द्र बुढाले बताएका छन् । स्याउ बेच्ने समयमै सडक अवरुद्ध भएपछि किसानलाई स्याउ बगैंचामै खेर जाने चिन्ता बढेको उनले बताए ।

बाँता गाउँबाट उर्थु सम्म ढुवानी गर्दा स्याउको मुल्य बराबर खर्च हुने हुँदा किसानलाई चिन्ता बढेको उनले बताए । ‘यो स्याउको सिजन हो, स्याउ किसानले वर्षभरीको मेहनत हुँदा रुखमै स्याउ कुहिने चिन्ता बढेको छ, समयमै स्याउ बेच्न नपाएपछि परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको छ ।’ उनले भने ।

झण्डै १ सय मिटर सम्म सडक अवरुद्ध भएपछि सवारी आवतजावत पुर्ण रुपमा बन्द भएको छ । दैनिक उपभोग्य बस्तु ढुवानी हुन नसक्दा समस्या भएको छ । बिरामीलाई खलंगा पुर्याउन समेत समस्या भएको अर्का स्थानीय नर बहादुर महताराले बताए । गाउँ बाहिर पढ्ने विद्यार्थीलाई पैदल हिडेन समेत जोखिम बढेको उनले बताए । पातारासी गाउँपालिकाले समयमै बाटो खुलाइदिनुपर्ने स्थानीयको माग छ ।

पातारासी गाउँपालिकाका इन्जिनियर नविन शाहिका अनुसार बाँता जोडेने सडक मर्मतका लागि १८ लाख सम्म बजेट लाग्ने इष्टमेट छ । तर गाउँपालिकाबाट ९ लाख बजेट छुट्याइएको वडा नम्वर ६ का अध्यक्ष कर्म विष्टले बताए । ‘गाउँपालिकाका अध्यक्ष जिल्ला बाहिर भएकोले जुम्ला फर्किएपछि विपदको बजेटबाट सडक मर्मत गर्ने कुरा भएको छ’ वडा अध्यक्ष विष्टले भने ।

बाँता जोड्ने सडक अवरुद्ध, किसानलाई स्याउ खेर जाने चिन्ता

जोखिमको अग्रपंक्तिमा छन् कर्णालीका बालवालिका

बाँता जोड्ने सडक अवरुद्ध, किसानलाई स्याउ खेर जाने चिन्ता

पाप पखाल्न छायाँनाथ धाम

This will close in 0 seconds