अपाङ्गता भएका व्यक्तिलाई जतातै सास्ती

नन्दराम जैशी ।
सुर्खेतको वीरेन्द्रनगर बजारक्षेत्र हुदै कर्णालीका मन्त्रीदेखि सांसदसम्म दैनिक ओहोरदोहोर गर्दछन् । चाहे त्यो सवारी साधानमा होस् या पैदल यात्रा । तर बजारक्षेत्रमा ओहोरदोहोर गर्ने जोसुकैलाई लाग्छ ?, यहाँका सडकमा अपांगता नभएका व्यक्तिलाई त हिड्न या सवारी चलाउनु गाह्रो छ । भने अपांगता भएका व्यक्तिहरु कसरी हिड्दा हुन् ?
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी मात्रै होइन देशकै एक प्रमुख सहरभित्र पनि पर्छ । तर प्रदेश राजधानी वा सहरकै सडकमा अपांगता भएका व्यक्तिहरुलाई हिड्न सकस छ । वीरेन्द्रनगरका सडकहरु अपांगमैत्री नहुँदा यहाँ ओहोरदोहोर गर्ने अपाङ्गता भएका व्यक्तिलाई निकै कठिनाई छ ।
यस िबषयमा कर्णालीका अपाङ्गता भएका व्यक्तिहरुले पटक पटक सम्बन्धित निकायमा गुनासो पनि नगरेका होइनन् । तर गुनासो सम्बोधन नहुँदा अपाङ्गता भएका व्यक्तिहरुले अब कानुनी प्रक्रिया अपनाउने बताएका छन् ।
‘विभिन्न कामका लागि म दैनिकजसो बजार निस्किन्छुँ । तर वीरेन्दनगरको मुख्य बजार क्षेत्रकै दायाँ–बायाँ सडकमा मेरो तीन पांग्रे स्कुटर सजिलै चड्दैन’ अपाङ्गता व्यक्ति धर्मराज रावलले भने, ‘मेरो स्कुटर त धकेल्नुपर्छ भने अन्य ह्वीलचिअर प्रयोग गर्ने साथीहरुको हालत के होला ? यी सडकमा ह्वीलचिअर सिधै पल्टिन्छन् ।’
प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको मंगलगडी–गणेशचोक मुख्य सडकमा दायाँ–बायाँ सडक छिर्दा धर्मराज जस्तै जो कोही सवारी चालकलाई सकस छ । सडक तल फुटपात माथि हुदाँ अपाङ्गता भएका व्यक्तिलाई पसलमा किनमेल गर्न समेत धौ धौ छ । यती मात्रै होइन सडक भन्दा अग्लो तहमा रहेका दायाँ–बायाँका सबै सहायक सडकमा समेत अपाङ्गता भएका व्यक्तिलाई हिडेरै जान सम्भव छैन ।
यो सडक गत असारमा खड्का निर्माण सेवा नेपालगंजले सम्झौता अनुसार हतारहतारमा निर्माण गरेको थियो । तर डीपीआरमै अपाङ्गमैत्री सडकको डिजाईन नहुँदा सडक पनि अपाङ्गमैत्री बनेन । यो सडक पूर्वाधार विकास निर्देशनालय सुर्खेतले ठेक्का सम्झौता गरेको हो । सडक निर्माणका लागि १२ करोड ६४ लाख खर्च भएको छ ।
मंगलगडी–गणेशचोक मात्रै नभइ वीरेन्द्रनगरका कुनै पनि सडक अपाङ्गमैत्री छैनन् । त्यसैमा अप्ठ्यारो खालको सडक संरचना र सडकका खाल्डाखुल्डीले झन् अपाङ्गता नभएका व्यक्तिलाई समेत यात्रामा सकस पारेको छ ।‘हामी अपाङ्गता भएका व्यक्तिका लागि सडकमा लड्ने, खाल्डोमा खस्ने, चोटपटक लाग्ने कुरा त सामान्य भइसक्यो’ धर्मराज रावलले थपे, ‘सायद खाल्डोमा नपरेको वा सडकमा हिँड्दा लडेर चोटपटक नलागेको अपाङ्गता व्यक्ति कोही पनि छैन होला ।’
सडक व्यवस्थित बनाउन पटक पटक ध्यानाकर्षण गराएपनि सम्बन्धित निकायले सुनुवाई नगरेको रावलको दुखेको छ । पहुँचयुक्त भौतिक पूर्वाधार विकासमा अनविज्ञ बन्ने प्रदेश सरकार र नगरपालिकाको कारण आफूहरुलाई अपहेलित महशुस हुने गरेको वीरेन्द्रनगरकी तुल्सी बुढाक्षेत्रीको भनाई छ । सडकमा सहज यात्रासमेत गर्न नसकेको उनले बताइन् ।
‘हामीजस्ता अल्पदृष्टि भएका व्यक्तिलाई खासै सम्बोधन गरिँदैन । सडक छेउको व्यक्तिले पनि सहयोग गर्दैनन्’ जुम्ला तातोपानीकी रामलक्ष्मी जैशीले भनिन्, ‘हामीसँग सेतो छडी हुँदैन, परको दृश्य, साइनबोर्ड, ट्राफिक लाइट, जेब्राक्रसिङ देखिँदैन । सहयोग माग्दा उल्टै कराएर तर्किएर हिँड्छन् । त्यसैमा झन् सडक संरचना पनि बाधक बनेका छन् ।’
उनीजस्ता हजारौँ व्यक्तिले सडकमा यात्रा गर्दा पाइला–पाइलामा असुरक्षित महसुस गर्न परेको छ । सडकमा सुरक्षित यात्रा गर्न अन्य व्यक्तिको सहयोग लिनैपर्ने नियति सडकको अव्यवस्थापनले निम्ताएको राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको ठहर छ ।
‘माग सम्बोधन नभए कानुनी प्रक्रिया अपनाउँछौ’
पटक पटक गुनासो गर्दा समेत वीरेन्द्रनगर बजार क्षेत्रका सडक अपाङ्गता मैत्री बनाउन पहल नभएको भन्दै राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले आक्रोश व्यक्त गरेका छन् । ‘बजारका कुनै पनि सडकमा अपांगता भएका व्यक्तिहरुलाई हिड्न सहज छैन । त्यसैमा झन् दृष्टिविहिन अपांगता भएकालाई जोखिम छ’ उनले भने, ‘बजारका सडकमा अपांगता भएका व्यक्तिलाई जेब्राक्रस गर्न, ह्वीलचिय चलाउन संभव नै छैन । त्यसैमा झन् एउटा मुख्य सडकभन्दा सहायक सडकमाथि हुदाँ दाँयाबाँया छिर्न नै मुस्किल छ ।’
यसबिषयमा वीरेन्द्रनगर नगरपालिका र पूर्वाधार विकास निर्देशनालयमा पटक पटक गुनासो गरेपनि माग सुनुवाई नभएको भन्दै उनले अब कानुनी प्रक्रिया अपनाउनुको विकल्प नरहेको बताए । ‘अनुरोध गर्ने, ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गर्ने काम भए तर सुनुवाई भएन’ उनले थपे, ‘अब अन्तिम पटक एकचोटी छलफल गर्छौं त्यसपछि पनि सडकको अवस्था नसुधारिएमा कानूनि प्रक्रियामा जान्छौं । अदालतले त न्याय देला नी ?’
बजारका व्यापारीहरुले होडिङबोर्ड समेत सडकमै राख्ने, सडक लेन क्लिअर नहुने, फुटपातमा जाँदा हिड्न सकस जस्ता समस्याको मारमा परेको अध्यक्ष शर्मा बताउँछन् । यसबिषयमा वीरेन्द्रनगर नगरपालिका र पूर्वाधार निर्देशनालय गम्भिर बन्न उनले चेतावनी दिए ।
यता वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर हरि के.सी ले बजार क्षेत्रका दुई लेन सडकमा धेरै सडक जाम हुने भएकाले पूर्ण अपाङ्गता मैत्री बनाउन नसकेपनि आउजाउमा जोखिम नहुने वातावरण बनाउने तयारी भइरहेको बताए । यसबिषयमा छलफल गरी अघि बढ्ने उनको भनाइ छ ।
‘नगरपालिकाले सबै कार्यालय भवन लगायत अन्य भौतिक संरचना अपाङ्गता मैत्री बनाउने कार्य जारी राखेको छ’ उनले भने, ‘तत्काल मंगलगडी एरिचोक फोर लेन सडक अपाङ्गता मैत्री बनाउने तयारी छ । हामी अब बन्ने सबै संरचना अपाङ्गता मैत्री बनाउनेमा केन्द्रित छौं ।’
बजारक्षेत्रका सडक सुधार्ने तयारी
वीरेन्द्रनगरमा रिङरोड निर्माण कार्य समेत जारी छ । तर रिङरोडका सडक समेत अपाङ्गमैत्री बनाउन प्रदेश सरकार र नगरपालिका चुकेको देखिन्छ । यसैको एक उदाहरण हो, वीरेन्द्रनगर बजार क्षेत्रको मुख्य सडक ।
यो सडक गत असारमा खड्का निर्माण सेवा नेपालगंजले सम्झौता अनुसार हतारहतारमा निर्माण गरेको हो । तर डीपीआरमै अपाङ्गमैत्री सडकको डिजाईन नभएपछि अन्ततः ठेकेदारले पनि सम्झौता अनुसार काम गरे । र सडक पनि अपाङ्गमैत्री बनेन । तर पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर भुपेन्द्र जैसीले अब यो सडक अपांगमैत्री निर्माण गर्न तथा सुधारका लागि कार्यालय तयार रहेको बताए ।
‘यो सडक वीरेन्द्रनगर नगरपालिकाले डीपीआर गरेको हो ।
डीपीआरमै अपाङ्गमैत्रीको डिजाइन रहेनछ । हामी यसलाई फेरी संशोधन गर्दै आवश्यक बजेट छुट्याएर अपाङ्गमैत्री बनाउने तयारीमा थियौंैं’ उनले भने, ‘तर सम्झौता अनुसार ठेकेदारलाई पनि तत्काल काम गर्नुपर्ने भएकाले र समयपनि छोटो भएकाले हतारहतारमा सडक बन्यो । अब बजेट व्यवस्थापन गर्दै अपाङ्गता भएका व्यक्तिहरुसँग छलफल गरी उहाँहरुको राय सुझाबका आधारमा सडक सुधार्नेछौं ।’
साथै उनले अब बन्ने सबै सडक अपाङ्गमैत्री डिजाइनमा बनाइने बताए । यता कर्णाली सरकारका मुख्यमन्त्रीदेखि वीरेन्दनगरका मेयरले समेत अपाङ्गमैत्रीका नाममा स्मार्ट सहरको आवरणमा ठूला–ठूला भाषण नछाँटेका होइनन् । तर अपाङ्गता मैत्री सहर भाषणमा मात्र सीमित छ । जसले गर्दा न आजसम्म सडक सुरक्षाका लागि पहल हुन सकेको छ । नत सोहीअनुरुपका सडक नै बनेका छन् ।
पहुँचयुक्त भौतिक पूर्वाधार विकास सम्बन्धि एक कार्यक्रममा बोल्दै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हालसम्म बनेका सडक संरचना नागरिक केन्द्रित भन्दा पनि सवारीसाधन केन्द्रित भएको उल्लेख गर्दै अपाङ्गमैत्री बनाउन निर्देशन दिएका थिए । तर उनको मौखिक निर्देशन समेत निर्देशनमै सिमित भएको छ ।
वीरेन्द्रनगरकै सडकहरूमा पर्याप्त रूपमा ट्राफिक संकेत, लाइट र रोड फर्निसिङ पनि छैन । यस्तै सडकमा धेरै खाल्डाखुल्डी पर्छन् । तर सडक समयमै मर्मत हुदैनन् । सुरक्षित सडकपेटी पर्याप्त मात्रामा छैनन् । भने पुल र निकासको पनि राम्रो व्यवस्था छैन ।
वीरेन्द्रनगरका सडकमा क्षमताभन्दा सवारीसाधनको संख्या बढी छ । सडकमा साँघुरा मोड र ठाडो उकालो ओरालो हुनु, प्राविधिक मापदण्ड र उचित इन्जिनियरिङबिना सडक निर्माण हुनुले पनि यहाँका सडक अपाङ्गमैत्री बन्न सकेका छैनन् । प्रदेश राजधानीकै सडकको हालत यस्तो छ भने अन्य जिल्लाका सडक अपाङ्गमैत्री छन् होला र ?






