सुदूरपश्चिमको लगातार दोस्रो जित


प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले कर्णालीलाई एक सय ३४ रनको फराकिलो अन्तरले पाखा लगाएको हो ।
सुदूरपश्चिमले दिएको दुई सय ७८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ३७÷२ ओभरमा एक सय ४३ रनमा समेटिएको हो । कर्णालीका लागि दिवान पुनले ३८, अर्जुन घर्तीले २४, र दिनेश अधिकारीले २० रन जोडे भने अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ सुदूरका शेर मल्लल चार तथा विकास अग्रीले २ विकेट लिए । पहिलो खेलमा सुदूरले लुम्बिनीलाई हराएको थियो भने कर्णाली पहिलो खेलमा पनि पारजित नै भएको थियो ।
यसअघि टेक रावत, खड्क बोहरा र किरण ठगुन्नाको अर्धशतकमा सुदूरपश्चिमले कर्णालीलाई २७८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर दुई सय ७७ रन जोडेको थियो ।
सुदूरपश्चिमका लागि ओपनरद्धय खडक बोहरा र टेक रावत दुवैले अर्धशतक प्रहार गर्दा किरण ठगुन्नाले पनि अर्धशक प्रहार गरे । एक सय १४ बलको सामना गरेका बोहराले ६ चौका हिर्काउँदै ८० रन जोड्दा ९१ बलमा सात चौकाको मद्दतमा रावतले ५९ रन जोडे ।
ठगुन्नाले ३३ बलमा पाँच चौका र तीन छक्कासहित ५० रन बनाए । त्यस्तै नारायण जोशीले १२ बलमा नटआउट रहँदै तीन छक्का र एक चौकासहित ३१ रन जोडे भने कप्तान राजु रिजाल १९ र नरेन भट्ट १५ रन बनाएर आउट भए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दिपेन्द्र रावतले समान एक विकेट लिए ।






