गाउँघर देखि हराए ओखल, जाँतो र पानी घट्ट


डेढ दशक अगाडि जुम्लाका आठ वटै स्थानीय तहका प्रत्येक गाउँमा पुग्दा पिँढी(ओटालो)को एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ओखल काठको मुसल र ढुंगाको दुनेडी भेटिन्थे ।
स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे,ओखलमा धान, मकै,जौ ,गहुँ,कोदो,फापर स्थानीय रैथाने उत्पादित बाली र तेलन बाली फल्ने र दुनेडीमा ढटेलो,फर्सी,ओखर,भाङ्गो,आरु तोरी लगायतका तेल पेलिन्थ्यो । उतिबेला अहिलेको जस्तो ठाउँ–ठाउँमा मिल थिएनन् । जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई–तीनवटा मिल सञ्चालन गर्न थाले ।
मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका जाँतो, ओखल र दुनेडीको महत्त्व हराउँदै गयो । अहिले गाउँको कुनै पनि कुनामा ढुंगाको जाँतो,ओखल,मुसल र दुनेडी भेट्टाउन सकिन्न।बरु प्रत्येक गाउँ –गाउँमा विद्युतीय मिल भेटिन थालेका छन् ।
विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ओखल र मुसलको प्रयोग गर्ने गर्थे, भने तेल पेल्न ढुङ्गाको दुनेडीको जुम्लाका महिलाहरु प्रयोग गर्थिन् । जाँतो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो ।
जुम्लाका गाउँ–गाउँमा बिजुलीमार्फत चल्ने मिल पुगेपछि दाँतोको प्रयोग संगै परम्परागत सामग्री घट्दै जानुका साथै लोप हुँदै गएका छन् । कुनै बेला गाउँलेको कुटानी पिसानी गर्ने प्रमुख माध्यम मानिने ढुंगाको जाँतो स्थानीय उत्पादित बाली फल्ने ओखल, मुसल र तेल पेल्ने दुनेडी अहिलेका पुस्ताले चिन्न छोडिसकेको छ ।
खोलाको ढुङ्गालाई मिस्त्रीले कलात्मकरूपमा कुँदेर जाँतो बनाउँथे भने काठको खोपेर गोलाकार बनाई ओखल बनाइन्थ्यो, टुप्पोमा फलामको काँज लगाई काठको मुसल बन्थ्यो । भने ठुलो चिप्लो ढुंगा कुँदेर दुनेडी बन्थेँ । जाँतोको विकासपछि पानीघट्ट प्रयोगमा आएको बूढापाकाहरु बताउँछन् ।
यी सामाग्री कलात्मकरूपमा बनाउने मिस्री पनि भेटिदैनन् । पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गर्थ्यो । अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्ट ठाडो खोलामा बनाइने गरेको पाइन्छ ।
अहिले यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन् । नयाँ प्रविधिको विकाससँगै मौलिक संस्कृति हराउँदै गएकोप्रति बूढापाका दुःखेसो पोख्छन् । नयाँ पुस्ताले पुराना संस्कृतिको संरक्षण नगर्दा आफूहरूको पालाका जाँतो,दुनेडी र ओखल हराउँदै गएको जुम्लाको भन्दननाथ नगरपालिका –८ काली बहादुर रोकाया बताउँछन् ।
मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व नष्ट हुने उनको भनाइ छ ।
‘पहिले–पहिले घट्ट, जाँतोमा कुटे, पिसेको आँटो, पिठो र चामलको स्वादै फरक हुन्थ्यो, अहिले मिलले कुटेको पिठो आँटो खायो भने त्यत्ति स्वादिष्ट हुँदैन, मिलले चामल, मकैको बाहिरी बोक्रासँगै त्यसभित्र हुने पौष्टिकतत्व पनि नष्ट गरिदिँदो रैछ’, उनले भने, ‘अहिले त खाँदाखाँदै बानी पर्यो, पहिले मिलमा पिसेको आटो र चामल खासै मीठो लाग्दैनथ्यो, सजिलोमात्रै खोजेर हुँदैन रैछ, यसले स्वास्थ्यमा कस्तो प्रभाव पारेको छ भन्ने पनि बुझ्नुपर्छ ।’
अर्का स्थानीय चन्दननाथ नगरपालिका –८ कोटिला गाउँकि रुन्चकली शाहीले अहिले गाउँमा कसैको घरमा पनि ढिकी जाँतो नभएको बताउँछिन् । अहिलेको पुस्ताले ओखल कुट्न र जाँतो पिस्न गाह्रो मान्ने हुँदा यस्ता परम्परागत सामग्रीको अस्तित्व सङ्कटमा पर्दै गएको उनले बताइन् । पहिले आफ्नो परिवार १५ जनाको हुँदा घरमा दुईवटा जाँतो र एउटा ओखल रहेको स्मरण गर्दै पालैपालो आँटो पिठो पिसेर उपभोग गरेको शाही बताउँछन् ।
अहिले मिलले मान्छेलाई अल्छी बनाउनुका साथै रोगीसमेत बनाएको उनको भनाइ छ । उनका अनुसार पहिले जाँतोमा आँटो, पिठो र सातु पिस्ने गरिन्थ्यो भने ओखलमा धान,मकै ,गहुँ,जौँ, लगायत उत्पादित बाली (फल्ने)कुट्ने गरिन्थ्यो ।
खासगरी दसैं तिहारको बेला ओखल जाँतो बढी प्रयोग हुने गरेको बताउँछन् । दसैं तिहारको बेला ओखलमा कुटेको चामलको पिठोले टीका लगाउने, दीयो बनाउने र नुन कुटेर वस्तुभाउलाई खुवाउने गरेको स्मरण गर्दै अहिले त्यो प्रचलनसमेत हराएको रुन्चकली सुनाउँछन् । ओखलमै घरमै पाक्नै आँटेको धानलाई भुटेर चिउरासमेत बनाइन्थ्यो । जुन खानमा निकै मीठो हुन्थ्यो । हाल ओखल प्रचलन छैन । यसको प्रचलन हटेपछि मिलमै धान कुट्ने गरिँदै आएको उनको भनाइ छ ।
मिलले कुटानी पिसानीका लागि सहज बनाइदिनुका साथै समयको बचतसमेत भएको जुम्लाको चन्दननाथ नगरपालिका–३ कि ५८ वर्षीया रमा उपाध्यायले बताइन् । पहिले पानीघट्ट तथा जाँतोमा आँटो पिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको भन्दै उनले अहिले सबै मिलमै कुटानी पिसानीको लागि जाने गरेको बताइन् ।
पहिले पानीघट्ट सञ्चालन गरेकाहरू अहिले बन्द गरेर बस्न बाध्य छन् । ‘घट्ट सञ्चालकले मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट थोरै महसुल उठाउने गर्थे, त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए, अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान्छन्, घट्टमा कोही पनि आउँदैनन्’, उनले भनिन्, ‘मिलले ओखल जाँतो र घट्टले भन्दा छिटो कुट्ने पिस्ने काम गरेर होला, पहिले निकै चलको घट्ट अहिले जीर्ण बनेका छन् ।’
जाँतो र ओखल यहाँका बासिन्दाको पुरानो पहिचानका रूपमा रहेकाले यसलाई जोगाउनका लागि पहल गर्नुपर्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । “जाँतो र ओखलजस्तै पुराना पहिचान भएका वस्तुको जगेर्ना गर्नमा स्थानीय तहले चासो दिनुपर्ने हुन्छ”, गोपाल रोकाया भन्छन्, “नयाँ पुस्ताले यस्ता वस्तु तथा पूरा काठका यन्त्रबारे जानकारी पाउँछन् । पर्यापर्यटनलाई समेत बढावा दिन सकिन्छ ।”






