वडा कार्यालय निर्माण गर्दा स्थानीयको घर पहिरोमा


कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर २ मा सरकारकै कारणले नागरिकलाई सास्ती भएको छ । नगरपालिकाको लगानीमा निर्माण भइरहेको वडा कार्यालय भवनका कारणले स्थानीय धनसुरे सार्कीको परिवार विस्थापित भएको छ ।
निर्माण व्यवसायी र नगर नगरपालिकाको लापरवाहीले सार्की परिवारको बिचल्ली भएको हो । दुवै छोराको मृत्युपछि नाति नातिनाको सहारा बन्नुभएका ७५ वर्षीय सार्की अहिले नाबालक नाति च्यापेर छिमेकीको घरमा बसिरहेका छन् । के टिए.स निर्माण सेवाले भवन बनाउने जिम्मा लिएको छ । निर्माण व्यवसायका प्रतिनिधि ध्वजबहादुर शाहीले आफूलाई त्यही ठाउँ दिएको र भवन निर्माण गरिरहेको बताए । उनले आफूलाई नगरपालिकाले जुन ठाउँ दियो त्यही ठाउँमा काम गर्ने भन्दै पहिरो रोकथामका लागि आफू तयार नभएको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमले नागरिकको घर भत्किन थालेमा त्यसको सुरक्षा निर्माण व्यवसायीकै भएकाले तत्काल पर्खाल लगाएर भए पनि घर जोगाउनुपर्ने बताए । ठेक्का कसको हो मलाई थाहा भएन, काम ध्वजबादुर शाहीले गराइरहेकाले उनीसँग कुरा हुने सुनाए ।
वडा नम्बर ६ वडा कार्यालय भवन उनले नै निर्माण गरेका थिए । वडा नम्बर २ का पूर्व वडा अध्यक्ष दयाराम सिम्खाडाले सरकारी संरचना निर्माण गर्ने नाममा नागरिकको बिचल्ली नगर्न सुझाव दिए ।






