२०८२ फाल्गुन ५ गते
×

Now Playing

अब राजनीतिक दलहरू आफैँले उत्पादनमा काम गर्नुपर्ने

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबहादुर चन्दले अब दलहरू आफैँले उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने बताएका छन् । उनले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता र कार्यकर्ता बनाउन दलहरू आफैँले उत्पादनका क्रियाकलापमा प्रत्यक्षरुपमा जोडिएर काम गर्नुपर्ने बताए ।

उनको पार्टी सम्बद्ध उत्पादन विभागले जुम्लाको हिमा गाउँपालिका–७, गाडुल्यामा स्याउ खेती लगाएको छ । स्याउका विरुवा रोपण कार्यक्रममा महासचिव चन्दले कोरा भाषण र आदर्श बाँडेर मात्रै दलहरु सञ्चालन हुन नसक्ने बताए ।

‘भाषण गरेर कोरा आदर्श बाँडेरमात्रै हुदैन । अब हामीले आफ्नै जीवनलाई बदल्ने क्रियाकलाप प्रत्यक्षरुपमा उत्पादनसँग जोडिएर गर्नुपर्छ,’ उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी उत्पादनसंग जोडिएर आत्मनिर्भर बन्ने लाइनमा प्रवेश गरिसकेको छ ।’

उनले हरेक नागरिकले कम्तिमा खान, बस्न र पढ्नकै लागि कसैलाई पनि गुहार गर्न नपर्ने गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए ।

‘बन्दुक बोक्नु, आन्दोलन गर्नु, राजधानी बन्द गर्नु, हंगामा मच्चाउनु नेपालीको लागि अब नौलो भएन । हामीले निकै ठुलो बन्दुकको पनि अनुभुति गरिसकेका छौं । तर नेपाल चाहेको स्पिडमा आउन सकेन,’ उनले भने ।

उनले राजनीतिक दलको क्रियाकलापले नेपाली जनतामा नकरात्मक प्रभाव पारेको बताए । ‘राजनीति प्रति जनताको तीब्र बितृष्णा छ । नेता र कार्यकर्ताहरुप्रति हेर्ने नजर बिग्रिएको छ,’ उनले भने, ‘अबको राजनीति अर्थतन्त्रमा बदलिनुपर्छ । उत्पादनसंग जोडिनुपर्छ ।’

उनको पार्टीले जुम्लाको हिमा गाउँपालिका–७ गाडुल्यामा २२ हजार बर्गमिटर जग्गामा झण्डै दुई हजार स्याउका विरुवा रोप्ने जनाएको छ ।

अब राजनीतिक दलहरू आफैँले उत्पादनमा काम गर्नुपर्ने

दीपा हमालको संघर्षकथा : प्रावि शिक्षकदेखि उपसचिवसम्म

अब राजनीतिक दलहरू आफैँले उत्पादनमा काम गर्नुपर्ने

सन्त नेता किशुनजीको जीवनबाट सबैले प्रेरणा लिनुपर्छ