सार्वजनिक जग्गाका संरचना हटाएर पार्किङ बनाइदै


सुर्खेत उपत्यका नगर विकास समितिले अस्थायी घर, टहरा, घुम्ती तथा अन्य संरचना हटाउने तयारी गरेको छ । फरक उद्देश्य राखी सरकारी जग्गा भाडामा लिएर व्यापारिक प्रयोजनामा प्रयोग भैरहेका भौतिक संरचना तथा टहरा हटाउन थालिएको हो ।

यही माघ १७ गते ३५ दिने सूचना प्रकाशित गरिएको छ ।समितिको अनुमतिमा विगत लामो समयदेखि सञ्चालन भइरहेका घर, टहरा हटाई पार्किङ स्थल बनाउने योजना रहेको छ ।नगर विकास समितिको २०७० पुष १८ गते बसेको बैठकको निर्णयानुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ गोदामलाई साल्टे«डिङ्गदेखि उत्तर एमाले पार्टी कार्यालयसम्म, पश्चिममा गंगामाला पाउरोटी उद्योगदेखि पूर्व, उत्तरतर्फ घण्टाघरदेखि दक्षिणतर्फ मध्यपश्चिम विश्वविद्यालयदेखी पश्चिम तर्फका सम्पूर्ण अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचनाहरु हटाउनको लागि सूचना प्रकाशन÷प्रसारण गरिएको छ ।

संरचना हटाउने सम्बन्धी अन्तिम पटकको सार्वजनिक सूचना प्रकाशन भएको नगर विकास समितिले जनाएको छ । सम्पूर्ण सञ्रचना भत्काई जग्गा खाली गर्न समितिले आग्रह गरेको हो । तोकिएको समयावधि भित्र पनि संरचना नभत्काई अटेर गरी बसेमा प्रचलित ऐन, कानून, नियम र समितिको निर्णयानुसार भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट व्यहोर्ने गरी संरचना भत्काई जग्गा खाली गराउन समिति बाध्य हुने समितिले जनाएको छ ।

नगरविकास समितिको नाममा हाल दुई सय ३२ विघा जमिन रहेको छ । यसमा सरकारी कार्यालय, औद्योगिक क्षेत्र, बैंक, कर्मचारी आवास क्षेत्र, विश्वविद्यालय लगायतका संरचनाहरु स्थापना भएका छन् । यस्तै आठ कठ्ठा जग्गा व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको छ ।

८१ वटा संरचना हटाउनु पर्ने
समितिका अनुसार वीरेन्द्रनगरका विभिन्न स्थानमा बनेका ८१ वटा संरचना हटाउनु पर्ने भएको छ । जसमा घर, उद्योग, होटेल, रेष्टुरेण्ट, पसलहरु रहेका छन् । ति संरचनाहरुको भाडादर भने नगर समितिले मासिक दुई हजारदेखि २० हजार रुपैयाँसम्मको भाडादर कायम गरी भाडा उठाउँदै आएको छ ।

सूचनामा तोकिएको क्षेत्रमा ठुला–ठुला व्यापार, उद्योगहरु संचालन भइरहेका छन्, कार्यालहरु पनि रहेका छन् । केही समय अगागी पनि नगरपालिकाले अस्थायी संरचना हटाउने सूचना सार्वजनिक गरेको थियो । त्यस बेलामा व्यापारीहरुले नगर विकास समितिमा यो झरीमा सडकको बाटोमा हामीलाई नराखिदिनुहोस् भनेको सुर्खेत उपत्यका नगर विकास समितिका लेखा सहायक खड्क रानाले जानकारी दिए ।
व्यापारीकै कुरा सुनेर समय थप गरिएको रानाले बताए । रानाले भने, ‘त्यसबेला समितिले कुनै पनि बल प्रयोग गरी संरचना हटाउने भनि निर्णय गरेन् । व्यापारीहरुले अहिले कता जाने, बरु दशैँतिहार पछि छोड्छौँ भनेपछि त्यहि आधारमा म्याद थप भयो ।’

पटक÷पटक संरचना हटाउन त खबर गरेको तर उनीहरुले विभिन्न समस्या देखाउँदै आएको उनले बताए । ती संचालन भइरहेका संरचना हटाई पार्किङ्, पार्क बनाउने योजना रहेको लेखा सहायक रानाले बताए । साथै व्यापारीहरुले आफ्नो विकल्प गरिदिन समेत आग्रह गरेको उनले बताए । हाम्रो लगानी धेरै छ, कहाँ व्यवस्थापन गर्ने जस्ता व्यापारीको गुनासो आउने गरेको उनले बताए ।

फराकिलोे सडकसँगै सवारी चाप पनि बढी
ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्नेसँगै वीरेन्द्रनगर–६ को मुख्य बजार क्षेत्रको मुल सडक विगतमा सानो थियो । केहि फराकिलो बनाएको सडकसँगै सवारी चाप पनि बढिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले बताए ।

विशेषगरी २ लेन, ३ लेन र अटो रिक्सा बढिरहेको बताए । प्रदेशको राजधानी भएकाले मानिसको चाप पनि बढिरहेको उनले बताए । सवारी चाप बढि छ तर पार्किङको व्यवस्था नभएकोले वीरेन्द्रगर नगरपालिका, प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, ट्राफिक प्रहरी सहितको टिमले स्थलगत अवलोकन गरेको थियो ।स्थलगत अवलोकन गरेर ठाँउ हेरेर केहि ठाउँ भने पार्किङ्का लागि चयन भएको प्रहरी उपरिक्षक थापाले जानकारी दिए । उनले भने, ‘मलाई प्राप्त भएको जानकारी अनुसार ति ठाँउ चयन भएका ठाँउमा पार्किङको व्यवस्था गर्ने भन्ने कुरो छ सम्भव त अब शुरु होला ।’

वीरेन्द्रनगर–६ मुख्य बजार क्षेत्रमा व्यापारीका ठुला मालबाहक सवारी साधनलाई विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म प्रवेश गर्न नदिने भन्ने छ तर पनि तरकारी, फलफुलका गाडी आए भने ति बस्तु विग्रने भएकाले पनि व्यवहारिकता अनुसार प्रवेश गराइएको र प्रवेश गराउँदा पनि सानो ठाँउ भएकाले अन्य सवारी साधन आउजाउमा समस्या हुने गरेको बताए । साथै मुख्य बजारमा भने ठुला मालबाहक सवारी साधन प्रवेश गर्न नदिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख थापाले जानकारी दिए ।

केही समय दिएको भए हुने
सुर्खेत उपत्यका नगर विकास समितिले सार्वजनिक जग्गामा भएका संरचना हटाउने सूचना प्रति व्यापारीहरु चिन्तित भएका छन् । समितिले ३५ दिने भन्दा पनि एक, दुई वर्षमा हटाउने भनेर सूचना सार्वजनिक गरिदिएको भए त्यहि अनुसार तयारी गर्ने राज अटो मोवाईलका सञ्चालकअन्सारीले बताए ।

राज अटो मोवाईल पसल हटियालाईनमा विगत १५ बर्षदेखि नै सञ्चालनमा आएको उनले जानकारी दिए । उनले भने, ‘म मात्र हैन म जस्ता धेरै व्यापारी व्यापार गर्दै आईरहेका छौ । अब कहाँ सर्ने र व्यापार गर्ने बजारमा पनि पसल गर्नलाई ठाउँ नै छैन । पहिले हाम्रो केहि व्यवस्थापन गरिदिए हुने थियो । तर पनि सुचना निकालेपछि नीति, नियम अनुसार छोड्नै पर्ने हुन्छ । यतिका व्यापारी कहाँ जाने ।’अब व्यापारीले त आग्रह गर्ने मात्र हो छोड भने जानै पर्छ र सम्झौता अवधि नि सकिएको उनले जानकारी दिए ।

त्यस्तै गंगामाला पाउरोटी उद्योग पनि १५ वर्ष देखि नै संचालनमा आएको छ । गंगामाला पाउरोटी उद्योगका संचालक विपिन ठाकुर भन्छन्, ‘म पनि व्यापारीको एक पिडित हो । १५ बर्षदेखि संचालनमा आएको उद्योग क्षेत्र भत्काईनु भनेको आफुहरु ठुलो धरापमा परेको उनको भनाई छ । व्यापारीहरु यस विषयमा छलफलमै रहेको कुरा समेत उनले जानकारी दिए ।

सार्वजनिक जग्गाका संरचना हटाएर पार्किङ बनाइदै

कर्णाली कै चिनारी कर्णालीका खेलाडिले लगाउने पोसाकमा

सार्वजनिक जग्गाका संरचना हटाएर पार्किङ बनाइदै

मदन भण्डारी राजमार्ग: समृद्ध सुर्खेतको ढोका