रहर होइन,बाध्यता हो : स्याउ टिप्न सिमला हिड्नु


जुम्लाको सिंजा गाउँपालिका–६ का भिमबहादुर रावतलाई दुई साताअघि फोन आयो– ‘स्याउ पाक्न लाग्यो, टिप्ने बेला भो, छिटो आउनुप¥यो ।’ उक्त फोन थियोे।भारतको सिमलास्थित स्याउ बगानका मालिकको थियो ।
रावत साउन महिनाको ३ गते १० जना अरू कामदारसहित नेपालगन्जको रुपडिया नाका हुँदै स्याउ टिप्न सिमलातिर लागे । उनीसँग कर्णाली प्रदेश भित्र विभिन्न जिल्ला र अन्य विभित्र जिल्लाका कामदार पनि छन् । अधिकांश अघिल्ला वर्षहरुमा पनि स्याउ टिप्न जानेहरू हुन् । भने केही पहिलो पटक गइरहेका छन् । ‘साउनदेखि कात्तिकसम्मै स्याउ टिप्न भ्याइनभ्याइ हुन्छ,’ भिमबहादुरले भने, ‘हामीले स्याउ टिप्ने र खाडल खन्ने काम पाउँछौं ।’
उनका अनुसार विगतमा ग्रेडिङको काम पनि पाइन्थ्यो । तर अहिले मेसिनबाटै ग्रेडिङ र प्याकिङ हुने भएकाले टिप्ने र बोक्ने काम मात्रै पाइन्छ । केही वर्ष अघि गाउँमा उनी प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएका थिए । एक महिनापछि नै पुनः बेरोजगार भए । ३० दिन काम गर्दा हातमा १५ हजार ५ सय रुपैयाँ परेको थियो ।
‘एकजनाले ३० दिनमात्र काम गर्न पाइने नियम रहेछ,’ उनले भने, ‘अरू काम खोजौं भने नेपालमा राम्रो ज्याला दिँदैनन् ।’ नगई घर खर्च चल्दैन,’ उनले भने, ‘भारत नगए परिवार पाल्नै मुस्किल छ ।’ स्याउ टिप्ने रोजगारीका लागि समय मिल्ने उनले बताए । ‘परिवारसँग छुट्टिँदा दुःख लाग्छ, के गर्नु, यो रहर होइन, बाध्यता हो । अर्का मिमबहादुर रावत पनि स्याउ बगानका मालिकको फोन आएपछि सिमलातिर हिँडेका छन ।
‘गरिबको जिन्दगी यस्तै हो,’ उनले भने, ‘काम नगरे खान पुग्दैन । जहाँ काम पाइन्छ, त्यहाँ त पुग्नैपर्छ । ‘मालिकले स्याउ टिप्न आउन भन्दै फोन गरेका छन्,’ मिमबहादुरले भने्, ‘दुई÷तीन महिना स्याउ टिपेर दसैंका लागि घर फर्किन्छौं ।’ उनका अनुसार सिमलामा स्याउ टिप्न सुरु भइसकेकाले नेपालीहरू भरिन थालेका छन् । यता १२ कक्षामा पढ्ने रविन बुढा पनि सिमलातर्फ लागेका छन् । उनले भने, ‘दुई महिना स्याउ टिप्ने काम गरेर फर्कन्छु ।’
उनी घर र पढाइ खर्च जुटाउन कामको खोजीमा जान लागेका हुन् । गाउँ घरमा कुनै रोजगारीको अवसर नपाएपछि काम खोज्न हिँडे । स्याउ टिपेको दैनिक साढे ४ सयदेखि ५ सय र बोकेको दूरीका आधारमा प्रति क्रेट ५ देखि १० रुपैयाँसम्म पाइन्छ । एक दिनमा दुई÷अढाई सय क्रेट स्याउ टिप्न सकिने उनीहरू बताउँछन् । ‘महिनामा २०÷२५ हजार भारु जोगिन्छ,’उनले भने, ‘कोही दसैंमा फर्कन्छन्, कोही तिहारसम्मै काम गर्छन् ।’ युवायुवतीदेखि वृद्धवृद्धासमेत कामको खोजीमा दौडिरहेका देखिन्छ । विशेषगरी कर्णाली प्रदेशका कामदारका लागि सिमला पुरानै रोजगार गन्तव्य हो । वर्षायाममा खेतीपातीको काम सकेपछि दसैंसम्म बेरोजगार युवा स्याउ टिप्न भारतको सिमला जाने चलन छ । जुम्ला, कालिकोट, हुम्ला, डोल्पा र मुगु लगायतबाट अधिकांश युवा कामको खोजीमा भारत जान्छन् । स्थानीयस्तरमा सबैले रोजगारी पाउने स्थिति नआएसम्म रोजगारीका लागि परदेश जानैपर्ने बाध्यता सुनाउँछन् । दसैंतिहारका लागि घर फर्केकाहरू पनि जौ र गहुँ छरेर फेरि सिमलातिरै फर्किन्छन् । त्यतिबेला घाँस काट्ने काम पाइन्छ ।
कतिपय विकास निर्माणका काममा ज्याला मजदुरी गर्छन् । घाँस काट्ने र विकास निर्माणको काममा ज्याला मजदुरी गर्नेहरूले पनि दैनिक चार/पाँच सय पाउँछन् । दैनिक सयभन्दा बढी रोजगारीको खोजीमा भारततर्फ जाने गरेका हुन्छन् । खेती सकेर स्याउ टिप्न भारतको हिमाञ्चल प्रदेशको सिमला लगायतका क्षेत्रमा पुगेका नेपाली दसैं र तिहार जस्ता चाड मनाउन घर फर्कने गर्छन् ।






