सल्यानमा १२ हजार हेक्टर जङ्गल डढेलोले नष्ट

सल्यानमा एक महिनाको अवधिमा १ सय ५० बढी राष्ट्रिय वन र सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट १२ हजार हेक्टर बढी वनमा डढेलोले नष्ट भएको छ ।
विभिन्न सामुदायिक वनमा लागेको आगोबाट २७ हजार बढी साना ठूला बोटबिरुवा जलेर नष्ट भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । लामो समयसम्मको खडेरी र जिल्लाको अधिकांश भूभागमा सल्ला प्रजातिको बोटबिरुवा हुँदा आगलागी बढी हुने गरेको डिभिजन वन कार्यालय सल्यानका कार्यालय प्रमुख जितेन्द्र महतले जानकारी दिए । उनका अनुसार उपभोक्ता, वन कर्मचारी, सेना प्रहरीको सहयोगमा जङ्गलमा लागेको नियन्त्रण प्रयास गरिए पनि हावाहुरी र गर्मीका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ ।
वनमा डढेलो लगाएको पाए कारबाही गर्ने भएपनि लुकिछिपी लगाउने हुँदा आगो लगाउने मानिसको पहिचान गर्न कठिनाइ भइरहेको महतको भनाई छ ।
यस्तै जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा जिल्लाका ४५ भन्दा बढी घरगोठ जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका लगायतका विभिन्न स्थानका ४५ बढी घरगोठ जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए । डढेलोको कारण जङ्गल नजिकै रहेका बस्ती उच्च जोखिममा रहेका छन् । वनमा लागेको डढेलोका कारण हालसम्म लाखौँको क्षति भइसकेको छ ।






