बन्द हुन थाले उत्पादनमूलक उद्योग

वीरेन्द्रनगर–१० स्थित चन्द्रा कृषि तथा पशुपंक्षी फर्म करिव पाँच वर्ष नियमित सञ्चालनमा रह्यो । फर्ममा कुल एक हजार पाँच सय वटा कुखुरा पाल्न सकिने खोर र आवश्यक पूर्वाधारहरु निर्माण भएका थिए ।
खासगरी बोइलर कुखुरा पालन गरिरहेको उक्त फर्म अहिले बन्द गरिएको छ । आर्थिक संकटको अवस्था सिर्जना हुन थालेपछि २०७५/०७६ बाट सञ्चालनमा रहेको उक्त कृषि फर्म बन्द गरिएको फर्मका सञ्चालक चन्द्रा रोकाय बताउछिन् ।
‘हामीले एक लटमा पाँच सय जति बोइलर हाल्थ्यौँ । शुरुमा राम्रै भयो । पछि पछि बोइलरले मूल्य पनि नपाउने र फर्म सञ्चालन गर्न आर्थिक अभाव देखिन थालेपछि व्यवसाय बन्द गरेका हौँ’, उनले भनिन् ।
चन्द्रा कृषि फर्म मात्र होइन २०७८/०७९ मा दर्ता कायम रहेको सावित्री पशुपंक्षी तथा कृषि फर्म समेत अहिले बन्द गरिएको छ । दायित्व बाँकी विषयमा सूचना जारी गर्दै फर्मका सञ्चालक सावित्री भुषालले घरायसी तथा आर्थिक कारणले फर्म खारेजी गरिएको जनाएकी छन् ।
२०७७/०७८ यता सुर्खेतमा दुई सय ९३ वटा उत्पादनमूलक उद्योग बन्द भईसकेका छन् । सञ्चालनका रुपमा हेर्दा सुर्खेतमा उद्योग दर्ता संख्या पनि बढ्न सकेको अवस्था छैन । बन्द भएका अधिकांश उद्योगहरु साना लगानीका उद्योगहरु हुन् ।
२०७७/०७८ मा ३३ वटा उत्पादनमूलक उद्योगहरु खारेज भएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका सूचना ध्रुवकुमार बाँठामगरले जानकारी दिए ।
२०७८/०७९ मा एक सय १९ वटा र २०७९/०८० मा ९९ वटा उद्योग खारेज गरिएको उनले बताए । चालु आर्थिक वर्ष २०८०/०८१ को कार्तिक मसान्तसम्ममा ४२ वटा उत्पादनमूलक उद्योगहरु खारेज भईसकेका छन् । उद्योगहरु बन्द हुनुका कारणका विषयमा भने उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसँग स्पष्ट विवरण छैन । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक मुकुन्दनाथ योगीले भने, ‘हामीले उद्योग खारेजीको निवेदन पाएपछि प्रक्रिया अघि बढाउने हो । उहाँहरुसँग उद्योग बन्द गर्नुपर्ने स्पष्ट कारण पनि खोजिदैन ।’
उद्योग खारेजीको संख्या
२०७७/०७८ः ३३ वटा २०७८/०७९ः ११९ वटा २०७९/०८०ः ९९ वटा २०८०/०८१ (कार्तिक मसान्तसम्म): ४२ वटा
तर कार्यालयमा उद्योग खारेजीको निवेदन लिएर जानेहरु मध्येमा आर्थिक कारण नै बढी देखिन्छ । प्रक्रियागत रुपमा उद्योग बन्दको सूचना प्रकाशित गर्दा समेत व्यवसायीहरुले आर्थिक कारण नै खुलाएका हुन्छन् । सञ्चालन थालिएका उद्योगहरु बन्द हुने अरु कारणहरु पनि छन् । आर्थिक संकट, बैंकिङ, बजारीकरण, जनशक्तिको अभाव लगायतका समस्याहरुका कारण पनि उद्योगहरु बन्द हुने गरेको निर्देशनालयका निमित्त निर्देशक योगीले बताए ।
थोरै मात्रामा नयाँ उद्योग दर्ता
उद्योग दर्ताको तथ्यांक हेर्दा सुर्खेतमा नयाँ उद्योग दर्ताको संख्या घट्दो अवस्थामा देखिन्छ । विगत तीन आर्थिक वर्षमा सबैभन्दा धेरै २०७८/०७९ मा कुल एक हजार तीन सय ९६ उद्योग दर्ता भएका थिए । यि नयाँ उद्योगहरुमा कृषि, उत्पादन, सेवा, निर्माणमूलक उद्योग रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका सूचना ध्रुवकुमार बाँठामगरले जानकारी दिए ।
त्यसैगरी २०७७/०७८ मा नौं सय ५९ उद्योग दर्ता भएका थिए । २०७९/०८० मा आठ सय ६१ उद्योग दर्ता भएको उनले जानकारी दिए । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्ममा भने दुई सय ६४ उद्योगहरु दर्ता भएका छन् ।
उद्योग सञ्चालनको वातावरण भएन
उद्यमी बन्ने योजना लिएर आएका लगानीकर्तालाई सरकारले उद्योगमैत्री वातावरणको निर्माण नगरेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलको आरोप छ ।
उनले भने, ‘बजार चलायमान छैन । उद्यमी बन्ने सपना बोकेर आउनेहरुका लागि अहिले बैंकमा पैसा राखेर व्याज खाने मात्र विकल्प बचेको छ । सरकारले उद्योगमैत्री वातावरणको निर्माण गर्नुपथ्र्यो । तर त्यसो भएको छैन ।’
साना व्यवसायीहरुले उत्पादनमूलक उद्योग सञ्चालन गरेर दुई प्रतिशतसम्म पनि नाफा जोगाउन नसकेको उनले जनाए । ‘उद्योग सञ्चालन खर्चहरु बढीरहेका छन् । तर उद्यमीलाई लगानीमैत्री वातावरण भने बनेको छैन । बैंकले ऋणको व्याज बढाएकै छ । व्यवसायीहरु दोहोरो कर तिनुपर्ने वाध्यतामा पनि छन् । अनि कसरी उत्पादनमूलक उद्योग सञ्चालन होला’, उनले भने ।






