२०८२ बैशाख १७ गते
×

Now Playing

सडक सुरक्षामा सचेत बनौं !

वीरेन्द्रनगर बजार क्षेत्रले चिल्लो सडक पाएको धेरै भएकै छैन । बजार र आसपासका पक्की सडकमा कोरिएका सेता–पहेला धर्काले झन् सडकको सौन्दर्यमा वृद्धि गरेका छन् । यसअघिसम्म अव्यवस्थित जस्तो लाग्ने प्रदेश राजधानीको मुख्य सडक अहिले व्यवस्थित झै देखिन थालेको छ । तर यहाँ सडकको नियम समेत पालना नगर्ने सवारी चालक, बटुवा र स्थानीयले यही सुन्दर सडक र राजधानीलाई चुनौती थपिदिएका छन् । अहिलेको समयमा बजारमा दुई थरी घटना देख्न पाइछ, ट्राफिक नियम पालना नगर्दै रोकिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले जरिवाना गराईरहेको हुन्छ । अर्को तर्फ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले उनै ट्राफिक प्रहरीहरुसँगको सहकार्यमा नागरिकलाई ट्राफिक नियम पालना गराईरहेका छन् ।

सडक सुरक्षाका दृष्टिकोणमा वीरेन्द्रनगरका सडकहरु जोखिम नै मानिन्छन् । यहाँ बाटो हिड्ने बटुवा देखि सडकमा सवारी कुदाउने चालक समेतले नियमको पालना गर्दैनन् । सडक सुरक्षाका लागि महत्वपूर्ण पाटो भनेकै सडकपेटी समेत हो । तर वीरेन्द्रनगरका सडकमा भने सडकपेटीहरु नै छैनन् । भएका तथा व्यवस्था गरिएका स्थानमा बटुवालाई हिड्न विविध कारणवश अवरोध सिर्जना भएका छन् । सडक पेटीमा कतै व्यवसायीले आफ्ना सामाग्री राखेका छन् त कतै स्थानीय घरधुरीले नै निर्माण सामाग्री थन्काएका छन् । पैदल यात्राका लागि वीरेन्द्रनगरका सडक पेटी सहज छैनन् । कतै विद्युत लगायतका पोलहरुले बटुवालाई सडकबाटै हिड्न वाध्य बनाएका छन् । अर्को, यहाँ सवारी चालकमा समेत सडकको नियमका विषयमा सचेतना छैन । या, सचेतना भएर पनि लापरवाही रुपमा सवारी कुदाइएको हुन्छ । जेब्रा क्रसिङ्ग जस्ता स्थानमा सवारी राख्नु, कोरिएका रेखालाई नछोउ भनेको स्थानबाटै अर्को ‘लेन’मा पुग्न त यहाँ वीरेन्द्रनगरमा सामान्य नै बनिसकेको छ । बजार क्षेत्रमा सञ्चालन हुने अटोहरुलाई समेत यात्रु ओराल्ने स्थानको पत्तो हुदैन । कुनै यात्रुले ‘मलाई यहाँ ओराल्दिनु’ भनेको भर अटोहरु त्यहि रोकिन्छन् । यस विषयमा अटो व्यवसायीमा लापरवाही प्रष्ट देखिन्छ ।

सडक सुरक्षाका लागि ट्राफिक नियम पालना गराउने मुख्य जिम्मेवारी ट्राफिक प्रहरीको हो । तर ट्राफिक प्रहरीले नियम मिचेको आरोपमा जरिवाना तिराएर मात्र हामी सडक यात्रामा सुरक्षित हुन सक्दैनौं । यसका लागि सचेतना र कार्यान्वयनको पाटोलाई विशेष रुपमा सँगै लग्नुपर्छ । जेब्रा क्रसिङ्ग वाहेकका स्थानबाट बटुवालाई बाटो काट्न दिनुहुदैन । खुल्ला सडकका कारण पनि नागरिकहरु जहाँ सहज त्यहीबाट बाटो काटिरहेका छन् । उनीहरुलाई रोक्न अथवा जरिवाना गर्न प्रशस्त जनशक्तिको आवश्यकता पर्छ । तर यसको रोकथामका लागि सो अनुसार छेकवार लगायतका पूर्वाधार निर्माण गर्न यो समस्या पनि हल हुने देखिन्छ । सुन्दर राजधानीको पहिलो स्वरुप भनेकै यहाँका सडक हुन् । चिल्ला सडक भन्दा पनि सुरक्षाका दृष्टिकोणले समेत व्यवस्थित सडक निर्माण गर्न सकेमात्र राजधानीलाई सुन्दर वयान गर्न अझ सुहाँउछ । सचेतना, सडक पूर्वाधार निर्माण, नियमको पालना लगायतका सबै विषयमा जिम्मेवार पक्षहरु एकद्वार प्रणालीबाट अघि बढ्न सके वीरेन्द्रनगरमा ट्राफिक नियम पालना र सुन्दर राजधानी निर्माणको गन्तव्यमा अघि बढ्न सकिन्छ । यस विषयमा सरोकारवाला पक्ष सबैको समयमै सहकार्यका लागि ध्यान जान जरुरी छ ।

सडक सुरक्षामा सचेत बनौं !

YUGAAWHAN NATIONAL DAILY (2080-04-12)

Leave a comment

Your email address will not be published. Required fields are marked *