टिकट वितरण पारदर्शी बनाउने निर्णय


अघिपछि आबश्यक पर्दा त परै जावस जटिल काम होस या विरामी पर्दा र अस्पतालले रेफर गरीसक्दा पनि सर्वसाधारणले सहजै हवाई टिकट नपाउने समस्या जुम्ला विमानस्थलमा वर्षौदेखि छ ।
जुम्लाको हवाई सेवा पहुँचमुखी मात्रै भएको,सर्वधारणले सहजै टिकट नपाएकोे,ठुलाबडाको फोनमै टिकट फिक्स हुने,टिकट वितरणमा पारदर्शी नहुने समस्या वर्षौदेखि हालसम्म विद्यमान छन् । जसले गर्दा जुम्लामा हवाई सेवा पहुँच मात्रै भएको र सर्वसाधारणले सधै सास्ती पाएको स्पष्ट हुन्छ ।
जुम्लाको हवाई सेवालाई सहज र नागरिक मैत्री बनाउन पटक पटक छलफल निर्णय नभएका होईनन् । तर हवाई टिकट वितरण गर्ने व्यक्तिहरुको मनपरीले गर्दा नत निर्णय कार्यान्वयन हुन सक्यो । नत नागरिकले सहज हवाई सेवा पाए । सुधार नहुनुको सट्टा गुनासो बढ्दै जाने र टिकट वितरणमा पनि मनपरी चुलिदै जाने समस्या हाल सम्म छ ।
भूगोलका हिसाबले जुम्ला विमानस्थल कर्णाली प्रदेशकै बेस्थ र यात्रुको बढी चाप हुने विमानस्थलमा पर्छ । समिट,सिता,तारा र नेपाल एयरलाईन्सले जुम्लामा उडान गर्छन् । तर समिट एयर बाहेक अन्य जहाजको नियमित उडान छैन् । फाटफुट हुने उडानमै नागरिकले सास्ती पाउदै आएका छन् ।
हवाई सेवा सुधारबारे जुम्लामा विमानस्थलमा आईतबार आयोजित सरोकारवालाको छलफलले टिकट वितरणलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय,चन्दननाथका मेयर राजुसिंह कठायत,नागरिक अगुवा राज बहादुर महतले टिकट वितरणमै अनियमितता र ब्रमलुट भईरहेकोले तत्तकाल सुधार गर्नुपर्ने र अटेरी गर्ने एयरलाईन्सहरुलाई जुम्ला उडानमै रोक लगाउनु पर्ने आक्रोश पोखे ।
समन्वय प्रमुख आर्चायले भने,‘पहिलो दिन टिकट लिन जाँदा भोली जहाज आउने टुंगो छैन् भन्छन् । भोली गयो हिजोनै टिकट सबै गईसक्यो । जहाज प्याक भयो भनेर टार्छन् । यसरी टिकटमा मनपरी गर्छन् । यो त सरासर अनियमितता हो । यस्ता प्रबृत्तिलाई रोक्नुपर्छ ।’
साथै सबै एयरलाईन्सका टिकट काउन्टर बाहिर हुनुपर्ने,सरकारी सिट छुटाएर,आम नागरिकलाई लाईनमै टिकट दिनुपर्ने र अटेरी गर्र्ने एयरलाईन्सको उडानमै रोक लगाउनु पर्नेमा जिसस प्रमुख आर्चायले जोड दिए ।
मेयर राजुसिंह कठायतले काउन्टर बाहिर नखोल्ने,टिकट वितरणमा बह्रमुट मच्चाउन अब नपाईने ठोकुवा गरे । उनले भने, ‘अनलाईन टिकट वितरणका नाममा समेत एयरलाईन्सहरुले नागरिकलाई सास्तीमात्रै दिएका छन् । सुधारको बहस र निर्णय पटक पटक भएपनि कार्यान्वयन हुन सकेको छैन् । अब सबै सच्चीनुपर्छ ।’
नागरिक अगुवा राजबहादुर महतले अघिपछि सडक यातायात प्रयोग गर्ने सर्वसाधारणले दुःखी विरामी हुँदामात्रै हवाई सेवा खोज्दा समेत सहजै टिकट नपाउने प्रबृत्तिले कायम रहेको बताए । उनले भने,‘टिकट वितरणमा मनपरी त छदैछ । यसलाई रोक्न प्रभावकारी बनाउन समेत प्रशासनले चासो दिएन् । नाम मात्रको अनलाईन सेवा छ । सर्वसाधारणले कहिले प्रयोग गर्न पाउदैनन् । अब अति भयो । हवाई क्षेत्रको मनपरी रोक्नु पर्छ ।’
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले टिकट वितरण प्रणाली सुधारेको खण्डमा जुम्लामा आउने पर्यटक र सर्वसाधारणले ढुक्कले हवाई सेवा प्रयोग गर्ने बताए । टर्मिनल भवन भन्दा बाहिर कार्यालय राखेर सहज रुपमा टिकट वितरण भए नभएको बारे हप्तादिनपछि अनुगमन गर्ने उनको भनाई छ ।
सुरक्षा प्रमुखहरु गणपति सुमन श्रेष्ठ,शसस्त्र प्रहरीका एसपी चेतराज जोशी र प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले बाहिर काउन्टर राख्नुपर्ने लाईन लगाएर टिकट वितरण गर्ने र छुटाइएको सिटमा प्रथामिकरण गरेर मात्रै टिकट वितरण गर्नुपर्ने सुझाब दिएका छन् ।
टिकट वितरणमा पारदर्शी गर्ने निर्णय
जुम्लाको हवाई सेवा सुधार गर्नेबारे पटक पटक छलफल र निर्णय भएका छन् । तर कार्यान्वयन पक्ष निकै कमजोर भएको र प्रशासनले सुक्ष्म नियमन पनि नगरेको देखिन्छ । तर आईतबार आयोजित छलफलले भने जुम्लामा उडान गर्ने एयरलाईन्सहरुको टिकट वितरणलाई पारदर्शी गर्ने निर्णय गरेको छ । जुम्लामा (समिट,सिता,तारा र नेपाल एयरलाईन्स)ले जुम्लामा उडान गर्दै आएका छन् । यी सबै एयरलाईन्सहरुको टिकट वितरण पारदर्शी नभएको गुनासो छ ।
जुम्ला विमानस्थलमा संचालित सबै वायुसेवा कम्पनीहरूले आ–आफ्नो (जीएसए) सँग सहकार्य गरी एयरपोर्ट बाहिर कार्यालय खोल्ने,डायरीमा नाम लेख्ने व्यवस्था मिलाई पारदर्शी रूपमा टिकट वितरण गर्ने निर्णय भएको छ ।
सबै वायुसेवा कम्पनीहरूले विहान १० देखि आ–आफ्नो उडान नसकेसम्म कार्यालय संचालन गर्ने र भोलि हुने उडानको टिकट एक दिन अगाडिनै वितरण गर्नुपर्ने निर्णय गरिएको छ । त्यस्तै १८ सिटे वायुसेवा कम्पनीहरूले १० सिट आ–आफ्नो कार्यालयबाट र सिता एयरको हकमा (७ सिट ) बाड्ने र बाँकी रहेको सिट बिरामी, असक्त, सुरक्षाकर्मी, र अन्य इमर्जेन्सि काम परेका व्यक्तिका लागि व्यवस्था गर्ने निर्णय गर्ने निर्णय भएको जुम्ला विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताए ।
उनले भने,‘टिकटलाई पारदर्शी बनाउन गरिएका निर्णय कार्यान्वयमा सबैले जोड दिएमा केहि सुधार होला । सर्वसाधारणले टिकट पाउँलान । तर नियमित उडान गर्ने कुरा हाम्रो लेबलबाट सम्भव छैन् ।’
साथै विरामी, अशसक्त, जटिल काम परेका मान्छे नछुटुन भन्नका लागि सुरक्षाकर्मी,सरकारी र विरामी सिटमा जाने यात्रुको एदेखि सी सम्म वर्गिकरण गर्ने निर्णय भएको छ । वर्गीकरण गर्दा पहिलो प्रथामिकता (ए)मा विरामी,दोस्रो (बी)मा सरकारी र तेस्रो (सी)मा सुरक्षाकर्मीलाई सिट छुटाउनु पर्ने छ ।
सिता एयरले ४ सिट बाहेक अन्य एयरलाईन्सले ६ सिट बर्गीकरण गरेर बाड्ने छ । सरकारी कर्मचारी,सुरक्षाका लागि छुटाईएका सिटमा प्रायःसर्वसाधारणनै उड्न पाउने छन् । तर अत्याआबश्यक काम परेको बेला भने छुटाइएको सिट सुरक्षाकर्मी,सरकारी कर्मचारीलेनै प्रयोग गर्नेछन् ।
टिकट वितरण सधै नागरिकमैत्रीनै भएको दाबी गर्दै टिकट वितरण, भनेजस्तो गर्न सजिलो नभएको एयरलाईन्स कम्पन्नीहरुले बताएका छन् । नागरिकले आफु टिकट पाउँदा चुप लाग्ने र नपाउने बित्तिकै गुनासो गर्ने प्रबृत्ती बढेकोले व्यवस्थापनमा सकस रहेको समिट एयरका गोविन्द भण्डारीले बताए ।






