हराउँदै परम्परागत संस्कृति


जिल्लाका ग्रामीण क्षेत्रमा समेत परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका छन् । संरक्षण अभावमा झोडा, देउडा, रत्यौली, मागल, छैटी, हुडे नाच, बालो चम्फा नाचलगायत रैथाने परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएका छन् ।

कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै गएको स्थानीय अगुवा बताउँछन् । पश्चिमेली संस्कृति र सहरी क्षेत्रको पहिरनले जिल्लाको पुर्ख्यौली संस्कृति र पहिरन ओझेलमा परेको कर्णाली दोहोरी प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढ्थापाले बताए । युवापुस्तामा संस्कृति हस्तान्तरण नहुँदा लोप हुँदै गएको उनले जनाए । अहिलेका पुस्ता बजारमा निस्केका आधुनिक गीतसंगीतमा रमाउने गरेकाले लोकसंस्कृति ओझेलमा परेका हुन् ।

उनले भने, ‘हाम्रो पालामा गाइने झोडा, मागल, धारु, रतेउली, छैटी, बालोलगायत गीत लोप हुँदै गएका छन् ।’ विगतमा वनपाखामा गुन्जिने देउडा गीत, ठाडी भाका, सवाल जवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएको उनको गुनासो छ । विवाह, व्रतबन्ध, उत्सव, देवीदेवताको पूजालगायतमा गाइने झोडा गीत लोप हुँदै गएपछि स्थानीय संस्कृति ओझेलमा परेको जुम्लाको चन्दननाथ नगरपालिका–२ कि ७३ वर्षिय रमा उपाध्यायको भनाइ छ । दुई समूहमा भेला भएर महिलाद्वारा गाइने झोडा गीत अहिले बिरलै सुन्न पाइने उनी बताउँछिन् । उनका अनुसार दुई दशकअघिसम्म १५÷२० महिला आपसमा सवाल जवाफ गर्दै यो गीतमा रमाउने गर्थे ।

तस्बिरः गोल्डेन बुढा

दशकयता जुम्ला लगायतका कर्णालीका गाउँ बस्तीमा महिलाले लगाउने गुन्युँचोली र पुरुषले लगाउने दौरासुरुवाल पनि हराउँदै गएको गुठिचौर गाउँपालिका–२ मोलिलाल बुढाले बताए । उनका अनुसार घरमै उत्पादित ठेटुवाबाट दौरासुरुवाल बनाइन्थ्यो ।

बजारमा विदेशमा उत्पादित कपडाको आयात बढ्न थालेपछि परम्परागत पोसाक हराउन थालेको उनको भनाइ छ । त्यस्तै पछिल्लो समय पञ्चेबाजा पनि लोप हुने अवस्थामा पुगेका छन् । बढ्दो आधुनिकीकरण र संरक्षण अभावमा पन्चेबाजा संकटमा परेको बुढा बताउँछन् । विवाह, व्रतबन्ध, देवताको पूजापाठ र अन्य उत्सवमा बजाइने लोकप्रिय बाजा सुनिन छाडेको उनी बताउँछन् ।

२० वर्षअघि पाँच हजार पाँच सय रुपैयाँमा कालिकोटबाट किनेर ल्याएको सहनाई अहिलेसम्म घरमै राखेको सिंजा–५ गोरा गाउँका ६० वर्षिय दलबिरे दमाईले बताए । अहिले कसैले पन्चेबाजा माग गर्दैनन् ।

विवाह, व्रतबन्ध, मेला र अन्य पर्वमा आधुनिक बाजा बज्न थालेका छन् । उनले भने,‘पछिल्लो पुस्ताका लागि भए पनि घरमै संरक्षण गरेर राखेको छु ।’ अहिले सुन र चाँदीका विभिन्न गहनासमेत गाउँघरमा देखिन छाडेका छन् । गाउँबस्तीमा ६० कटेका वृद्धाले समेत विरलै परम्परागत गहनाको प्रयोग गर्ने गरेका छन् । खुट्टामा लगाइने कल्ली र पैरा हातमा लगाउने बाला, घाँटीमा लगाइने सानीमाला, ठूलीमाला, सांला, मुगामाला, डुरी, ढुङ्ग्री, कालो, पहेंलो, सेतो पोते, कपुर्ने मालालगायत पुराना गहना गाउँमा समेत लगाउन छाडेको दमाई बताउँछन् ।

पुरानो संस्कृतिसँग सम्बन्धित परम्परागत मागी विवाहमा नाचिने हुडे नाचसमेत लोप भएको छ । मागी विवाहको चलन हटेसँगै यो नाच पनि लोप भएको स्थानीय अगुवाको भनाइ छ । १०÷ १५ वर्षअघिसम्म मंसिर र माघ महिनामा गाउँघरमा बिहेका पन्चेबाजा खुब सुनिन्थे, हुडेलाई पनि भ्याइनभ्याइ हुन्थ्यो, पातारासी गाउँपालिका–४ का ७० वर्षिय हर्कबहादुर नेपालीले भने,‘अहिले त गाउँमा कसको विवाह भयो भनेर ५÷७ दिनसम्म थाहै हुँदैन ।’

स्थानीय अगुवा महेन्द्र कार्कीका अनुसार विवाहमा समेत आधुनिक चलन भित्रिएको छ । पहिले बिहे हुँदा पुरुष जन्ती जाने र महिला राति बेहुलाको घरमा जम्मा भई रत्यौली खेल्ने, मागल चुटी गाउने परम्परा थियो । उनले भने,‘बिहेको पछिल्लो दिन दौडा लगाएर हातमा डमरुजस्तै देखिने हुडो समातेर दुई जना सहयोगी जोल्याको साथमा पुराना वीर (पैकेला) हरूका कथा (भात्ता) भनेर दिनैभरि नाच्ने, गाउने र रमाइलो गर्ने चलन थियो ।’

धेरै गाउँ ठाउँमा निम्तो आउँथ्यो । आजभोलि त जन्ती जाने चलनै हरायो । बिहेमा खुब नाचिन्थ्यो, गाइन्थ्यो, हुडो बजाइन्थ्यो । उनले भने, ‘अहिलेका पुस्तालाई हुडोबारे केही थाहा छैन ।’ जिल्लामा पछिल्लो समय परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेकाले संरक्षणका लागि स्थानीय सरकारको ध्यान जान जरुरी छ ।

हराउँदै परम्परागत संस्कृति

परम्परागत मौलिक संरचनाहरू हराउँदै

हराउँदै परम्परागत संस्कृति

नेपाल तरुण दलले भूकम्पपीडितका लागि अस्थायी आवास