घट्न थाल्यो खाद्य उत्पादन

सुर्खेत । कर्णालीमा खाद्य बालीको उत्पादन घट्दै गएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ४ दशमलव ७३ प्रतिशतले घटेको पाइएको छ । कृषि विकास निर्देशनालय सुर्खेतको तथ्यांक अनुसार आर्थिक २०७७/०७८ को सोही अवधिमा उक्त क्षेत्रफल ४ दशमलव ९२ प्रतिशतले बढको थियो । यद्यपि चालु आर्थिक वर्षको तथ्यांक भने सार्वजनिक भएको छैन् । कर्णालीमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल २ लाख ७१ हजार ६ सय १२ हेक्टर रहेको छ ।

प्रमुख बालीहरुमध्ये गत आर्थिक वर्षमा धान बालीले ढाकेको क्षेत्रफल ११ दशमलव ४८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा भने धान बालीले ढाकेको क्षेत्रफल शून्य दशमलव २६ प्रतिशतले बढेको थियो । त्यस्तै, मकै, गहुँ र जौ बालीले ढाकेको क्षेत्रफल २०७८/०७९मा क्रमशः ८ दशमलव ६५ प्रतिशत, ५ दशमलव ७८ प्रतिशत र शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने कोदो बाली ५ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा मकै बालीले ढाकेको क्षेत्रफल शून्य दशमलव १६ प्रतिशतले घटेको थियो भने धान, गहुँ, कोदो र जौ बालीले ढाकेको क्षेत्रफल क्रमशः शून्य दशमलव २६ प्रतिशत, ७ दशमलव ८० प्रतिशत ६ दशमलव ३८ प्रतिशत र ३ दशमलव ८५ प्रतिशतले बढेको थियो ।
यो तथ्यांकले गत आर्थिक वर्षको असार मसान्तमा कणर्ाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ३ दशमलव ७५ प्रतिशतले घटेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल ४ दशमलव ७२ प्रतिशतले बढेको थियो । परम्परागत कृषि प्रणाली यथावत हुनु, समयमा पर्याप्त मात्रामा बीउ तथा मल उपलब्ध नहुनु तथा सिंचाईको उपलब्धता नहुनु जस्ता कारणहरुबाट कृषि व्यवसाय निर्वाहमुखी बन्न पुगेको र कतिपय अवस्थामा जिविकोपार्जन गर्न समेत गाह्रो हुने भएकोले श्रमशक्ति वैदेशिक रोजगार तथा स्वदेशमा स-सानो व्यापार व्यवसाय र ज्याला मजदुरीको क्षेत्रमा आकर्षित हुँदा खाद्य उत्पादन घट्दै गएको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकाय बताउँछन् ।
पछिल्लो समयमा बढ्दो शहरी बसाईसराईका कारणले कणर्ाली प्रदेशका पहाडि जिल्लाहरुमा कृषि खेती दिन प्रतिदिन घट्दै गएको निर्देशक रोकायाको भनाई छ । निर्देशनालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सुर्खेतमा सबैभन्दा धेरै ७१ हजार २ सय ९४ मेट्रिकटन धान उत्पादन हुँदा हुम्लामा सबैभन्दा कम ८ सय २ हजार मेट्रिकटन उत्पादन भएको छ । यस्तै रुकुममा १३ हजार १ सय ५०, सल्यान ३० हजार ५ सय ५६, जाजरकोट ९ हजार १ सय ९५, जुम्ला ६ हजार चार सय, मुगुमा ५ हजार ४ सय ३४, कालिकोट ७ हजार १८, दैलेख २६ हजार ५ सय १, डोल्पामा ६ सय ५ मेट्रिकटन धान उत्पादन भएको छ ।
यस्तै अर्को प्रमुख खाद्य बालिका रुपमा रहेको मकै रुकुममा सबैभन्दा धेरै उत्पादन भएको छ । सल्यानमा ४२ हजार ५ सय ८५ मेट्रिकटन मकै उत्पादन हुँदा हुम्लामा सबैभन्दा कम २ सय ५२ मेट्रिकटन उत्पादन भएको छ । मकै उत्पादनको जिल्लागत तथ्यांक अनुसार रुकुम ३७ हजार ९ सय ५४, जाजरकोट ३४ हजार ६ सय ५०, जुम्ला ११ हजार १ सय ५०, मुगु २ हजार ५ सय ७५, कालिकोट १२ हजार ४ सय ७५, दैलेख ४२ हजार ५ सय ८५, डोल्पा २ हजार ७ सय ९८ र सुर्खेतमा ३० हजार ५ सय ८ मेट्रिकटन मकै उत्पादन भएको छ ।
यस्तै गहँुबाली उत्पादनमा सुर्खेत अगाडि देखिएको छ । सुर्खेतमा ३५ हजार ३ सय ५५ मेट्रिकटन गहुँ उत्पादन भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । जिल्लागत गहुँ उत्पादनको तथ्यांक अनुसार सल्यानमा १५ हजार २ सय २, रुकुम ११ हजार २ सय ४१, जाजरकोट १६ हजार ७ सय ४, मुगु १ हजार ९ सय ७५, कालिकोट ६ हजार ७ सय ३५ मेट्रिकटन गहुँ उत्पादन भएको निर्देशनालयसँग तथ्यांक छ । यस्तै दैलेखमा १५ हजार २ सय २, डोल्पा ४ हजार १०, हुम्लामा १ हजार १ २६ मेट्रिकटन गहुँ उत्पादन भएको छ । निर्देशनालयका अनुसार कर्णालीका ७४ प्रतिशत परिवारले कृषि पेशा अंगालेको तथा पहाडी जिल्ला भन्दा हिमाली जिल्लामा बढी कृषि खेती हुने गरेको छ ।
कर्णालीका १० जिल्लामध्ये हिमाली जिल्लाहरूमा ८३ प्रतिशत परिवारले कृषि खेती गर्दै आएका छन् । अन्य रोजगारी र व्यवसायिक खेती भने न्यून देखिएको छ । कम उत्पादनका कारण परभिर्नरता बढेकाले हिमाली जिल्लाहरूमा खाद्य संकट समेत बढ्दै गएको छ ।
कृषि उत्पादन वृद्धि गर्न प्रविधियुक्त जनशक्ति समेत छैन् । खाद्य असुरक्षाको मारमा पर्दै आएका कणर्ाली क्षेत्रका मानिसको खाद्यान्न आपूर्तिको मुख्य स्रोत खाद्य संस्थानले वितरण गरेको चामल हो । यस क्षेत्रमा सन् १९७६ देखि खाद्य संस्थानले बाहिर खाद्यान्न ढुवानी गर्न थालेपछि चामलप्रतिको मोह बढिरहेको छ ।
शुरुवातका वर्षहरुमा खाद्य संस्थानले चामल, दाल, नुन गाविसका खाद्य संस्थानका डिपोहरुवाट वितरण गर्ने गरेकोमा अहिले आएर जिल्ला सदरमुकामको खाद्यबाट चामल बाँड्ने गरिएको छ । खाद्यान्न सर्वसुलभ तवरले पुर्याउन स्थापित गरिएको खाद्य संस्था सदरमुकाम केन्द्रित हुँदा दुर्गम गाउँहरुमा खाद्य संकट बढ्दै गएको छ ।





