वीरेन्द्रनगर–१० को पुर्व–दक्षिण क्षेत्र, प्रहरी चौकी स्थापनाको माग

पुनम वि.सी.
सुर्खेत,२ माघ ।
वीरेन्द्रनगर नगरपालिका प्रदेशद्वारका रुपमा नगरको ११ नं. वडा स्थित सुब्बाकुनामा प्रहरी चौकी नै स्थापना छ । कानुन विपरित गतिविधि गर्नेहरुका लागि प्रहरीले सो क्षेत्रमा प्रत्यक्ष निगरानी गर्छ तर नगर प्रवेशका लागि वैकल्पिक द्धारका रुपमा हेरिएको भेरी–बामेखोला सडकखण्डमा भने प्रहरीको सक्रियता अलि कम नै छ ।
वीरेन्द्रनगर–१० को पुर्व–दक्षिण क्षेत्रमा रहेको यो सडकखण्डमा सवारी चाप न्यून रहेपनि यो क्षेत्रमा वीरेन्द्रनगर भित्रने सडकका रुपमा प्रयोग गर्ने सवारीहरुको चाप भने बढ्न थालेको छ । कच्ची सडक भएपनि भेरी नदीको पुल देखि वीरेन्द्रनगर भित्रन यो सडक प्रयोग गर्दा कुनै प्रहरी चौकी भेटिदैन । यस अवस्थाले पनि वीरेन्द्रनगर–१० क्षेत्रमा अहिले अपराधिक गतिविधि बढ्न थालेका छन् ।
लागुऔषधका विषयमा समेत हालको समयमा उक्त क्षेत्र जोखिममा छ । ‘हाम्रो वडामा दुई स्थानका प्रहरी चौकीले सुरक्षा अवस्थामा संलग्न छन् । ९ नं. वडा, लाटिकोइली र ११ नं. वडा, सुब्बाकुनामा रहेको प्रहरी चौकीले यता सुरक्षा व्यवस्था मिलाएको छ’, वीरेन्द्रनगर–१०, का वडा अध्यक्ष डिलबहादुर रखालले भने, ‘यता १० नं.को दक्षिण भुभागतिर कुनै घटना घटेमा प्रहरी आईपुग्न पनि समय लाग्छ ।’
यसका साथै भेरी–बामेखोला सडक खण्डमा प्रहरी चौकी नहुदा समेत सुरक्षा चुनौती थपिएको उनले बताए । उनले भने, ‘अहिले यो बाटो तस्करहरुका लागि सजिलो भएको छ ।’ हालको समयमा वडा क्षेत्रबाट मासिक एक जनाको संख्यामा प्रहरीले लागुऔषध मुद्धामा अभियुक्तलाई पक्राउ समेत गरिरहेको छ ।
यस तथ्यांकले समेत १० नंम्वर वडामा लागुऔषधको कारोवार तथा सेवनकर्ताको संख्या बढ्न थालेको जनाउने वीरेन्द्रनगर–१० का वडा सदस्य मनोहरलाल आचार्य बताउछन् । उनले भने, ‘यता अहिले अपराधिक घटनाको संख्या पनि बढ्न थालेको छ । बामेखोलाबाट भेरी पुल जोड्ने सडकक्षेत्र अपराधिका लागि ट्रान्जिट बन्न थालेको हामीले पाएका छौ ।’
यसैगरी केहि समय पहिले उक्त क्षेत्रमा एक युवकको ज्यान समेत गयो । प्रहरीले हाल वडाको दक्षिण क्षेत्र अवस्थित पठानटोलबाट कयौँ व्यक्तिमाथी उक्त घटनामा दोषि जनाउदै मुद्धा प्रक्रिया समेत अघि बढाएको छ ।
‘यस अघि नै हामीले प्रदेश प्रहरीमा यो छलफल पनि गरेका थियौँ’, वडा अध्यक्ष रखालले भने, ‘संघिय सरकारले नै प्रहरी चौकीका लागि निर्णय गर्नुपर्ने भएकाले स्थानीय नागरिक, वडा तथा पालिकासहितको समन्वयमा ईलाका प्रहरी चौकी स्थानाको माग सहित अघि बढ्ने अवको योजना हो ।’
लागुऔषध कारोवार बढ्ने जोखिम् यता जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने वीरेन्द्रनगर–१० क्षेत्रमा प्रत्येक महिनाको समयान्तरमा लागुऔषध सहित युवाहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा मात्र प्रहरीले ६ जना भन्दा बढी युवालाई लागुऔषध सहित पक्राउ गरेको छ ।
पुष २७ गते लागुऔषध नियन्त्रण ब्युरो शाखा, सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोषाकमा खटिएको संयुक्त प्रहरी टोलिले वीरेन्द्रनगर–१० एकान्त नगर टोलबाट १८ वर्षीय युवालाई नौं ग्राम लागुऔषध सहित पक्राउ गर्यो ।
यसैगरी मंसिर १५ गते बुलबुले क्षेत्रबाट वीरेन्द्रनगर–१० निवासी दुई युवालाई लागुऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्यो ।
उनिहरुको साथबाट तनि सय ३० मिलिग्राम लागुऔषध समेत वरामद भएको थियो ।यि दुई घटना मात्र होइनन्, गत भदौ २७ गते, साउन १ र ३० गते प्रहरीले लागुऔषध सहित एक–एक जना युवालाई पक्राउ गरेको थियो ।
खर्च व्यर्हाेछौं, सुरक्षा चाहियो
वीरेन्द्रनगर–१०, सानोसुर्खेतमा अहिले मध्यपश्चिम विश्वविद्यालयको ईञ्जिनियरिङ्ग संकाय अध्यापन शुरु समेत भएको छ । सानोसुर्खेतमा हालको समयमा विद्यार्थीहरुको समेत संख्यात्मक चहलपहल बढ्दै छ । आचार्यले भने, ‘केहि वर्षमै यहाँ एक हजार जना भन्दा माथीको संख्यामा विद्यार्थीहरु बस्छन् । क्याम्पस तथा विद्यार्थीको सुरक्षा अवस्थाले समेत हामीलाई चिन्तित बनाएको छ ।’
सुरक्षा अवस्था कमजोर अभास भएपछि वडा कार्यालयले सो क्षेत्रमा इलाका प्रहरी चौकीको स्थापनाकालागि पहल समेत सुरु गरेको छ । बामेखोला गाउँको पुर्वी क्षेत्रमा प्रहरी चौकी र चौकीको मातहतमा रहने प्रहरी विटलाई विश्वविद्यालय नजिकै रहेको पिपलचौतारा क्षेत्रमा स्थापनाको पहलमा वडा कार्यालय छ ।
‘भेरीबाट बामेखोला आएपछि गाउँ अघिबो वन क्षेत्रमा प्रहरी चौकीलाई जग्गा दिने योजना छ । करिव चार कठ्ठा बढी जग्गा भए उहाँहरुलाई पुग्ने रहेछ ।
अनि पिपलचौतारामा प्रहरी विट राखेपछि सुरक्षा व्यवस्था निकै राम्रो हुने थियो’, वडा सदस्य आचार्यले भने, ‘हामीले त यो पनि भनेकका छौ कि प्रहरीका लागि उपलब्ध जग्गामा संरचना नबन्नेबेलासम्म गाउँमा बस्ने घर भाडाको खर्च वडाले नै व्यवहोर्ने छौँ ।’ यस विषयमा वडा कार्यालयले कर्णाली प्रदेश प्रहरीलगायतसँग छलफल समेत गरिसकेको छ ।






