एम्बुलेन्सको १०२ नम्वर अवरुद्द, सरोकारवाला वेखवर


सोमवार राती वीरेन्द्रनगर–१० निवासी हिमानी चौधरी (नाम परिवर्तन) विरामी परिन् । एक्कासी छट्पटाउने, प्रेसर बढ्यो भन्न थालेपछि उनका परिवारहरु पनि आत्तिए । चिनेजानेका अटो व्यवसायीलाई फोन पनि लगाइयो । रातीको समय भएकाले अटो व्यवसायहरुको पनि फोन उठेन ।
परिवारलाई एउटै चिन्ता थियो, रक्तचाप बढ्दा यसले शरिरका अन्य अंगलाई समेत असर गर्न सक्छ ।
त्यसपछि बजारबाट नै एम्बुलेन्स बोलाउने योजना बन्यो । रातीको १ बजिसकेको थियो, हिमानीका परिवारसँग कुनै एम्बुलेन्स चालकको नम्वर पनि थिए । तर १०२ नम्वरमा फोन गर्दा एम्बुलेन्स आउने सूचना भने उनीहरुले पाए । छिमेकीले १०२ को वारेमा जानकारी दिएपछि एम्बुलेन्सका लागि फोन गर्न थालियो । तर सो नम्वरमा भने फोन नै लागेन । प्रेसर बढ्यो भन्दै छट्टपाईरहेकी हिमानीलाई अन्तमा मोटरसाइकलमा नै राखेर अस्पताल पु¥याइयो ।
हिमानी मनोसामाजिक समस्या भएकी विरामी हुन् । यसअघि पनि उनले मनोसामाजिक समस्या सम्वन्धिको औषधी सेवन गरिरहेकी थिइन् । रातीको समयमा मोटरसाइकलमै बोकेर पनि हिमानीलाई वीरेन्द्रनगर स्थित कर्णाली केयर अस्पतालमा पु¥याइयो । अस्पतालले राती नै सामान्य उपचार पछि उनलाई घर पठायो । मानसिक रोग विशेषज्ञसँग डाक्टरसँग भेट्नु भन्दै अस्पतालद्वारा उनलाई डिष्चार्ज गरिएको थियो । हिमालीलाई ‘एन्जाइटी डिसअर्डर’ सम्बन्धी मनोसामाजिक समस्या थियो ।
हिमानी र उनका परिवारले यो घटनामा प्रयोग गर्न नपाएको सेवा नै एम्बुलेन्स सेवा हो । केहि महिना पहिले कर्णालीमा एम्बुलेन्स सञ्चालनमा एकद्वार प्रणाली लागु भएको थियो । तर सोमवार राती भने हिमानी र उनका परिवारले सो सेवाको उपभोग नै गर्न पाएनन् । १०२ नम्वरमा फोन गर्दा फोनवाला भएको स्थान वरपरका एम्बुलेन्सलाई बिरामी कहाँ पु¥याउने १०२ नम्वरको उद्देश्य हो । एकद्वार प्रणाली मार्फत एम्बुलेन्स सञ्चालन गरेपनि सेवाग्राहीहरुलाई एम्बुलेन्सका लागी फरक फरक नम्वर राखिराख्न पर्दैन ।
स्वास्थ्य अवस्था नाजुक भएका वा गम्भिर चोटपटक लागेका विरामीको अवस्थालाई स्थिर राख्दै तत्काल उपयुक्त स्वास्थ्य संस्थासम्म पु¥याउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको थियो । कर्णालीको सामाजिक विकास मन्त्रालयले गत असारदेखि नै एम्बुलेन्सलाई एकद्वार प्रणाली मार्फत सञ्चालन गरिरहेको थियो । १०२ नम्वर भने केहि महिना पहिले मात्र शुभारम्भ गरिएको हो ।
तर मंगलवार साँझसम्म पनि १०२ नम्वरको फोनमा सम्पर्क नै भएन । यस नम्वरमा सम्पर्क गर्दा ‘व्यस्त’ मात्र जनाईरहेको छ । नागरिकलाई आवश्यक समयमा ‘१०२’ नम्वरमा फोन सम्पर्क गरेपछि त्यहाँका कर्मचारीले नजिक भएको एम्बुलेन्सलाई सेवामा पठाउने यसको प्रक्रिया थियो ।
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका नै बनाएर हाल देशैभर एम्बुलेन्सहरुलाई एकद्वार प्रणाली मार्फत सञ्चालन गरिरहेको छ । सोहि अनुसार कर्णालीमा समेत यो सेवा शुरु गरिएको थियो ।
एम्बुलेन्सहरु १०२ नम्बर बाट मात्रै चल्ने, स्वास्थ्य संस्थाबाट मात्र सञ्चालन हुने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त, छिटो, छरितो एव्म पारदर्शी बनाउने लगायतका विषयहरु समावेश भएको सामाजिक विकास मन्त्रालयले जनाएको थियो ।
एकद्वार प्रणाली मार्फत एम्बुलेन्स सञ्चालन गर्नका लागि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको देखिन्छ ।
एम्बुलेन्सहरु सञ्चालनका लागि अन्य संघ संस्थाले पनि सहयोग गरेका थिए ।
मन्त्रालयले हाललाई सुर्खेत र दैलेखका नागरिकका लागि यस प्रकारको एम्बुलेन्स मार्फत सेवा उपलब्ध गराएको थियो ।
के भन्छन् सरोकारवाला ?
कर्णालीमा हाल एम्बुलेन्सका लागि १०२ नम्वर सञ्चालन प्रभावकारी पनि भएको छैन । हालसम्म यहाँ कुल १८ वटा एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । सोहि जिपिएसका आधारमा एम्बुलेन्सको स्थिती पत्ता लाग्छ । अनि मात्र त्यहाँका कर्मचारीले एम्बुलेन्स पठाउन सक्छन् ।
त्यसैगरी कर्णालीमा सञ्चालन भएका धेरै एम्बुलेन्सहरु नविकरण नभएको कारण पनि जिपिएस जडानमा कठिनाई उत्पन्न भएको स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका प्रमुख डा. रविन खड्का बताउछन् ।
१०२ नम्वरका लागि मुख्य रुपमा सामाजिक विकास मन्त्रालय नै जिम्मेवार निकाय हो । हाल १०२ नं. सञ्चालनमा नरहेको अवस्थाका वारेमा बुझ्न सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीसँग फोन सम्पर्क गर्दा सम्पर्क भएन ।
त्यसैगरी प्रदेश एम्बुलेन्स समितिका अध्यक्ष गणेश थापा पनि थप एम्बुलेन्सहरुलाई जिपिएसमा जडान गर्न माग गरिएको बताउछन् । एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन तर्फ नीति निर्माणकर्ताको भूमिकामा रहेको उक्त समितिका अध्यक्ष थापाले मन्त्रालयसँग जिपिएस जडानका लागि पाँच लाख रुपैयाँ माग गरिएको जानकारी दिए । हाल नम्वर नै सञ्चालनमा नरहेको विषयमा भने उनले अनविज्ञता जनाए ।






