छोराको शव ५ वर्षदेखि अस्पतालमा, बाबु न्यायको खोजीमा

काठमाडौँ, १७ चैत्र ।
काभ्रे पाँचखालका हरिभक्त ढकाल (मिजार) सँग पाँच वर्षयता कतिपल्ट न्यायालयको दैलो धाएँ भन्ने कुनै हिसाबकिताब छैन । न्यायको खोजीमा भौंतारिरहेका उनी यस्ता बाबु हुन्, जसका छोराको शव पाँच वर्षदेखि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ ।
न्याय नपाएसम्म छोराको अन्त्येष्टि नगर्ने अड्डीमा रहेका हरिभक्त जातीय विभेदकै कारण छोरा गुमाउनुपर्दाको साक्षी हुन । हरिभक्तका छोरा अजितले गाउँकै पराजुली थरकी केटीसँग २५ असार २०७३ मा बिहे गरेका थिए । तर, २७ असारमै प्रहरीको बलमा पराजुली परिवारले उनीहरूलाई छुट्याइदियो ।
त्यसको तीन दिन नबित्दै ३० असारको बिहान अजित धादिङ कुम्पुर–३ परेवाटारस्थित त्रिशूली किनार सडकछेउमा रहेको दुईतले काठको प्रतिक्षालयमा मृत अवस्थामा फेला परे । प्रहरीले शवको पोस्टमार्टम गरेर गाडेको बतायो । तर दुई दिनपछि गाडेको ठाउँबाट शव निकालेर हेर्दा थाहा भयो, पोस्टर्माटम गरिएकै रहेनछ ।
प्रहरीले पोष्टमार्टम गरेर गाडेको भनिएको शव २ साउनमा निकालियो । ४ साउनमा काठमाडौंको शिक्षण अस्पताल पोस्टमार्टम भयो । त्यसयता शव अस्पतालमै छ, मिजार परिवार न्याय नपाउन्जेल अन्तिम संस्कार नगर्ने अडानमा छ । घटनापछि अजितका बुबा हरिभक्तले केटीका बुबा ध्रुव भनिने भोजबहादुर पराजुली, उनका भतिजा मनोजबहादुर पराजुली र दिदी सम्झना पराजुलीविरुद्ध किटानी जाहेरी दिए ।
जाहेरीको एक महिनापछि २० भदौमा उनीहरू पक्राउ परे । ५ असोजमा जिल्ला अदालत धादिङको आदेशअनुसार टेकबहादुर पराजुली र सम्झना कार्की २५–२५ हजार धरौटी लिएर तारेखमा छाडेको थियो । २८ पुसमा पुनः भोजबहादुरलाई पनि २५ हजार धरौटीमै छाडिदियो ।
प्रहरीले अदालतमा पेस गरेको दुवै पटकको पोस्टमार्टम रिपोर्टमा ‘झुन्डिएको र मृत्युअघिका चोट नदेखिएको’ भन्ने थियो । तर, अदालतले प्राप्त सबुत र कागजातबाट अभियुक्तहरूलाई लगाइएको अभियोग दाबी अनुसारको वारदात स्थापित नहुने ठहर गरयो । न्यायाधीश उमेश कोइरालाको एकल इजलासले २० जेठ ०७५ मा अभियुक्तहरूलाई सफाइ दियो । जिल्लाको फैसलामा चित्त नबुझेपछि हरिभक्तले उच्च अदालत पाटनमा पुनरावेदन गरे ।
त्यसयता मुद्दा उच्च अदालतमा छ । अजितको तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता मोहन शाशंकरले मृतकको शरीरमा घाउचोट र नीलडाम भए/नभएको र अनुहारमा एसिडजन्य रसायन छ्यापिएको विषयमा पुनः परीक्षण गर्नुपर्ने माग गरेका छन् ।
सो मागमा उच्च अदालतलका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सरलाकुमारी पाण्डेको इजलासले २२ मंसिर ०७७ मा शवको पुनः परीक्षण र त्यस्तो परीक्षणमा अजितका बुबा र अधिवक्ता मोहन शाशंकरलाई समेत साथ राख्नुपर्ने आदेश छ । तर, अस्पतालले अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन ।
यसअघि भएका पोस्टमार्टममा संलग्न डा. रिजेन श्रेष्ठले मृतकको शरीरमा घाउचोट र नीलडाम रहेको भनी बयान दिएका थिए भने डा. अमृता श्रेष्ठले जीउमा घाउचोट नभएको तर मृतकको अनुहार नीलो रहेको बयान दिएकी थिइन । अधिवक्ता शाशंकर अजितको मृत्युको सत्यतथ्य निरूपण नभएको बताउँछन । ‘अनुहारमा एसिड हानेको देखिन्छ, नत्र दुई दिनमै मान्छेको कपाल कसरी खुइलिन्छ ? अनुहारको रङ जीउभन्दा फरक कसरी हुन्छ ?’ उनले भने ।
उच्च अदालतको आदेशबमोजिम अजितको अनुहारमा लागेको केमिकलको अध्ययन भए हत्याको रहस्य खुल्ने बुबा हरिभक्तको आशा छ । ‘दुई दिनमै अनुहार कसरी कालो भयो ? पहिले अनुहार परीक्षण होस्, त्यसबाट हत्या भएको हो भनेर खुल्छ कि भन्ने आशा छ,’ उनले भने । सुरुका दुई वर्ष उनी जिल्ला अदालत धादिङ धाए ।
त्यसयताका तीन वर्ष भने उच्च अदालत पाटन धाइरहेका छन् । ५२ वर्षे हरिभक्तलाई छिमेकी र आफन्तहरू छोराको शव जलाएर अन्तिम संस्कार गर्न सुझाउँछन् । तर, उनको मन मान्दैन । ‘चियापसलमा भेट्दादेखि मेलापातमा पनि छोराको कुरो आउँछ, छिमेकीले आफन्तले लास राखेर के हुन्छ ? अब आगो देऊ, उसको आत्माले शान्ति पाउँछ भन्छन्,’ उनले भने, ‘अब जे हुन्छ, अन्तिमसम्म लडिरहन्छु ।’
सरकारले मिजार परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति पनि दिइसकेको छ । ‘क्षतिपूर्ति दिएपछि न्याय दिनुपर्छ कि पर्दैन ? कि हाम्रो छोराको जीवन क्षतिपूर्तिको नाममा खरिद/बिक्री गर्न खोजिएको हो ?’ हरिभक्तले प्रश्न गरे ।
यस्तो थियो घटना
पाँचखाल नगरपालिका–७ होक्सेका १९ वर्षे अजितले २५ असार ०७३ मा दुई वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरे । पराजुली थरकी १८ वर्षे युवतीलाई भगाएर उनी भक्तपुरको दुवाकोटस्थित दिदीको घरमा पुगे ।
२६ असारको बिहान युवतीका बुवा भोजबहादुर छोरी हराएको भन्दै प्रहरी चौकी पुगे । दलितले छोरी लगेको थाहा भएपछि उनले अजितकी आमालाई भेटेर घर नबोलाए बलात्कार र अपहरणको मुद्दा चलाउने धम्की दिए । आमाले बोलाएपछि बेलुका अजित श्रीमतीलाई लिएर घर पुगे ।
२७ असारको बिहान प्रहरी चौकीमा भेला बस्यो । चौकीमा केटीकी दिदी सम्झना आइपुगिन् र बहिनीमाथि जाइलागिन् । बहिनीको सिउँदोमा अजितको नामको सिन्दूर र गलामा पोते थियो । उनले बहिनीको सिउँदो पुछिदिइन्, पोते चुँडालिन् ।
अजितको परिवारलाई धम्क्याइन् । छिमेकी रमेश काफ्लेले अदालतमा दिएको बयानमा भनेका छन्, ‘प्रहरी चौकीमा पराजुली पक्षले हरिभक्तलाई तिमीहरूले धेरै मानिस जम्मा पारेर हाम्रो बेइज्जत गरेका छौ, यसको बदला लिन्छौँ भनेर प्रहरीकै अगाडि धम्क्याएका थिए ।’
२८ असारको बिहानै भोजबहादुरले आफ्नी छोरीलाई काठमाडौं पुरयाए । त्यो दिन अजितकी आमा कालीलाई पटक–पटक ‘तेरो छोरो सम्हालेर राख् नत्र जेलमा सडाइदिउँला’ भन्दै फोनमा धम्कीसमेत आयो ।
भोलिपल्ट दिउँसो करिब साढे १ बजे घरबाट निस्किएका अजित साँझसम्मै घर फर्किएनन् । ३० असारको बिहान हरिभक्तले पाँचखाल प्रहरी चौकीमा छोरो खोजतलासका लागि निवेदन दिए । तर, प्रहरीले दर्ता गर्न मानेन । दुई दिनपछि ‘धादिङ कुम्पुर–३ परेवाटारस्थित त्रिशूली किनार सडकछेउको प्रतीक्षालयमा एउटा शव झुन्डिएको अवस्थामा भेटिएको’ खबर आयो ।
‘दुवै खुट्टा आटीमा टेकिएका थिए । जिब्रो टोकेको, मुख बन्द भएको तर बाहिर निस्केको जिब्रो कालो रहेको र लास खुम्चिएको थियो । त्रिपालको डोरी प्रयोग भएको तर घाँटीमा भएको डोरी कसिलो थिएन । नजिकै चौरमा दुईवटा बियरका बोतल, एउटा भोड्का, खाली गिलास र लेजको खाली प्याकेट थियो,’ प्रहरीको मुचुल्कामा लेखिएको छ ।
प्रहरीले पोस्टमार्टम गरेर गाडेको शव २ साउनमा निकालिएको थियो । ‘घरीघरी लास जलाउन पाए पनि हुन्थ्योजस्तो लाग्छ,’ उनले भने, ‘तर म कमजोर भएँ भने प्रेम गरेकै कसुरमा अरू कति अजितहरूले फेरि मारिनुपर्ने होजस्तो लाग्छ, त्यसैले मन थामेर बसेका छौँ ।’
प्रहरीमाथी शंका
अजितको मृत्युलाई परिवारका सदस्य कसैगरी पनि स्वाभाविक मान्दैनन । किनकि उनीहरू मृत्यको प्रकृति, त्यसपछि प्रहरीले खेलेको भूमिकामा शंका व्यक्त गर्छन् । शव बुझ्न गएका अजितका बुबा हरिभक्तलाई प्रहरीले देखाएको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘झुन्डिएको’ भनेर लेखिएको थियो । तर खुट्टाले भुइँ टेकेको र डोरीले घाँटीमा कस्सिएको समेत नभएको हरिभक्तको भनाइ छ ।
घटनास्थल प्रहरीले ड्युटी गर्ने स्थान नजिकै थियो । अधिवक्ता मोहन शाशंकरका अनुसार प्रहरीको ड्युटी किताबमा टिपेक्स लगाइएको थियो । त्यस रात डयुटी गर्ने प्रहरीको नामसमेत खुलेको छैन । जहाँ अजित झुन्डिएको अवस्थामा भेटिए, उक्त प्रतीक्षालय दिउँसोभरि प्रहरीले प्रयोग गर्दै आएको थियो । ‘यस्ता थुप्रै कुरा छन्, जहाँ प्रहरीको भूमिका शंकास्पद छ,’ अधिवक्ता शाशंकरले भने ।
नागरिक समाजले तत्कालै गरेको स्थलगत अध्ययन प्रतिवेदनले ‘प्रहरीले लासको सनाखत गर्नभन्दा लास गाड्नेतर्फ सक्रियता देखाएकाले प्रहरीको भूमिकामाथि पनि अनुसन्धान हुनुपर्ने’ उल्लेख छ । तर, यसबारे कसैको ध्यानाकर्षण नभएको हरिभक्त बताउँछन् ।
गजुरी स्वास्थ्य केन्द्रका डा. अमृता श्रेष्ठले धादिङ अदालतमा हतार भएकाले शव चिरफार नगरी पोस्टमार्टम रिपोर्ट लेखेको स्विकारेकी थिइन । मुचुल्कामा त्रिपालको डोरीमा पासो लगाइएको भनिएको छ । र, त्यही त्रिपाल उत्खननका बेला शव बेरिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बयान दिएका छन् ।
केन्द्रीय विधिविज्ञान प्रयोगशालाको औंठाछाप महाशाखामा पठाइएको सबुतको नमुनामा समेत त्रिपालको डोरी छैन । ‘उसलाई छुटाउँदादेखि हत्यासम्म प्रहरीको मिलेमतो छ, प्रहरीकै अघि तँलाई माटोमाथि हिड्न दिन्नँ भनिरहँदा प्रहरी किन चुप लागेर रमित हेरे ?’ अजितकी आमा काली भन्छिन्, ‘बरु जेल हालिदिएको भए हुन्थ्यो, किन मार्नैपर्ने ?’ (इकान्तिपुरबाट)






