युक्रेनको दोस्रो सहर कब्जा, वार्ता र प्रतिकार संगसंगै, रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्धा

काठमाडौं, १६ फागुन ।
रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताउनु भएको छ ।

‘रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरेँ’ ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताउनु भएको छ । ‘युक्रेनी सशस्त्र बलहरूले शत्रुलाई नष्ट गर्दैछन् ।’ उहाँले थप जानकारी दिनु भएको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गर्नुभएको थियो । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नु भएको थियो ।

शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा तीन जना बालबालिकासहित कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको जनाइएको छ ।

युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने
रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो ।

बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोबीचको वार्तापछि किभ मस्कोसँग वार्ता गर्न तयार भएको हो ।

यसअघि किभले बेलारुससँग वार्ता गर्न अस्वीकार गरेको थियो । रुसले युक्रेनमा हमला गर्नुअघि रुसी सेना त्यहाँ तैनाथ थिए । त्यसअघि रुस र बेलारुसबीच बृहत सैनिक अभ्यास भएको थियो ।

रुसको फौजले गति गुमाएको र युक्रेनी सेनाको सशक्त प्रतिरोधपछि उसलाई रसद र आपूर्तिमा समस्या भइरहेको छ ह्वाइट हाउसले दावी गरेको छ । रूसी सेनाले हवाई सर्वोच्चता कायम गर्न बिफल भएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् ।

युक्रेनले आफ्नो देशको पूर्वमा रहेको दोस्रो सहर खार्किभबाट रुसी सेनालाई धपाएको दाबी गरेको छ । आफ्नो सुरक्षा क्षेत्रमा प्रवेश गरेका रुसी बख्तरबंद सवारीसाधनहरूलाई आउन नदिएको युक्रेनको भनाई छ ।

देशले राजधानी किभ वरपरको रेखामा पकड कायमै राखेको तर शहरमा घुसपैठ गर्ने रूसी ‘तोडफोड समूह’ सँग लडिरहेको युक्रेनको भनाई छ ।

रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा
युक्रेनले रुसद्वारा आफ्नो मुलुकमाथि भइरहेको सैन्य आक्रमणमा रोक लगाउन आदेश माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरेको छ ।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरी तत्काल सैन्य कारबाही रोक्न आदेश दिन माग गरिएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका नेतासँग कुराकानी गरेको बताएका छन् । युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न चाहे पनि उसले बेलारुसमा वार्ता गर्नुपर्ने सर्त राखेपछि युक्रेनले अस्वीकार गरेको छ । बेलारुस रुसकै समर्थक भएका कारण अन्य कुनै ठाउँमा वार्तामा बस्नुपर्ने युक्रेनको माग छ ।

वार्ताका लागि दुवै पक्ष तयार भए पनि कहाँ गर्ने भन्नेमा सहमति हुन सकेको छैन । जेलेन्स्कीले बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग कुरा गरेको तर उनले के विषयमा छलफल गर्ने भन्नेबारेमा विस्तृतमा जानकारी नगराएको बताएका छन् ।

आक्रमणको चौथो दिन आइतबार रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि प्रवेश गरेको छ । तर युक्रेनी सेनाले उक्त सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ ।

त्यहाँका मेयरले सशस्त्र बल, पुलिस र रक्षा बलले उक्त सहरबाट रुसी सेनालाई पूर्णरूपमा धपाउन जवाफी कारबाही गरिरहेको जनाएका छन् ।

तेस्रो ठूलो सहर ओडेसामा रुसी सैनिक प्रवेश गरेको तर जवाफी कारबाही गरी पछि फर्किन बाध्य बनाएको दाबी युक्रेनी सेनाको छ । युक्रेन सरकारले रुसी आक्रमणमा परी हालसम्म दुई सय १० गैरसैनिकको मृत्यु र एक हजार एक सयजति घाइते भएको जनाएको छ।

हमलाको तेस्रो दिनसम्म एक सय ९८ जना नागरिकको ज्यान गएको र एक हजारभन्दा बढी घाइते भएको युक्रेनले जनाएको थियो । रुसी सैनिकले राजधानी किएभस्थित आवासीय भवन, अस्पताल र विद्यालयमा आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ ।

युक्रेनले जवाफी कारबाहीमा हालसम्म चार हजार तीन सय रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । त्यस्तै रुसका २७ वटा जहाज, २६ वटा हेलिकोप्टर, एक सय ४६ वटा ट्यांक, ४९ वटा क्यानन, एउटा बुक एयर डिफेन्स सिस्टम, ३० वटा सवारीसाधन, दुईवटा ड्रोन र दुईवटा डुंगामा क्षति पुरयाइदिएको युक्रेनको दाबी छ ।

युक्रेनमा संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघले त्यहाँ रहेका आफ्ना विभिन्न निकायका काम रोकेको छ । उसले परिस्थिति सामान्य हुनेबित्तिकै आफ्ना निकाय र साझेदार निकायसँगका काम पुनः सञ्चालन गर्ने जनाएको छ । रुसले आक्रमण गर्न थालेपछि चार लाख मानिसले युक्रेन छोडेको राष्ट्रसंघले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा शनिबार भत्र्सना प्रस्ताव पास गर्न मतदान भएको थियो । तर रुसले भिटो प्रयोग गरी उक्त प्रस्ताव पास हुन दिएन ।

सुरक्षा परिषद्का १५ सदस्यमध्ये ११ ले प्रस्तावको पक्षमा भोट दिए भने चीन, भारत र युएई मतदानमा सहभागी भएनन् । सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये एकले भिटो प्रयोग गरे कुनै पनि प्रस्ताव पारित हुँदैन ।

स्थायी सदस्यमा रुस, चीन, अमेरिका, बेलायत र फ्रान्स छन् । युक्रेनमाथि भइरहेको रुसी हमलाको विश्वव्यापी रूपमा विरोध भइरहेको छ । रुसमा पनि हमलाको विरोध भएको छ ।

युक्रेनको दोस्रो सहर कब्जा, वार्ता र प्रतिकार संगसंगै, रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्धा

महिला सिडियोको सक्रियता हिल्दुम लघु जलविद्युतको अनुमगन

युक्रेनको दोस्रो सहर कब्जा, वार्ता र प्रतिकार संगसंगै, रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्धा

कुमाखमा भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्डको पहिलो

Leave a comment

Your email address will not be published. Required fields are marked *