हट सीट रहेको वीरेन्द्रनगरको मेयरमा कसले मार्ला बाजी ? (मेयरका उमेदवारहरुकाे नामावली)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जाने सहमति भए पनि भागबण्डा नमिलेपछि अन्तिममा दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट मोहनमाया ढकाल, काँग्रेसबाट उपेन्द्र खड्का, माओवादी केन्द्रबाट राजेन्द्र गिरी, नेकपा एकीकृत समाजवादीबाट धना शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्दश्याम गिरीले उम्मेदवारी दिएका छन् । ०७४ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका देवकुमार सुवेदीले जितेका थिए ।

यस्तो थियो ०७४ को मतपरिणाम

०७४ को निर्वाचनमा नेपाली काँग्रेसका देवकुमार सुवेदीले १४ हजार ४०५ मतका साथ जित्दा एमालेका बालाराम शर्माले १३ हजार ८९९ मत प्राप्त गरेका थिए । सुवेदीले शर्मालाई ५०६ मतान्तरले पराजित गरेका थिए । अहिले नेकपा एमाले विभाजन भएका कारण पनि काँग्रेसले यो पालिकामा आफ्नो जित सहज हुने आकलन गर्दै सत्तारुढ गठबन्धनबीच भागबण्डाका लागि चासो नदेखाएको हो ।

२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा सीमित रह्यो । माओवादीका रत्नबहादुर गाहा मगरले मेयरमा ५ हजार २३७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दहालले १ हजार ८९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरकुमार श्रेष्ठले ५५७, नेपाल मजदुर किसान पार्टीका शेरबहादुर शाहीले १६६, राष्ट्रिय जनमोर्चाका गोविन्दप्रसाद सुवेदीले १८८ मत प्राप्त गरेका थिए ।

अहिले एमालेबाट मेयरको उम्मेदवार बनेकी मोहनमाया ढकालले ०७४ मा उपप्रमुख पदमा १६ हजार ६८ मतका साथ जित हासिल गरेकी थिइन् ।

उनले मेयरमा निर्वाचित काँग्रेस उम्मेदवारभन्दा बढी मतका साथ उपमेयरमा जित हासिल गरेकी थिइन् । जसले गर्दा नगरवासीमा उनको व्यक्तित्वको प्रभाव बढी रहेको सहजै बुझ्न सकिन्छ ।

०७४ मा नेपाली काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको वीरेन्द्रनगरमा यो पटक पनि काँग्रेस–एमालेबीच नै प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

०७४ सालको निर्वाचन परिणामको तुलनामा अहिले एमाले विभाजन भइसकेको र नेपाली काँग्रेसभित्र समेत गुटबन्दी चर्किएको परिस्थितिले आसन्न निर्वाचनमा दलहरुको मतमा अस्वाभाविक फेरबदल भएमा पनि आश्चर्य मानिरहनु नपर्ने स्थानीय अगुवा राजनीतिक कार्यकर्ता बताउँछन् ।

वीरेन्द्रनगरको मेयरमा काँग्रेसले संस्थापन पक्षका उपेन्द्र खड्कालाई उम्मेदवार बनाएकोमा इत्तर पक्ष सन्तुष्ट देखिएको छैन । जिल्लामा काँग्रेसका नेताद्वय पुर्णबहादुर खड्का र हृदयरामी थानी गरी दुई पक्षमा काँग्रेस विभाजित छ । यसअघि नै थानी पक्षले उम्मेदवारीमा ४० प्रतिशत हिस्सा माग गरेको थियो ।

अर्कोतिर एमालेकै निकट मानिने सुर्खेतका व्यवसायी चिन्तामणि शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीका कारण एमालेको केही भोट काटिने आकलन गरिएको छ । अर्कोतिर एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि २०७४ सालमा एमालेको पक्षमा खसेको मतको केही हिस्सा काट्ने निश्चित छ । यस्तो अवस्थामा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा कसले बाजी मार्छ भनेर अहिले नै अनुमान गर्न कठिन देखिन्छ ।

०७४ मा वीरेन्द्रनगर नगरपालिकामा ५० हजार ६३७ मतदाता थिए । अहिले यहाँ ६७ हजार ५७ मतदाता छन् । अहिले थपिएका १६ हजार ४२० मतदाताले कसलाई रोज्छन् भन्ने विषयले पनि चुनावी नतिजा निर्धारण गर्न सक्ने देखिन्छ ।

यी हुन् मेयरका उम्मेदवार

नेपाली काँग्रेस : उपेन्द्र खड्का

एमाले : मोहनमाया ढकाल

माओवादी : राजेन्द्र गिरी

एकीकृत समाजवादी : धनकुमारी शाही

राप्रपा : मुकुन्दश्याम गिरी

जनता समाजवादी पार्टी : गगन ब‍‍. सारु

राष्ट्रिय जनमोर्चा : विष्णुप्रसाद शर्मा

नेमकिपा : गोविन्दनाथ योगी

राष्ट्रिय नागरिक पार्टी : टीकाराम रेग्मी

नेपाल दलित पार्टी : निलकन्ठ भुसाल

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल : टंकप्रसाद रेग्मी

नेपाल परिवार दल : दिनेश प्रसाद काफ्ले

स्वतन्त्र : फस्ट बहादुर हमाल

स्वतन्त्र : चिन्तामणि शर्मा

स्वतन्त्र : भिमप्रसाद शर्मा

स्वतन्त्र : सिद्धबहादुर खड्का

स्वतन्त्र : उमा नन्द पङ्गाली

हट सीट रहेको वीरेन्द्रनगरको मेयरमा कसले मार्ला बाजी  ? (मेयरका उमेदवारहरुकाे नामावली)

YUGAAWHAN NATIONAL DAILY (2079-01-13)

हट सीट रहेको वीरेन्द्रनगरको मेयरमा कसले मार्ला बाजी  ? (मेयरका उमेदवारहरुकाे नामावली)

कालीकोटका नौवटै पालिकामा विप्लव नेकपाको उम्मेदवारी

Leave a comment

Your email address will not be published. Required fields are marked *