सिकारी कुकुर हिरासतमा : इमान्दार छ, मिलनसार स्वभावको

पुनम वि.सी.
सुर्खेत, ५ असार
डिभिजन वन कार्यालय मुगुमा कार्यरत वनरक्षक टेकबहादुर रोकायलाई आजभोली कार्यालयले नयाँ काम थपिदिएको छ, त्यो हो कुकुरको हेरविचार ।
प्रत्येक दिन कुकुरका लागि खाना व्यवस्थापनको जिम्मा रोकायको छ । आवश्यक समयमा औषधी उपचारको प्रवन्धका लागि पनि रोकायलाई नै खटाइएको छ ।
कालो–खैरो रंग मिसिएको सो कुकुरका लागि उनी हरेक दिन मासु–भातको व्यवस्था गर्छन् । दैनिक ३–४ पटक कुकुरलाई कार्यालय परिसरमा डुलाउछन् । कुकुर पनि दिनभरी डिभिजन वन कार्यालय परिसर डुली बस्छ । वनरक्षक रोकायलाई कुकुरको नाम थाह छैन ।
उनी कहिले काले त कहिले खैरे भनि कुकुरलाई बोलाउँछन् । उनले भने, ‘मलाई यसको नाम त थाह छैन, यसले बोलाएको सुने भईहाल्छ ।’
कुकुर इमान्दार छ । मिलनसार स्वभावको । त्यसैलेपनि वनरक्षक रोकायलाई यसको पालन पोषणका लागि सजिलो भएको छ ।
उमेरले पनि कुकुर बुढो देखिन्छ । अगाडीको एउटा दाँत झरेको छ । चोरी सिकारी आरोपमा पक्राउ परेको यो कुकुर अहिले डिभिजन वन कार्यालय मुगु परिसरमा समय बिताइरहेको हो । वन मुद्वाको घटनासँग जोडिएपछि यो कुकुरलाई डिभिजन वन कार्यालय मुगुले संरक्षण गरिरहेको हो ।

तस्विरः डिभिजन वन कार्यालय मुगुमा रहेको कुकुर । तस्विरः डिभिजन वन कार्यालय, गुगु
यस्तो थियो घटना
१४ चैत २०७८ मा मुगुको कार्मारोङ गाउँपालिका–१ चितैका च्याम्पा तामाङ, दावाछोर्देन तामाङ, टासी तामाङ र छिमेक तामाङलाई प्रहरीले नियन्त्रणमा लियो ।
चोरी सिकारी मुद्वामा यि चार जना पक्राउ परेका हुन् । उनीहरुको साथमा हाल डिभिजन वन कार्यालयमा रहेको यो कुकुर पनिसँगै आएको हो ।
गत जेठ १२ मा जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन ७० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । टाँसी र छिमेक भने साधारण तारेखमा छुटिसकेका छन् । कुकुर चाहिँ दावा छोर्देन तामाङको हो ।
वन कार्यालयले चलाएको मुद्दामा यी चार जना मात्र प्रतिवादी थिए । मुद्वामा कुकुरलाई प्रतिवादी बनाइएको थिएन । प्रहरीले कुकुर पनि समातेर ल्याएपछि कुकुरलाई वन कार्यालय परिसरमै राखिएको हो ।
कुकुर प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेन । अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्यालयले कुकुर हाल कार्यालयमै संरक्षण गरी राखेको हो ।

मुद्वामा प्रतिवादी छैन कुकुर
यता मगुको जिल्ला अदालतले समेत डिभिजन वन कार्यालय मुगुले दायर गरेको मुद्वामा घटनास्थलबाट बरामद भएको कुकुरका हकमा मुद्वामा कुनै दावि नगरेको जनाएको छ ।
जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले भने, ‘उक्त मुद्वामा सरकारी वकिल कार्यालयबाट घटनास्थलबाट वरामद भएको कुकुरले उक्त घोरल मारेको भन्ने नदेखिएकोले कानुनि प्रक्रिया पुरा गरी वरामद गरिएको कुकुर सम्वन्धित पक्षलाई जिम्मा दिने निर्णय गरिएको हो ।’
कुकुरका सम्वन्धमा कुनै दावि पनि नभएको तथा कुकुरको विषय अनुसन्धान तथा अभियोजन गर्ने निकायबाट नै आवश्यक निर्णय गरी बाँकी कुराको लागि मात्र अदालतमा मुद्वा पेश भएको अवस्थामा कुकुरको सम्वन्धमा भने अदालतले कुने आदेश गर्न सक्ने अवस्था नरहेको आचार्य बताउछन् ।
उनले भने, ‘यसरी अदालतले गर्न नसक्ने र अन्य निकायले नै निप्टाउ गरी सकेको विषयमा अदालतले आदेश गरेको कारण कुकुर थुनामा रहेको भन्नु गलत हो ।’ ‘कुकुर थुनामा रहेको’ भन्दै न्यायपालिकाका काम कारवाहीका बारेमा भ्रम सिर्जना हुनेगरी टिकाटिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्ने उनी बताउँछन् ।
कुनै पनि कुकुरले घोरल र मृग जस्ता जनावरको सिकार ग¥यो भने त्यस्तो कुकुरलाई त नियन्त्रणमा लिइन्छ नै । यस घटनामा पनि घोरल सिकार गर्ने क्रममा कुकुर र मानिसलाई समातियो ।
मानिसको हकमा अदालतले अनुसन्धान गरिरहेको छ । राष्ट्रिय निकुञ्ज ऐनको दफा २८ अनुसार ‘सिकारी कुकुरलाई मुद्दा हेर्ने अधिकारीको निर्देशन अनुसार मार्नुपर्ने छ’ भनिएको छ ।
मालिकको जिम्मा लगाउने तयारी
डिभिजन वन कार्यालय मुगुले उक्त कुकुरको मालिकसँग सम्पर्कका लागि खबर पठाएको छ । अदालतबाट धरौटीमा रिहा भएपछि उनीहरु सम्पर्कमा आएका छैनन् ।
कुकुरका मालिक भनिने दावा छोर्देन तामाङलाई कार्यालयले खबर पठाएको डिभिजन वन कार्यालय मुगुका अधिकृत दुर्गाबहादुर कार्की बताउँछन् ।
उनले भने, ‘कुकुरलाई हिरासतमा राखिएको होइन । घोरल मार्ने क्रममा पक्राउ परेका चार जना सहित यो कुकुर पनि आएको थियो । तर उक्त घटनामा यो कुकुर बरामत भएपनि चोरी सिकारीमा यसको संलग्नता रहेको भन्ने छैन । त्यसैले अदालतमा कुकुलाई मुद्वामा समावेश नगरिएको हो । कुकुरलाई प्रतिवादी बनाइएन ।’
‘तर घटनामा वरामद भएको हुँदा कुकुर संरक्षणको जिम्मेवारी पनि छ नि । त्यसैले यहीँ कार्यालयमा संरक्षण गरेर राखिएको हो । यसलाई समयमा खाना पानी सबै दिइएको छ । औषधी उपचारको पनि ख्याल गरिएको छ’, उनले भने, ‘कानुनी रुपमा यो कुकुरलाई यसको मालिकको जिम्मा नलगाएसम्म कसरी छोड्न सकिन्छ ?
यो कसैले हेरविचार गरी हुर्काएको हो । पालन गरेको हो । यो उसैको सम्पत्ति हो । उनीहरु लिन नआएसम्म बरामद भएको सम्पत्तिको सुरक्षाको पनि जिम्मेवारी रहन्छ नि । त्यसैले यहाँ कार्यालयमा यसको संरक्षण गरिएको भने हो ।’
जसकारण डिभिजन वन कार्यालय, मुगुले कुकुरको संरक्षण गरी राखेको उनी बताउँछन् । त्यसैगरी कुकुरका मालिकलाई समेत खबर गरिएको उनी बताउँछन् ।
आरोपीहरु अदालतबाट धरौटीमा रिहा भएका छन् । दुर्गम स्थान भएकाले पनि उनीहरुलाई कार्यालयमा सम्पर्क राख्न समय लाग्न सक्ने कार्की बताउँछन् ।
कुकुर लिन बोलाउँदा समेत उनीहरु नआएको कार्कीले बताए । उनले भने, ‘उनीहरुलाई चोरी सिकारीको मुद्वा परिरहेको छ । यो अवस्थामा कुकुर संलग्न बोलाउँदा समेत उनीहरु डराएका पो हुन् कि ?
हाम्रो कार्यालयले अहिले उनीहरुलाई बोलोएरै कुकुरको जिम्मा लगाउने तयारी गरिरहेको छ ।’ डिभिजन वन कार्यालयले केहि दिन भित्रमा कुकुरलाई सकुशल मालिकको जिम्मा लगाउने तयारी गरेको कार्कीले बताए ।






