करारमा रोजगारी गर्दै आइरहेका कर्मचारी र प्रहरीबीच झडप

देलेख,३१ असार ।
दैलेखको गुराँस गाउँपालिकामा करारमा रोजगारी गर्दै आइरहेका कर्मचारी र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार गुराँस गाउँपालिकाको स्वागत गेट आन्दोलनकारीले भत्काएका छन् भने कार्यालयमा ढुङ्गामुढासमेत गरेका छन् ।
६०० भन्दा बढि आन्दोलनकारीसँगको झडपमा प्रहरीले गोलीसमेत चलाएको छ । प्रहरीले सर्ट गनबाट गोली चलाएको हो भने सशस्त्र प्रहरीले दुई राउण्ड गोली चलाएको बताइएको छ । ‘नेपाली कांग्रेसबाट अघिल्लो चुनावमा नियुक्त भएका कर्मचारीलाई नगरपालिकाले हटाउने आन्तरिक तयारी गरेको थियो । उक्त कदमका विरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएका हुन्,’ जिल्ला प्रहरी कार्यालय स्रोत भन्छ, ‘पालिकाले दशैंसम्म कर्मचारी हटाउने भने पनि कांग्रेसका केही नेताहरुले विवाद उछाल्न खोजेका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहका अनुसार हालसम्म पाँच जना प्रहरी र दुईजना शसस्त्र प्रहरी घाईते भएका छन् । स्थानीय पनि घाइते भएको तर पुरा विवरण भने नआइसकेको उनको भनाई छ ।
घाईतेको उपचार गर्न अहिले प्रदेश अस्पताल ल्याइएको छ । हालै भएको स्थानीय चुनावमा गुराँस गाउँपालिकामा एमाले विजयी बनेको छ । एमाले नेतृत्वको सरकारले पुराना कर्मचारीलाई हटाउने भन्दै केही दिनअघि सूचना जारी गरेको थियो ।
स्रोत : नेपाल प्रेस






