आचारसंहिता उल्लंघन ‘छिटपुट’ मात्र

सिर्जना बुढाथोकी
सुर्खेत, २७ कार्तिक ।
आसन्न मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । जिल्लाभरका १ सय ३९ मतदानस्थलका २ सय ९३ मतदान केन्द्रका लागि चाहिने निर्वाचन सामाग्री र मतदान अधिकृतसहितका कर्मचारी खटाउने तयारी अन्तिम चरणमा रहेको छ ।
निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको टुंगो लगाई अब दुई दिनभित्रमा तालिम गराउने तयारी भैरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्तिक ३० र मंसिर १ गतेभित्र सबै मतदान अधिकृत र सहायक मतदान अधिकृत २ सय ९३ मतदानस्थलमध्ये आफ्नो आफ्नो तोकिएको मतदान स्थलमा पुग्ने निर्वाचन कार्यालय प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि आ–आफनो सुरक्षा योजना अनुसार दुबै निर्वाचन क्षेत्रमा बेश बनाइ ‘मुभिलाइज्ड’ भइसकेको उनले बताए । ‘पूर्वको मेहेलकुना र पश्चिमको बाबियाचौरमा बेश बनाएर सुरक्षाकर्मी बसीसकेको अवस्था छ ।’ उनले भने ‘मतदान अधिकृतसंग जाने टिम भने बाँकी भएकाले उहाँहरु मतपेटिका र मतपत्र सबै लिएर संगै जानुहुन्छ । ’

निर्वाचन क्षेत्र नं. १ को मेहेलकुना बेश रहेर मेहलकुनामा रहेको निर्वाचन कार्यालयमा मतपत्र राखेर त्यहिबाट मतगणना र मतपरिणाम घोषणा गरिने र क्षेत्र नं २ को वीरेन्द्रनगरमा हुने निर्वाचन प्रमुख चालिसेले बताए । क्षेत्र नं. १ को सिम्ता र चिंगाड गाउँपालिका, गुर्भाकोट, भेरीगंगा र लेकबेशी नगरपालिका र वीरेन्द्रनगरका वडा नं. १५ र १६ प्रदेश निर्वाचनतर्फ क्षेत्र नं. १ मै कायम भएकाले मेहेलकुनाबाटै मतपरिणाम घोषणा हुने जनाइएको छ । यसअघि निर्वाचन क्षेत्र ३ वटा र त्यसपछि २०७४ मा दुई वटा हुँदा मतगणना र घोषणा वीरेन्द्रनगरमै हुँदै आएको थियो ।
सुर्खेतमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेका छन् भने १ सय ३९ मतदानस्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन क्षेत्र नं १ मा ७२ मतदानस्थल र १ सय ४४ मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र कायम गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ (क) मा ३१ मतदानस्थल र ६४ मतदान केन्द्र तोकिएको छ भने (ख) मा ४१ मतदानस्थल र ८० मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं २ (क) मा २४ मतदानस्थल र ७३ मतदान केन्द्र तोकिएको छ भने (ख) मा ४२ मतदानस्थल र ७६ मतदान केन्द्र कायम गरिएको छ ।
तीमध्ये जिल्ला सुरक्षा समितिले सुर्खेतका २० वटा मतदानस्थललाई अति सम्वेदनशील सूचिमा राखी सोहि अनुसारको सुरक्षा रणनीति बनाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विष्टले सुरक्षा सम्वेदनशीलताका आधरमा जिल्लाभरीमा ५ हजार सुरक्षा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिंदै एक मतदानमा कति प्रहरी र कति म्यादी खटाउने भन्ने विषय हेडक्वार्टरको सर्कुलर अनुसार हुने बताए ।
२ हजारभन्दा बढी कर्मचारी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि सुर्खेतमा दुई हजार ३ सय ४४ कर्मचारी खटिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी कुमार ज्ञवालीले आवश्यकता अनुसार थप कर्मचारी र स्वयम् सेवक खटाइने बताए ।
पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी, पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी र प्रत्येक मदतान केन्द्रमा एक–एक कार्यालय सहयोगी खटिने ज्ञवालीले जानकारी दिए । उनले मतदानस्थल र मतदान केन्द्रमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी खटाइने जानकारी दिए ।
आचारसंहिता उल्लंघन ‘छिटपुट’
देशभरका विभिन्न निर्वाचन क्षेत्रमा आचारसंहिता उल्लंघनका थुप्रै उजुरी पर्ने र सोहि अनुसार आयोगले स्पष्टिकरण सोध्ने क्रम बढिरहेपनि सुर्खेतमा भने अहिलेसम्म मौखिकरुपमा ‘छिटपुट’ गुनासो मात्र आएको बताइएको छ । सामान्यभन्दा पनि सामान्य आचारसंहिता उल्लंघनका घटना भए तुरुन्तै सम्झाई बुझाई गर्ने गरिएकोले पनि ठूला र गम्भीर उल्लंघनका घटना हुन नपाएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । ‘जिल्ला न्यायाधीशको टोली नै लिएर जिल्लाको पूर्वी र पश्चिम भेगमा अनुगमन गरेका छौं ।’
उनले भने, ‘कहिकतै सामान्य निर्वाचन आचारसंहिता उल्लंघनका क्रियाकलाप देखेपछि सम्झाएकापनि छौ ।’ गम्भीरखालका आचारसंहिता उल्लंघनबारे अहिलेसम्म लिखित् रुपमा कुनैपनि उजुरी नआएको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले कहिलेकाहिं कसैले सामान्यखालका मौखिक उजुरी भने दिने गरेको उल्लेख गरे ।
आचारसंहित उल्लंघन गरेको प्रमाणसहित सामाजिक सञ्जालहरुमा आएको र नजर परेको खण्डमा त्यसलाई आधिकारिक मान्ने बताउँदै उनले फोनमार्फत जानकारी आएपनि कारवाही शुरु गरिने बताए । यता, निर्वाचन आचारसंहिता २०७९ का अनुगमन अधिकृत गो पीचन्द्र भण्डारीलेपनि अहिलेसम्म लिखित उजुरी र प्रमाणसहितको मौखिक उजुरी नआएको जानकारी दिए । ‘एउटा पार्टीले अर्कोलाई आरोप प्रत्यारोप गर्नेजस्ता सामान्य मौ खिक उजुरीमात्रै परेको छ ।’
उनले भने ‘कोणसभामा बाहेक कुनैपनि माइकिङ गरेर प्रचारप्रसार गर्न नपाईने भएपनि माइकिंग बारेकै गुनासो बढि आएको छ ।’ लिखित उजुरीभन्दा नि मौखि गुनासा आएपछि सम्बन्धित उम्मेदवारलाई फोनमार्फत सम्झाई बुझाई गरेको बताउँदै उनले भने, ‘शीर्ष नेता र उम्मेद्वारहरुले आइन्दा यस्ता घटना हुन नदिने भनेर प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।’





