गर्भ जाँच गर्न मोबाइलबाट कल गर्ने व्यवस्था

हुम्ला, २६ मंसिर  ।

गर्भवती महिलाको गर्भ जाँच गर्न स्वास्थ्य चौकीहरूले मोबाइलबाट कल गर्ने व्यवस्था गरिएको छ । सबै चरणका गर्भ जाँच गर्न गर्भवती महिला नछुटुन भन्नका लागि स्वास्थ्य चौकीले सो व्यवस्था गरेका हुन ।

खार्पुनाथ गाउँपालिका–५ को खर्पेलगाउँ स्वास्थ्य चौकीका इन्चार्ज हरिभक्त शाहीले वडा भित्रका सबै गर्भवती महिलाहरू आफ्नो गर्भ जाँच गर्ने कार्यबाट नछुटुन भन्नका लागि स्वास्थ्य चौकीले गर्भ जाँच कार्डको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीले मोबाइलबाट कल गर्ने व्यवस्था गरिएको बताए ।

गर्भ जाँच कार्डहरू दुई तयार गरिएको छ । उनले एउटा कार्यालयमा र अर्को स्वयम गर्भवती महिलालाई दिइएको बताए । एक जना गर्भवती महिलाले गर्भ बसेदेखि सुत्केरी नहुँदासम्म आठ पटक स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउनु पर्छ । उनले महिलाले गर्भ रहेको सोह्रौँ हप्ताबाट गर्भ जाँच गर्न सुरु गरेर बिसौँ, चौबीसौं, अठ्ठाईसौ, बत्तीसौ, चौतीसौ, छत्तीसौ र अठ्तीसौ हप्तासम्म पटक पटक गरी आठ पटक गर्भ जाँच गराउनु पर्ने बताए ।

स्वास्थ्य चौकीले हरेक पटक गर्भ जाँच गर्ने प्रत्येक गर्भवती महिलाको नाम सहितको तालिका बनाएर कार्यालयमा टाँस्ने कार्य गरेको छ । उक्त चार्टमा महिलाको गर्भ जाँच कुन पटकको गर्ने हो, उक्त तालिकामा गर्भ जाँच कार्ड राख्ने गरिएको छ । उक्त कार्डमा गर्भ जाँच गर्ने मिति समेत उल्लेख गरिएको छ ।

उनले गर्भवती महिलाले गर्भ जाँच गर्ने समय बिर्से स्वास्थ्य चौकीबाटै कल गरेर खबर गर्ने गरिएको बताउनुभयो । उहाँले आफ्नो स्वास्थ्य चौकी अन्तर्गत पर्ने बस्तीमा हालसम्म सात जना महिलाहरू गर्भवती भएको र प्रत्येकको लागि गर्भ जाँच तालिका बनाएर स्वास्थ्य चौकीमा राखिएको बताउँदै यसले गर्दा गर्भ जाँच गर्न सहज भएको बताए  ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले गर्भ जाँच कार्य सहज र नियमित गराउनका लागि स्वास्थ्य चौकीबाट गर्भ जाँच तालिका तयार र गर्भ जाँच कार्डको व्यवस्था गाउँपालिकाका चार वटै स्वास्थ्य चौकीहरूमा गरिएको बताए  ।

उनले यसबाट गर्भवती महिला र स्वास्थ्यकर्मीलाई समेत सजिलो भएको बताउँदै केही गरी गर्भवती महिलाले जाँच गर्ने समय बिर्से स्वास्थ्य चौकीबाटै खबर गर्ने व्यवस्थाले कोही पनि गर्भवती गर्भ जाँच कार्यबाट नछुट्ने विश्वास व्यक्त गरे  ।

यसअघि गर्भ जाँच कार्ड मात्र महिलालाई दिने गरिदा धेरै गर्भवती महिलाहरू नियमित जाँच गर्नबाट छुटेको बताउँदै अब भने कोही पनि महिला नछुट्ने बताए । यो व्यवस्था गाउँपालिका केन्द्रमा रहेको सामुदायिक अस्पतालमा समेत गरिएको छ । खार्पुनाथ गाउँपालिकामा चालीस जना गर्भवती महिलाहरू हालसम्म रहेका छन्  ।

गर्भ जाँच गर्न मोबाइलबाट कल गर्ने व्यवस्था

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

गर्भ जाँच गर्न मोबाइलबाट कल गर्ने व्यवस्था

धारिलो हतियार प्रहारबाट धनुषामा महिलाको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *