प्रदेश अस्पताल : एमआरआई खरिदमा अनियमितता भएको आशंकामा लेखा समितिको छानबिन

सुर्खेत, १८ असार ।
कर्णाली प्रदेश अस्पतालले एमआरआई खरिदमा अनियमितता भएको आशंका गर्दै प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । सिभिल सर्भिस अस्पताल काठमाडौंले २२ करोडमा खरिद गरेको एमआरआई उपकरण प्रदेश अस्पतालले २९ करोडमा किन्न लागेको पाइएको भन्दै लेखा समितिले छानबिन थालेको हो ।

युगआव्हान राष्ट्रिय दैनिक लगायत विभिन्न सञ्चार माध्यमहरुबाट अनियमितताको आशंका भएको समाचार प्रकाशित भएपछि लेखा समितिले आवश्यक कागजात अध्यययन, अनुसन्धान तथा विज्ञसंग परामर्श सुरु गरेको छ ।

एउटै गुणस्तर र कम्पनीको एमआरआई उपकरण खरिदमा ७ करोड रुपैयाँ फरक परेपछि अनियमितता भएको हुन सक्ने समितिका अध्यक्ष करवीर शाहीले बताए । ‘दुई सरकारी अस्पतालमा एउटै कम्पनीबाट खरिद गरिएका, एकै क्षमताका एमआरआई मेसिनमा ठुलो रकम फरक परेको पाइएको छ ।

हामीले अस्पतालसँग कागजनात मागेर प्राविधिक टिमसहित छानबिन थालेका छौं,’ अध्यक्ष शाहीले भने । उनका अनुसार सार्वजनिक लेखा समितिले उपकरण खरिदका सम्बन्धनमा जानकारी गराउन ३ दिनको समय दिएको थियो ।

निर्देशन अनुसार अस्पतालले शुक्रबार समितिलाई खरिद प्रक्रियाका आवश्यक कागजात उपलब्ध गराएको छ । ‘शुक्रबार दिउँसो मात्रै हामीले कागजात प्राप्त गरेका छौं,’ शाही भने, ‘ प्राविधिक टोलीसहित छानबिन पनि सुरु गरेका छौं ।’ सामान एउटै, बेच्ने पनि एउटै, तर मूल्य ७ करोड फरक कर्णाली प्रदेश अस्पताल सुर्खेत र सिभिल अस्पताल काठमाडौंले खरिद गर्ने निर्णय गरेका एमआरआई मेसिन एउटै कम्पनी र एउटै क्षमताका हुन् ।

यी दुवै अस्पतालले थ्री टेस्ला क्षमता भएको एमआरआई खरिदका लागि बोलपत्र स्वीकृत गरी प्रक्रिया अगाडि बढाएका छन् । तर सिभिल अस्पताल भन्दा कर्णाली प्रदेश अस्पतालले खरिद गर्न लागेको उपकरणमा ७ करोड रुपैयाँ महँगो परेको छ । दुवैले ईष्ट वेस्ट कन्सर्न प्रालिमार्फत मेसिन खरिद गर्न लागेका हुन् ।

सिभिल अस्पतालले १७ लाख २२ हजार ९०० डलर अर्थात २२ करोड ७४ लाख २२ हजार ८०० नेपाली रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ । प्रदेश अस्पतालले भने २९ करोड ७१ लाख ६६ हजार ७९२ रुपैयाँमा खरिद गर्न कन्सर्नलाई जिम्मा दिएको छ ।

दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरु समान छन् । दुवै अस्पतालले साना र ठूला गरी ३०० भन्दा बढी बुँदामा स्पेसिफिकेसन बनाएका छन् । सिभिलले २५ वटा मुख्य विषयमा र प्रादेशिक अस्पतालले ३० वटा मुख्य विषयमा बुँदागत रुपमा स्पेसिफिकेसन बनाएका छन् । जसमा अधिकांश बुँदाहरु एक अर्कामा मेल खान्छन् ।

सिभिलको भन्दा ‘हाई क्वालिटी’ को मेसिन हो : निर्देशक खड्का
यता प्रदेश अस्पतालले भने अहिलेसम्मकै ‘हाई क्वालिटी’को एमआरआई मेसिन खरिद गर्न लागेको दाबी गरेको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्का अस्पतालले खरिद गर्न लागेको मेसिन अहिलेसम्म नेपालमा नआएको बताउँछन् । उनले भने, ‘बजेट भएकाले बेस्ट क्वालिटीको मेसिन ल्याउँ भनेर हामी लागेका हौँ । यहाँ ठेकेदारहरु आएका थिए ।

त्यसमा सबैभन्दा बेष्ट खालको मेसिन बनेको छ भनेका कारण हामीले ल्याउन खोजेका हौं । कसलाई के चित्त बुझेन, एउटालाई टेन्डर पर्दा अर्कोले कम्प्लेन गर्छन् । हामीले ल्याउन लागेको मेसिन सिभिलको भन्दा पनि हाई क्वालिटीको हो ।’

खड्काले सिभिलको ६२ र प्रदेश अस्पतालले खरिद गर्न लागेको एमआरआई ६४ च्यानलको भएको बताए । ‘सिभिलको र हाम्रोमा त क्वालिटी नै फरक प¥यो,’ उनले भने, ‘यस्तो खालको मेसिन त थुप्रै ठाउँमा होला तर, हाई क्वालिटीको मेसिन हामीले ल्याउन लागेको हो ।’

के हो एमआरआई ?
एमआरआई सिटी स्क्यानबाट पत्ता नलागेको वा द्विविधामा परेको रोग पत्ता लगाउन प्रयोग गर्ने गरिन्छ । यो मेसिनले चुम्बकको प्रयोगद्वारा शरीरका अङ्गहरुको विस्तृत अध्ययन गर्न सकिन्छ । यसमा चुम्बकीय माध्यमबाट मानव शरीरमा रेडियो तरङ्ग प्रशारण गरेर शरीरका अङ्ग तथा शारीरिक प्रक्रियाको अध्ययन गर्न सकिन्छ ।

यसमा एक्स रे, सिटी स्क्यानमा जस्तो विकिरणको प्रयोग नहुने विशेषता हुन्छ । एमआरआईको शक्ति टेस्लामा मापन गरिन्छ । त्यो नेको एमआरआईमा प्रयोग हुने चुम्बकको शक्ति हो । जति बढी चुम्बकको शक्ति भयो, उतिनै शरीरका अङ्गहरुको स्पष्ट तस्वीर प्राप्त गर्न सकिन्छ भने रोग पहिचानमा पनि सहज हुन्छ ।

प्रदेश अस्पताल : एमआरआई खरिदमा अनियमितता भएको आशंकामा लेखा समितिको छानबिन

भेटियो चुनढुङ्गाको खानी

प्रदेश अस्पताल : एमआरआई खरिदमा अनियमितता भएको आशंकामा लेखा समितिको छानबिन

अन्तरिक्ष यात्री बन्दै दाङकी ज्योति

Leave a comment

Your email address will not be published. Required fields are marked *