समाजमा खुल्न थाले एचआईभी संक्रमित, बढ्दै आत्मवल, लम्बिदै आय


सुर्खेत, १८ माघ ।
केही समय अघिसम्म एचआईभी संक्रमितहरु खुल्थेनन् । समाज र परिवारले पनि जानकारी नपाओस् भन्ने उनीहरुको चाहना हुन्थ्यो । किनकी संक्रमितहरु खुलेर समुदायमा बस्न सक्ने अवस्था थिएन । खुल्नेहरु पनि घरपरिवार र समुदायबाटै तिरस्कृत हुन्थे । संक्रमितलाई समाज र आफन्तले नै दुव्र्यवहार गर्दथे । यही कारण संक्रमितहरु खुल्न चाहदैन्थे । समुदायलाई मात्रै होइन, परिवार भित्र पनि संक्रमण लुकाएर बस्थे ।
समुदायले नै एचआईभीलाई महामारीका रुपमा बुझेको थियो ।
असुरक्षित यौन सम्पर्क र व्यवहारबाट मात्रै एचआईभी सर्दछ भन्ने चेतना आमनागरिकमा थिएन । तर अहिले समय बदलिएको छ । नागरिकको चेतनास्तर पनि बढेको छ । शिक्षित बर्गले संक्रमितलाई अपहेलना होइन, माया गर्नुपर्छ भन्ने बुझेका छन् । सरकारी तथा गैरसरकारी निकायले पनि संक्रमितको आत्मवल बढाउन विभिन्न कार्यक्रमहरु ल्याएका छन् ।
संक्रमितले रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि एआरभी निःशुल्क रुपमा बाँढ्दै आएको छ । एचआईभी संक्रमितले भाइरसको प्रभाव कम गर्न दैनिक रुपमा एआरभी औषधि सेवन गर्नुपर्छ । औषधि छुटे भाइरसको प्रभाव बढेर संक्रमितको स्वास्थ्यमा असर गर्ने चिकित्सकहरु बताउँछन् । सरकारले संक्रमितहरुलाई उक्त औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको सहयोगमा देशभरका स्वास्थ्य चौकीमा औषधि पुगेको छ । ७७ जिल्लामा ८० वटा एआरटी सेन्टर रहेका छन् । ती सेन्टरबाट अहिले करिब १८ हजार पाँचसय एचआईभी संक्रमितले एआरभी औषधि खाइरहेको छन् । नेपालमा ३२ हजार सातसय ३५ जना एचआईभी एड्स संक्रमित रहेको अनुमान गरिएको छ । जसमा पुरुष २० हजार दुईसय ९४ र महिला १२ हजार पाँचसय ६१ जना रहेका छन् । त्यस्तै एक हजार एक सय ९१ जना बालबालिका रहेका छन् । नेपालमा दैनिक दुई जना नयाँ एचआईभी संक्रमित थपिने गरेको केन्द्रको तथ्यांक रहेको छ ।
त्यस्तै करिब एक हजार पाँचसय जनाको एचआईभी र एड्सको कारण ज्यान गुमाउने गरेका छन् । एचआईभी एड्सकै कारण वर्षमा ३३ जनाको ज्यान जाने गरेको केन्द्रको तथ्यांक रहेको छ । हालसम्म झण्डै ९० प्रतिशत संक्रमितको पहिचान भइसकेको छ । ९० प्रतिशतलाई एआरटीको पहुँचमा ल्याउने र ९० प्रतिशतलाई एआरटीमा टिकाइ राख्ने लक्ष्य लिएको छ ।
एआरटीले लम्बिदै आय
एन्टी रेट्रोल भाइरल थेरापी अर्थात (एआरटी) एचआईभी संक्रमितका लागि रोगप्रतिरोधी क्षमता बढाउने महत्वपूर्ण उपचार पद्धती हो । एचआईभी संक्रमितका लागि सरकारले यो उपचार पद्धती निःशुल्क गरेको छ । यही उपचार पद्धती नियमित रुपमा अपनाउनेले आफ्नो आयु बढाएका छन् । तर नियमित रुपमा औषधि सेवन नगरेर बिचमै छोड्ने र खुल्न नचाहने संक्रमितको भने अकालमै मृत्यु हुने गरेको सरोकारवालाहरुको भनाइ छ । बिचमै औषधि छोड्दा र खुल्न नचाहदा संक्रमितको मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशभर ६ सय संक्रमित
कर्णाली प्रदेशभर हालसम्म ६ सय एकजना संक्रमित खुलेका छन् । जसमध्ये सुर्खेतमा मात्रै आधा अर्थात तीनसय चार जना संक्रमित खुलेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार दैलेखमा एकसय ९२ जना संक्रमित खुलेका छन् । त्यस्तै कालिकोटमा ३७ जना, रुकुपश्चिममा ४८ जना र सल्यानमा १९ जना एचआईभी संक्रमित खुलेका निर्देशनालयका कुष्ठरोग अधिकृत पदम केसीले जानकारी दिए ।
त्यस्तै कर्णाली प्रदेशका अन्य जिल्लामा भने संक्रमितहरु खुलिसकेका छैनन् । जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला र मुगुमा एकजना पनि संक्रमित नखुलेका हुन् । अन्य जिल्लाहरुमा लगत संकलन नभएका कारण संक्रमितको खुल्न नसकेका हुन् । औषधि प्रयोग गरेर आयु लम्ब्याउन सक्ने भएपछि एचआईभी पनि पछिल्लो समय सामान्य रोग जस्तै बनेको छ ।
पञ्चपुरीमा मात्रै ८० संक्रमित
सुर्खेतको पश्चिम क्षेत्रमा एचआईभी संक्रमितको संख्या धेरै छ । यहाँका अधिकांश नागरिक रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा जाने र त्यहीबाट संक्रमित भएर आउने गरेका हुन् । तथ्याङ्कअनुसार सुर्खेतको पञ्चपुरी नगरपालिकामा मात्रै ८० जना एचआईभी संक्रमित खुलेका छन् । संक्रमितको संख्या धेरै भए पनि हालसम्म ८० जना मात्रै संक्रमितको पहिचान भएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये वडा नं. १० मा सबैभन्दा बढी अर्थात २० जना संक्रमित छन् ।
तथ्याङ्क अनुसार वडा नं. २ मा ६ जना, ३ मा पाँच जना, ४ मा नौ जना र वडा नम्बर ५ मा तीन जना संक्रमितको पहिचान भएको छ । त्यस्तै वडा नं. ६ र ८ मा १६÷१६ जना, वडा नं. ९ मा एकजना र वडा नं. ११ मा चार जना संक्रमित छन् । तर वडा नं. १ र ७ मा भने संक्रमितको संख्या शुन्य छ ।
आयआर्जनमा सहयोग
एचआईभी संक्रमितहरु खुल्नेक्रम बढ्न थालेपछि सुर्खेतको पञ्चपुरी नगरपालिकाले उनीहरुको जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले संक्रमितको जीवन निर्वाहलाई सहज बनाउनका लागि कुखुरापालन, बाख्रापालन, बेमौसमी तरकारी खेती जस्ता कार्यक्रम सुरु गरेको छ । संक्रमितका छोराछोरीको लालनपालनका लागि लागि सहयोगी निकायलाई अनुरोध गर्ने र औषधि लिन जाँदा यातायात खर्च पनि दिन थालेको छ । ‘पहिले औषधि लिन धनगढी जानुपथ्र्याे, त्यतिबेला नगरपालिकाले यातायात खर्च उपलब्ध गराउँथ्यो । अहिले औषधि खरिदमा सहयोग गर्छाैँ’ मेयर उपेन्द्रबहादुर थापाले भने, ‘अहिले संक्रमितका लागि नगरसँग धेरै बजेट छैन, आयआर्जनमूलक कार्यमा मात्रै सानो–सानो सहयोग गर्दै आएका छौं ।’ बजेट अभावमा संक्रमितको जीवन निर्वाह र उनीहरुका बालबालिको शिक्षाका लागि सहयोगी निकायसँग समन्वय गर्दै आएको थापाले जानकारी दिए ।






