कर्णालीमा घट्दै संक्रमण

सुर्खेत । कर्णाली प्रदेशमा आइतबार कोरोना संक्रमणको दर ह्वात्तै घटेको छ । प्रदेशभर १५ जनामा मात्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ भने ४० जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
आइतबार ८४ जनामा एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार भदौ महिना शुरुभएदेखि कर्णालीमा पुनः कोरोना संक्रमण दरमा कमी आउन थालेको छ ।
आइतबारको संक्रमणदर साउन महिनायताकै न्युन हो । आईतबार कोरोना संक्रमण देखिनेमा ७ जना जाजरकोट, रुकुम पश्चिमका ५ र सल्यानमा ३ जना रहेका छन् । सुर्खेतमा आईतबार संक्रमितको संख्या शुन्य रहेको छ ।
आईतबार कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सक्रिय संक्रमितको कुल संख्या घटेर ८६७ मा खुम्चिएको छ ।






