क्वाँटी र जनैकाे व्यापार ह्वात्तै घट्यो

काठमाडौं : जनै र जनै पूर्णिमाको रातमा खाइने क्वाँटीको व्यापार ह्वात्तै घटेको छ। जनै पूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरूले जनै र क्वाँटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन्।
न्यूज एजेन्सी नेपालले राखेको जिज्ञासाको जवाफ दिने क्रममा असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाँटीको व्यापार धेरै कम भएको बताए। क्वाँटी तागत दिने खानेकुरा भएपनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाई छ। तुलाधरले भने, ‘व्यापार यसपाली त्यति छैन। धेरै कम छ। क्वाँटी वर्षमा एक पटक खानैपर्ने हो। तर यसको व्यापार कम छ।’
यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरूले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिए। उनले कोही-कोही बुढाबुढीले जनै लगेपनि युवाहरू धेरैले यसलाई लगाउनै छाडिसकेको अनुभव सुनाए। न्यौपानेले १५ र २५ रूपैयाँ दरका जनै व्यापार गरिरहेका छन्। तर ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ।
जनै पूर्णिमालाई हिन्दुहरूको विशेष पर्व मानिन्छ। तर कोरोना लगायतका प्रभावका कारण जनै र क्वाँटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरूको बुझाई छ।






