तालिबानका प्रवक्ताको दाबी : अफगानिस्तानमा महिला पढ्न र काम गर्न स्वतन्त्र छन्

एजेन्सी । तालिबानले अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिएपछि महिलामाथि हुने हिंसाबारे चिन्ता बढेको छ। अफगानिस्तानमा महिलाको जीवनमा तालिबान शासनको प्रभावका सम्बन्धमा अन्तरराष्ट्रिय स्तरमा चिन्ता बढेको हो।
पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसदेखि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससम्मले महिलाको स्थितिबारे चिन्ता व्यक्त गरेका छन्।
गुटेरेसले मंगलबार ट्वीट गरेका छन्, ‘अफगानिस्तानमा चलिरहेको द्वन्द्वले गम्भीर मानवअधिकार उल्लंघनका रिपोर्टबीच हजारौं मानिस पलायन भएका छन्। त्यहाँ सबै प्रकारका यातना बन्द गर्नैपर्छ। ठूलो संघर्षपछि अन्तरराष्टिय मानवीय कानून र मानव अधिकार कायम गर्न सफलता मिलेको छ। महिला र छात्राको अधिकार संरक्षित हुनुपर्छ।’
यसैबीच, तालिबानका प्रवक्ता सुहेल शाहीनले तालिबान शासनमातहत महिलाको जीवनबारे विश्वका नेताले व्यक्त गरेका चिन्ताको जवाफ दिएका छन्। उनले बिबिसीलाई दिएको अन्तर्वार्तामा भनेका छन् कि आगामी सरकारले महिलालाई काम गर्ने र अध्ययन गर्ने स्वतन्त्रता दिनेछ। बिबिसी संवाददाता याल्दा हकीमसँग कुरा गर्दै शाहीनले तालिबान शासनमा न्यायपालिका, शासन र सामाजिक प्रणालीबारे विस्तृत कुराकानी गरेका छन्।
के महिला तालिबान शासनमा न्यायाधीश बन्न सक्नेछन्?
यसमा कुनै संदेह छैन कि त्यहाँ न्यायाधीश हुनेछन्। तर महिलाले सहयोगीको काम पाउन सक्छन्। उनीहरूले अरू के काम पाउन सक्छन् र के पाउँदैनन् भन्ने कुरा भावी सरकारमा निर्भर हुनेछ।
मानिसहरू कहाँ काम गर्न र जान सक्छन् भन्ने कुरा भावी सरकारले निर्णय गर्नेछ?
यो भावी सरकारमा निर्भर गर्दछ। हामीले शिक्षा क्षेत्रको लागि काम गर्नुपर्नेछ। यहाँ अर्थव्यवस्था र सरकारको लागि धेरै काम हुनेछन्। प्रमुख कुरा के भने महिलालाई काम र अध्ययन गर्ने स्वतन्त्रता दिइनेछ।
नयाँ सरकारमा पहिले जस्तै, महिला घर बाहिर जान बुबा, भाइ वा पति जस्तै कुनै एक पुरुषको आवश्यकता पर्ने छैन?
बिल्कुल, उनीहरूले इस्लामी कानूनअनुसार सबै गर्न सक्छन्। विगतमा जस्तै महिलाहरू सडकमा एक्लै हिंडेको देख्न सकिनेछ।
हामीसँग कुराकानी गरेका महिलालाई बुबा, भाइ र पतिसँग मात्र घरबाट बाहिर निस्कने अनुमति थियो। त्यसो नगर्नेले धार्मिक प्रहरीको कुटाइ खाएका थिए?
होइन, यो थिएन र फेरि हुने छैन।
तालिबानको पुनरागमनले चिन्तित महिला र छात्रालाई के भन्न चाहनुहुन्छ?
उनीहरू डराउनु हुँदैन। हामी उनीहरूको सम्मान, सम्पत्ति, काम गर्ने र अध्ययन गर्ने अधिकारको रक्षा गर्न समर्पित छौं। उनीहरूले तालिबान सरकारबाट काम र अध्ययनको लागि राम्रो व्यवस्था पाउनेछन्।
मैले केही तालिबान कमाण्डरसँग कुरा गरेकी छु। उनीहरू कानुनी प्रणालीअनुसार गलत काम गर्नेलाई मृत्युदण्डको सजाय दिन चाहन्छन् (ढुंगाले हानेर हत्या) वा सार्वजनिक स्थलमा हात र खुट्टा काट्ने। के तपाईं पनि यस्तै कानुनमा विश्वास गर्नुहुन्छ?
यो एक इस्लामी सरकार हो, यी सबै इस्लामी कानुनहरूको निर्णष धार्मिक फोरम र अदालतले निर्णय गर्नेछ।
केही दिनअघि तालिबानका नेता जबिउल्लाह मुजाहिदले पनि यी सबै विषय इस्लामी कानूनसँग सम्बन्धित रहेको बताएका थिए। उनले भनेका थिए, ‘यो सरीयतसँग सम्बन्धित मामिला हो। म यस मामिलामा सबैसँग भन्न चाहन्छु कि हामी सरीयतका सिद्धान्त परिवर्तन गर्न सक्दैनौं।’






