काबुल नियन्त्रणमा लिएपछि तालिबानको पहिलो पत्रकार सम्मेलन

एजेन्सी : अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि तालिबानले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ। मंगलबार भएको पत्रकार सम्मेलनमा तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिद पहिलो पटक भिडियोमार्फत सार्वजनिक भए।

उनले भने, ‘२० वर्षको लामो संघर्षपछि हामीले देशलाई स्वतन्त्र बनाएका छौं। विदेशीलाई देशबाट बाहिर निकालेका छौं।’ उनले यो देशकै गौरवको पल रहेको बताए।

प्रवक्ता मुजाहिदले आफूहरुले कुनै पनि विदेशी राष्ट्रलाई नोक्सान नपुर्‍याउने स्पष्ट पारे। ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छौं कि हामी कसैलाई पनि नोक्सानी पुर्याउने छैनौं।’, उनले भने।

‘हामी अन्तर्राष्ट्रिय समुदायसँग कुनै विवाद चाहँदैनौं। हामीलाई हाम्रो धार्मिक मान्यताअनुसार काम गर्न पाउने अधिकार छ। प्रत्येक देशका अलग(अलग कानुन, दृष्टिकोण र नियम हुन्छन्। हाम्रो मूल्य मान्यताअनुसार आफ्नो कानुन बनाउन पाउने अधिकार छ।’, उनले अगाडि भने।

मुजाहिदले सरिया कानुनअनुसार महिलालाई हक प्रदान गरिने बताए। ‘हामी सरिया व्यवस्थाअनुसार महिलालाई अधिकार प्रदान गर्न प्रतिबद्ध छौं। महिलाहरु हामीसँगै काँधमा काँध मिलाएर काम गर्न गइरहेका छन्। हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौं कि उनीहरुमाथि कुनै भेदभाव हुने छैन।’, उनले भने।

उनले महिलालाई आफ्नो व्यवस्था अन्तर्गत रहेर काम गर्ने र पढ्ने अधिकार दिन गइरहेको बताए। ‘महिलाहरु हाम्रो ढाँचाभित्र रहेर अब सक्रिय हुन गइरहेका छन्।’, उनले भने।

तालिबान प्रवक्ता मुजाहिदले अब आफूहरुको कोही दुष्मन नरहेको बताए। आफूले सबैलाई माफी दिएको पनि उनले बताए। ‘अफगानिस्तान अब संघर्षमा छैन। हामीले सबैलाई माफी दिएका छौं। हामीविरुद्ध लड्नेलाई पनि हामीले माफी दिएका छौं। हामी अब देशभित्र होस् वा देशबाहिर कुनै पनि दुश्मनी चाहँदैनौं। हामी अब काबुलमा अराजकता देख्न चाहन्नौं।’, उनले भने।​ मुजाहिदले काबुलका नागरिकको सुरक्षा गर्न आफूहरु आउनुपरेको बताए।

उनले आफूहरु मिडियाप्रति पनि उत्तरदायी हुने बताए। तर, मिडियाले आफ्नो सांस्कृतिक ढाँचाभित्र बस्नुपर्ने उनले बताए। ‘मिडियाले हाम्रो कमजोरीमाथि पनि ध्यान दिनुपर्यो जसले गर्दा हामी राष्ट्रको राम्रोसँग सेवा गर्न सकौं। तर, मिडियाले पनि यो कुरा ध्यानमा राख्नु पर्यो कि उनीहरुले इस्लाम धर्मको मूल्य मान्यताविरुद्ध काम नगरुन्।’, मुजाहिदले भने।

काबुल नियन्त्रणमा लिएपछि तालिबानको पहिलो पत्रकार सम्मेलन

तालिबानका प्रवक्ताको दाबी : अफगानिस्तानमा महिला पढ्न

Leave a comment

Your email address will not be published. Required fields are marked *