अफगानिस्तानमा रहेका नेपाली फर्काउने तयारीमा सरकार

काठमाडौं : नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ। तालिवान समूहले अफगानिस्तानका उत्तर,पश्चिम र दक्षिणका आधा भन्दा बढी प्रान्त कब्जा गरेसँगै सरकारले उद्धारमा चासो देखाएको हो।

काबुलमा नेपालीको संख्या धेरै छ। उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै उद्धारको तयारी गरिएको सरकारले जनाएकाे छ। यतिबेला अफगानिस्तानमा १५ सय नेपाली रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अफगानिस्तान हेर्ने जिम्मा पाएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीसँग सम्पर्क भइरहेको जानकारी दिइन् । उनले भनिन्,‘ व्यक्ति व्यक्तिसँग र समूहमा कुरा भइरहेको छ।’

संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा नेपाली खटिएका छन्। दिल्लीस्थित नेपाली दूतावासका अनुसार संयुक्त राष्ट्रसंघ तथा त्यस अन्तर्गतका कार्यालय, युरोपियन युनियनको कार्यालय, बेलायत, जर्मनी, क्यानडा, जापान, नर्वे, अस्ट्रेलियन दूतावासमा नेपाली पूर्व सुरक्षाकर्मी खटिएका छन्।

काबुलस्थित अमेरिकी राजदूतावासमा ५ सय ६० नेपाली कार्यरत रहेको लम्सालले उल्लेख गरिन्। ‘हाल ३ सय ८० त्यहि कार्यरत रहेका छन् भने बाँकी विदामा काबुल बाहिर छन्।

त्यस्तै, संयुक्त राष्ट्रसंघीय निकाय र युरोपियन युनियनको कार्यालयमा चार सय ७० नेपाली छन् । बेलायत, क्यानडा, जापान, जर्मनी, अस्ट्रेलियाका दूतावासमा कम्तीमा ६०–६० जना नेपाली खटिएका छन्’, प्रवक्ता लम्सालले भनिन्।

काबुलमा रहेका नेपाली उद्धारका लागि सम्बन्धित देशको राजदूतावासलाई आफ्नो नागरिक उद्धार गर्दा नेपालीको पनि उद्धार गरि दिनका लागि पत्राचार गरिसकेको प्रवक्ता लम्सालले जानकारी दिइन्।

उनले भनिन्,‘हालसम्मको जानकारी अनुसार नेपालीहरु सुरक्षित स्थानमा रहेको जानकारी आएको छ।’ गत वैशाखदेखि हालसम्म ३ सय ३० जनाले श्रम स्वीकृति लिएको अफगानिस्तान गएको वैदेशिक रोजगार विभागले जनाएको छ।

अफगानिस्तानका अधिकांश राज्यमा आफ्नो नियन्त्रण जमाइसकेको तालिबानी लडाकु राजधानी काबुल नजिकै पुगेका छन्। मुलुकको रणनीतिक सहर मानिने मजार–ए–शरीफ कब्जा गरिसकेका तालिबानी लडाकु राजधानी काबुलतर्फ अघि बढेको जनाइएको छ। समाचार एजेन्सीका अनुसार तालिबान लडाकु काबुलबाट ११ किलोमिटरको दूरीमा पुगिसकेका छन्।

अधिकांश प्रान्त कब्जा गरिसकेको तालिबानले राजधानी कब्जा गर्ने देखिएपछि अधिकांश देशले त्यहाँ रहेका आफ्ना कुटनीतिक कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्। अमेरिकाले काबुलमा रहेका कुटनीतिक कर्मचारी फिर्ताका लागि सेनासहितको विमान पठाइसकेको छ।

अफगानिस्तानमा रहेका नेपाली फर्काउने तयारीमा सरकार

थिएटर अगाडि युट्युवमा ‘उल्झन’

अफगानिस्तानमा रहेका नेपाली फर्काउने तयारीमा सरकार

तालिवान आक्रमणपछि उज्वेकिस्तान भागे अफगानी सेना

Leave a comment

Your email address will not be published. Required fields are marked *