भाषणमा सीमित ‘सिमकोटमा सडक’

काठमाडौं । केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि झण्डै तीन घण्टा पिठ्युँमा बोकेर सिमकोट जिल्ला अस्पताल पुर्याए । पहिले गाउँकै स्वास्थ्यचौकीमा उपचार गर्दा त्यहाँबाट जिल्लामा ‘पठाइएको’ उनले बताए ।
गाउँमा रहेका स्वास्थ्यचौकीमा सामान्य किसिमका समस्याको उपचार भएपनि जटिल समस्या हुँदा सिमकोट र त्यहाँबाट पनि ठिक नहुँदा अन्यत्र लैजानुपर्छ । सिमकोटका मात्रै होइन लाली, पिउस, राया, थालीलगायतका स्थानका नागरिकको दैनिकी सडक नपुग्दा कष्टकर भएको छ । उनीहरुले झण्डै सात घण्टासम्म पैदलमा हिँडेर सिमकोटमा पुग्नुपर्ने बाध्यता रहेको छ ।
सडक यातायात नहुँदा धेरै किसिमको समस्या भोग्नुपरेको यहाँका स्थानीयवासी सुनाउँछन् । सबैभन्दा बढी उपचार र खाद्यन्न आपूर्तिमा समस्या रहेको स्थानीयवासी बताउँछन् । गाउँघरका स्वास्थ्यचौकीमा भने जस्तो उपकरण र स्वास्थ्यकर्मी नभेटिने भण्डारीले बताए । एकातिर जिल्ला अस्पताल पुग्नै कठीन छ भने अर्कातिर जिल्लाबाट बाहिर जानुपर्दा अझै गारो रहेको उनले बताए । उनले भने, “सक्नेले त जिल्लामा उपचार नहुँदा महङ्गो हवाई भाडा तिरेर जिल्ला बाहिर लान्छन् नसक्नेले उपचार नपाउने अवस्था छ ।”
सदरमुकाम भन्दा टाढा रहेका र त्यस आसपासका गाउँका नागरिकले परिवारका सदस्य वा आफन्त बिरामी हुँदा पिठ्युँमा बोकेर लैजानुपर्ने बाध्यता छ । गाडी नहुँदा बिरामीको उपचार मात्रै नभएर जिल्लामा दैनिक उपभोग्य वस्तु तेल, चामल, चिनी लगायतको मूल्यसमेत महङ्गो तिरेर खानुपरेको छ । खाने तेलको मूल्य आधा लिटरको दुई सय रुपैयाँसम्म छ ।
सडक यातायातसँग जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटमा नागरिकले गाउँमा जटिल बिरामीलाई स्टेचर तथा पिठ्युँमा बोकेर उपचारका लागि सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ । सरकारले वर्षेनि सिमकोटसम्म सडक पु¥याउने लक्ष्य राख्दै आएको धेरै वर्ष भयो तर त्यो अहिलेसम्म पूरा भएको छैन । वर्षेनी रेडियोबाट यही कुरा सुन्दै आएका जुम्ली भन्छन्, “अब त कुरा पत्यार लाग्न नि छाड्यो ।”
हुम्लाको दक्षिणी क्षेत्रमा रहेका अदानचुली, चङ्खेली, ताँजाकोट र सर्केगाड गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सडक सञ्जालले सिमकोटलाई नछुँदा आसपासका गाउँपालिकालाई खाद्यन्न ढुवानीदेखि जटिल खालका बिरामीलाई जिल्ला अस्पतालसम्म पुग्नै गाह्रो भएको छ । जिल्लामा सडकले नछुँदा छिमेकी जिल्ला मुगु, बाजुराबाट चामल, तेल, साबुन र लत्ताकपडा घोडा खच्चडबाट ढुवानी हुने गरेको छ । सिमकोटमा व्यवसाय गरिरहेका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुदेखि अन्य सामाग्री पैदल मार्ग घोडा, खच्चरबाट ढुवानी गरेर ल्याउने गरेका छन् ।
नेपालगञ्ज, सुर्खेतबाट हवाई मार्गबाट ढुवानी गरेर ल्याएको सामान महँगोमा खरिद गर्नुपर्ने भएकाले आफैँ छिमेकी जिल्ला बाजुराको कोल्टी, मुगुको गमगढीलगायतका क्षेत्रमा पुगेर खाद्यान्नदेखि अन्य सामग्री खरिद गरेर ल्याउने गरेको सिमकोट–२ का शङ्कर रावलले बताए । सडक नपुगेकै कारण आफू जान आउन गरी झण्डै एक साता हिँडेर सामान ल्याउनुपरेको उनले बताए । उनले भने, “सरकारले बजेट भाषणमा सडक पु¥याउने भनेपनि खोइ हामी दुर्गमका नागरिकले कहिले सिमकोटसम्म गाडीमा सामान ल्याउन पाउने हो ?”
कुनै पनि सामान जुनसुकै माध्यमबाट भए पनि सिमकोट ल्याउँदासम्म महँगो हुने भएकाले सस्तो मोलमा बेच्न नसकिने रावलले बताए । एक पोका चाउचाउको मूल्य झण्डै रु ५० पर्ने गरेको छ । चामल खच्चडले पैदल मार्गबाट ढुवानी गरेर ल्याउँदा रु तीन हजारदेखि पाँच हजार सम्मपर्छ । उनले भने, “हुम्लीको दुःख कहिले हट्ला, पिठ्युँको भारी बोक्न छुटकारा कहिले हटेर हामीले पनि गाडी चड्न पाउँला ।”
सिमकोटसँगै जोडिएको खार्पुनाथ गाउँपालिका–३ का सालिबाने टमटा अझै पनि आफूहरुले दैनिक ५÷६ घण्टासम्म पैदल बिरामी बोकेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको गुनासो गरे । गाउँमा रहेका स्वास्थ्य संस्थामा सदरमुकामको जिल्ला अस्पताल जस्तो सबै सुविधा नहुँदा कि महङ्गो हवाई भाडा तिरेर हेलिकोप्टरमा जिल्ला बाहिर जानुपर्छ कि दिनभर पिठ्युँमा बोकेर सिमकोट पुग्नुपर्ने हुन्छ ।
“गाडी पुगेको भए सजिलो सेवा पाउँथ्यौँ होला तर त्यसो नहुँदा हामी हुम्लाका भारी बोकेर दैनिकी चलाउन परेको छ”, टमाटाले गुनासो पोखे, “गाउँमै गाडी चलेर हाम्रा सुखका दिन कहिले आउने हो कुन्नि ?” खार्पुनाथ गाउँपालिकामा रहेको छारेभीरसहित गरेर सलिसल्लादेखि सदरमुकाम सिमकोटमा ट्र्याक खोल्न अब १० किलोमिटर मात्रै बाँकी रहेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख विसुनदास लामाले बताए ।
बाँकी रहेको खण्डमा अहिले निर्माणको काम अघि बढिरहेको उनले बताए । चट्टानी भीर भएकाले ट्र्याक खोल्ने काम सजिलो नभए पनि थोरै लम्बाइ मात्रै बाँकी रहेको योजनाले जनाएको छ । सदरमुकाम सिमकोटलाई छुन अब १० किलोमिटर रहेकाले फागुन÷चैतसम्म सिमकोटसम्म ट्र्याक खोलेर गाडी पुर्याउने लक्ष्यसहित काम भइरहेको उनले बताए ।
सलिसल्लाबाट अगाडिको १० किमीमध्ये दुई किमी चट्टानी क्षेत्र रहेकाले सडक योजनाले मात्रै ट्र्याक खोल्नसक्ने अवस्था नभएको उत्तर–दक्षिण करिडोर निर्देशनालयले जनाएको छ । सो क्षेत्रमा अहिले पनि ठेक्का सम्झौता भएर निर्माणको काम भइरहेको छ ।
निर्माण व्यवसायीले खोल्न सकिने अवस्था नभएकाले बाँकी ट्र्याक खोल्न नेपाली सेना नै चाहिने निर्देशनालयका प्रमुख डा. विजय जैसीले बताए । सडक विभागले ठेक्कामार्फत गरेको सडकमा पनि विस्फोटन सेनाले नै गर्नुपर्छ । उनले भने, “बढी चट्टानको क्षेत्रमा सेनालाई नै जिम्मेवारी दिँदा सिमकोट चाँडो सडक पुर्याउन सकिन्छ ।”
सिमकोटसम्म बाँकी १० किमी ट्र्याक खोल्न सात किमी सेनाले र तीन किमी विभागले नै गर्ने गरी छलफल भइरहेको छ । अहिले १० किमी ठेक्का चालू भएकाले निर्माण व्यवसायीलाई त्यही सडकका अरु काममा लगाउन सकिने प्रमुख डा.जैसीले बताए । अहिले निर्माण गरिरहेको व्यवसायीमार्फत खुलाउँदा लामो समय लाग्ने देखिएकाले सात किमी सेनालाई दिन लागिएको हो ।
सो खण्डमा ट्र्याक खुलाउन सेना पनि सकारात्मक रहेको छ । उनका अनुसार निर्माण व्यवसायीलाई विस्तारको काममा लगाउन सकिन्छ । अहिले बाँकी १० किमीमध्ये आठ किमीमा समस्या नभएको र दुई किमीमा ट्र्याक खुलिहालेमा सिमकोट सडक सञ्जालमा जोडिनेछ । उनले भने, “जुन जुन निकायले खुलाए पनि चाँडो सिमकोटसम्म सडक पुग्नुपर्छ भनेर नै लागिएको छ ।”
कर्णाली करिडोरमा कतै कतै ट्र्याक खोल्ने काम भइरहँदा यसअघि खुलेका सडकमा भने सवारीसाधन चल्न थालेर स्थानीयवासीको जनजीवन सजिलो बन्दै गएको छ । सडक विभागले केही वर्ष पहिले नयाँ निर्माण हुने सबै सडक कम्तीमा पनि दुई लेनको बनाइने निर्णय गरेको थियो । सोही आधारमा पहिले ट्र्याक खुलिसकेका सडक अहिले विस्तार र स्तरोन्नति भइरहेको छ ।
यसअघि सेनाले बुझाएको सडक अब ग्राभेलस्तरमा स्तरोन्नति हुने प्रमुख डा. जैसीले बताए । आयोजनाले सो सडकमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) गरेर कालोपत्र गर्ने योजना बनाएको छ । उनले भने, “ट्र्याक खुलेका ठाउँमा पहिले दुई लेन बनाएर कालोपत्र हुनेछ ।”
सडक नै नपुगेको ठाउँमा खुलेका ठाउँमा पहिले दुई लेन बनाएर कालोपत्र हुनेछ ।”रासस





