रगत जम्ने समस्या देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

रासस ।  अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड-१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ ।

एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीहरुको भनाई छ। अमेरिकी अधिकारीहरुको भनाई सार्वजनिक भएलगत्तै जोन्सन कम्पनीले युरोपेली मुलुकमा वितरण गर्न तयार पारिएको खोप पनि हाललाई रोकिएको जनाएको छ ।

अमेरिकामा झण्डै ७० लाखले यो खोप लिइसकेका छन्। तीमध्ये १८ देखि ४८ वर्ष उमेर समूहका छ जना महिलाको मस्तिष्कमा रगत जम्ने समस्या देखिएको अधिकारीहरुको भनाई छ। अमेरिकी अधिकारीहरुका अनुसार रगत जम्ने समस्या देखिएकामध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एकको अवस्था निकै जटिल छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनका वैज्ञानिक पिटर मार्क्सले युरोपमा अस्ट्राजेनिकाको खोप लगाएका व्यक्तिकै जस्तो रगत जम्ने समस्या जोन्सन एन्ड जोन्सनको खोपमा देखिएको बताए। खोप लगाएका व्यक्तिको शरीरमा विकास भएको रोगप्रतिरोधी प्रणालीसँगै जोडिएको गडबडी भएको पनि उनको भनाई  छ।

जोन्सन एन्ड जोन्सनले युरोपमा खोप अभियान स्थगन गर्ने र थप अनुसन्धान गरिने बताएको छ। विगत तीन साताको अवधिमा खोप लगाएका व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए नदेखिएका बारेमा आफ्ना चिकित्सकसँग परामर्श गर्न अमेरिकी अधिकारीहरुले आग्रह गरेका छन्। खासगरी बेस्सरी टाउको दुख्ने, पेट दुख्ने, खुट्टा दुख्ने वा श्वास फेर्न कठिन हुने समस्या देखिए चिकित्सकसँग परामर्श गर्न भनिएको छ।

ह्वाइट हाउसले जोन्सन एन्ड जोन्सनका कारण अमेरिकी खोप अभियानमा असर नपर्ने विश्वास व्यक्त गरेको छ। यहाँ झण्डै आधा वयस्क व्यक्तिले कम्तीमा एक डोज खोप लिइसकेका छन्। यसैबीच, जर्मनीमा ६० वर्षभन्दा कम उमेरका व्यक्तिले पहिलो डोज अस्ट्राजेनिकाको खोप लगाए पनि दोस्रो डोज अर्कै खोप दिने तयारी गरिएको छ। जर्मनीले ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई रगत जम्ने खतरा भन्दै दुई डोज खोप नदिने यसअघि नै घोषणा गरिसकेको छ।

रगत जम्ने समस्या देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

नाइजरको विद्यालयमा भीषण आगलागी, २० बालबालिकाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *