पाटन नखुल्दै यार्सा चोरी

मुगु । यार्चागुम्बा संकलनका लागि मुगुका पाटन नखुले पनि लुकीछिपी चोरी हुन थालेको छ । अवैध मार्गबाट पाटन गई यार्चा टिप्नेहरू बढेका छन् । मुगुमकार्मारोङ गाउँपालिकाले जेठ १० गतेदेखि पाटनमा यार्चा संकलन गर्न अनुमति दिने निर्णय गरेको छ । जुम्लाको बाटो भएर स्थानीयले अवैध रूपमा यार्चा संकलन गर्ने थालेको मुगुमकार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष कार्मा तामाङले बताए ।

अवैध बाटोबाट पाटन प्रवेश गरी यार्चा चोर्दै गरेका जुम्लाका १० जना पक्राउ परेका छन् । ‘यार्चा चोरी हुन नदिन टोली खटाएका छौं,’ उनले भने, ‘टोलीले १० जनालाई भेटायो, तर अझै पनि लुकीछिपी संकलन गर्ने धेरै हुन सक्छन् ।’ हतियारसहित जुम्लाबाट आउनेहरूले यार्चा चोर्न थालेको उनले बताए ।

गत वर्ष कोरोना महामारीका कारण मुगुमा यार्चा संकलन प्रतिबन्ध गरिएको थियो । तर यो वर्ष स्थानीयको गुनासो बढेपछि गाउँपालिकाले पाटन खोल्ने निर्णय गरेको हो । तर समूहमा आएर यार्चा चोर्नेहरू सक्रिय बन्न थालेपछि समस्या भएको वडाध्यक्ष तामाङले बताए । मुगुमकार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँके, छापाखोलालगायत पाटनमा यार्चा पाइन्छ ।

गत वर्ष पाटन नखुलेका कारण यो वर्ष यार्चाको उत्पादन बढी भएको मुगुगाउँका टासी तामाङको अनुमान छ । यार्चा चोरी रोक्न मुगुगाउँका युवाले पाटन आसपासका क्षेत्रमा स्वस्फूर्त गस्ती गर्न थालेका छन् । ‘पाटन नखुल्दै चोरी गर्नेहरू सक्रिय बन्न थाले,’ उनले भने, ‘यस्तै अवस्था रहे यार्चा जोगाउन मुस्किल हुने देखियो ।’ राजश्व छल्ने र बढी कमाउने लालचमा पाटन नखुल्दै यार्चा चोरी गर्नेहरू सक्रिय हुन थालेको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।

‘हतियारसहित अवैध बाटोबाट चोरी गर्नेहरू पाटन पस्दा अप्रिय घटना हुने देखियो,’ उनले भने, ‘अप्रिय घटना हुन नदिन आसपासका प्रहरी टोलीको ध्यानाकर्षण गराइएको छ ।’ उनका अनुसार मुगु र पुलु चौकीमा प्रहरी नहुँदा पनि यार्चा चोर्नेहरू सक्रिय भएका हुन् । चिसो बढेको भन्दै गत कात्तिकमा सदरमुकाममा विस्थापित भएका दुवै प्रहरी चौकी अझै पुनःस्थापित भएका छैनन् ।

जिल्लाभित्रका स्थानीयलाई यार्चा टिप्ने दिने गरी पाटन खुला गर्ने निर्णय गाउँपालिकाले गरेको छ । ‘जिल्ला बाहिरबाट संकलक आउँदा कोरोना संक्रमणको जोखिम बढ्ने अवस्था आयो,’ उनले भने, ‘आवश्यक पूर्वतयारी र सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पाटन खुला गरिनेछ ।’मुगुमकार्मारोङ गाउापालिकाका अधिकांश बासिन्दाको मुख्य आयस्रोत नै यार्चा संकलन हो ।

गाउँपालिकाको मुगु, डोल्फु, चितै, पुलु, किम्री, दाउरा, रिउस, पुवा, माग्री, मह, छाइल, पापुलगायत १३ बस्तीका बासिन्दाले यार्चा बिक्रीको रकमले वर्षभरिको खर्चको जोहो गर्दै आएका छन् । गाउँपालिकाले यो वर्ष यार्चा टिप्न जाने स्थानीयलाई एक लाख रुपैयाँको जीवनबिमाको व्यवस्था गरेको छ । जेठमा पाटन उक्लिएका स्थानीयवासी असार अन्तिम साता मात्र गाउँमा फर्कने मुगमकार्मारोङ–२ का वडाध्यक्ष तामाङले बताए । यार्चा टिप्ने सिजनमा विद्यालय र विकास निर्माणका कामकाज बन्द हुन्छन् ।

पाटन नखुल्दै यार्सा चोरी

कार्टुन : चसक्क… जनाता समाजवादी पान भण्डार

पाटन नखुल्दै यार्सा चोरी

स्वास्थ्यकर्मीलाई दैनिक पाँच सय भत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *