भारतबाट कोभिसिल्ड खोप १० लाख मात्रा शनिबारसम्म आइपुग्ने

काठमाडौं : कोभिसिल्ड खोपको १० लाख मात्रा शनिबारसम्म आइपुग्ने भएको छ। भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोपमध्ये १० लाख मात्रा यसअघि आएको थिएन। सिरमले बाँकी खोप नेपाललाई पठाउन लागेको इमेल जानकारी स्वास्थ्य सेवा विभागलाई पठाएको थियो।

सोही खोपको १० लाख मात्रा खोप शनिबारसम्म आउने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार बुधबार वा बिहीबार वा ढिलोमा शनिबारसम्म कोभिसिल्ड खोपको १० लाख आइपुग्ने बताए।
‘छिटोमा भोलि र पर्सीभित्र आउने कुरा छ नभए ढिलोमा शनिबारसम्म १० लाख डोज कोभिसिल्ड खोप आइपुग्ने कुरा छ’ उनले भने।
नेपालले गत ५ फागुनमा सिरमसँग प्रति मात्रा ४ अमेरिकी डलरका दरले २० लाख मात्रा खरिद सम्झौता गरेको थियो। सम्झौताअनुसार १० लाख मात्रा त्यसैबेला आए पनि बाँकी १० लाख मात्रा आएको थिएन।
भारतबाट समयमै खोप नआउँदा पहिलो मात्रा लगाएका जेष्ठ नागरिकसहित झण्डै १३ लाखले समयमै दोस्रो डोज लगाउनै नपाउने अवस्था आएको थियो। तर, पछि जापानबाट एस्ट्राजेनेका खोप आएपछि उनीहरूले खोपको दोस्रो मात्रा लगाएका थिए।
सिरमबाट नेपालमा अहिलेसम्म अनुदानमा ११ लाख मात्रा, कोभ्याक्स सुविधा मार्फतको ३ लाख ४८ हजार र खरिद गरेको २० लाखमध्ये १० लाख गरी कुल २४ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप नेपाल आएको छ।






