अन्नबाली छाडेर अदुवा र बेसार खेती गर्दै सल्यानका किसान

सल्यान, ८ असोज ।
अदुवा, बेसार खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानका किसानहरु उत्साहित भएका छन् । थोरै जग्गाबाट पनि मनग्य आम्दानी गर्न सकिने भएपछि किसानहरु अन्नबाली छाडेर व्यावसायिक अदुवा र बेसार खेतीमा लागेका हुन् । परम्परागत खेती प्रणालीबाट जीविकोपार्जनमा समस्या उत्पन्न भएपछि माटोको अवस्था र बजार मागलाई ध्यान दिँदै अदुवा र बेसार उत्पादन सुरु गरिएको कालीमाटी गाउँपालिका–१ बयालेका केरसिङ रावतले बताए ।

१० रोपनीमा व्यावसायिक बेसार खेती गर्दै आइरहेका रावतले वार्षिक करिब तीन लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन । ‘गत वर्ष गिट्टी पारेको बेसार १० क्वीन्टल र काचो ३० क्विन्टल विक्री गरेको हुँ,’ उनले भने, ‘गिट्टी पारेको १६ हजार रुपैयाँ क्विन्टल र काँचो ४ हजार रुपैयाँ क्विन्टल बिक्री गरेको हुँ ।’ बारीमा अन्नबालीभन्दा अदुवा र बेसार जस्तो नगदे बाली लगाउँदा दोब्बर आम्दानी लिइरहेको उनको भनाइ छ । ‘पहिले पहिले यस ठाउँका अधिकांश मानिसहरु कामको लागि भारत लगायत विदेश तिर जान्थे,’ उनले भने ‘तर अहिले घरपरिवारसँगै बसेर र अदुवा बेसार खेती गरिरहेका छन् ।’ विगतमा वर्षहरुमा अदुवा र बेसारले बजार नपाउँदा निरास बनेका किसानहरु पछिल्लो समय पुनः राम्रो मूल्य पाउन थालेपछि व्यावसायिक खेतीमा लागेको बागचौर नगरपालिका–३ का नन्दलाल शर्मा बताउँछन्। ‘पहिले घरमै खानको लागि मात्र लगाउँथ्यौं,’ शर्माले भने, ‘अहिले बेच्ने गरी लगाउँछौं ।
अन्नबाली लगाउँदा घरमै खान ठिक्क हुन्थ्यो । अदुवा बेसार लगाउन थालेपछि घरखर्च चलाउन र छोराछोरी बढाउन सहयोग पुगेको छ ।’ गत वर्ष २५ क्विन्टल बिक्री गरेको बताउँदै यो वर्ष ९ रोपनीमा अदुवा र बेसार लगाएको उनले बताए । सल्यानमा एक हजार ७२० हेक्टर क्षेत्रफलमा अदुवार र ३२५ हेक्टरमा बेसार खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । खाद्यान्न बालीभन्दा अदुवा र बेसारबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समयमा किसानहरु अदुवा बेसार खेतीतर्फ आकर्षित भइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए ।
सल्यानमा अदुवा बेसार खेती वृद्धि गर्न प्रधानमन्त्री आधुनिकीकरण मार्फत जोन कार्यक्रम सञ्चालन गरिएको बस्नेतले बताए । शारदा नगरापलिकाको वडा नम्बर ६, ७, १४ र १५, सिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर १ देखि ५ र बागचौर नगरपालिकाको वडा नम्बर १ देखि २ सम्म अदुवा बेसार जोन कार्यक्रम सञ्चालन गरेको छ ।






