सामाजिक कार्यमा अग्रसर बन्दै सेना

रामचन्द्र न्यौपाने
डोल्पा, २९ कार्तिक ।
डोल्पामा कार्यरत नेपाली सेनाको टोली सामाजिक कार्यमा अग्रसर बन्न थालेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्म सुलिगार्डमा कार्यरत सेनाको टोली सामाजिक कार्यमा अग्रसर बनेको हो । दुई महिना यतामात्रै सेनाको टोलीले सार्वजानिक बाटाघाटा मर्मत गर्ने,पर्यटकिय गन्तव्यहरु संरक्षण तथा सरसफाई गर्ने,गाउँ–गाउँमा पुगेर जनचेतनामुलक कार्यक्रम गर्ने लगायतका आधादर्जन सामाजिक काम गरेको छ ।
गत शुक्रवार सेनाको टोलीले जिल्लाको आकर्षक पर्यटकिय गन्तव्यको रुपमा चिनिने तातोपानी कुवाको सरसफाई गरेको छ । ठुलिभेरी नगरपालिका पर्ने रुपगाड खोला देखि तातोपानी जाने बाटोको सामान्य मर्मत तथा सरसफाई गरिएको सेनानी लेखनाथ कटवालले बताए । बिच–बिचमा बाटो भत्केर तातोपानीमा नुहाउन जाने नागरिकलाई समस्या भएपछि सेनाले मर्मत गरेर राम्रो बाटो बनाएको उनको भनाई छ । एकसाता अघिमात्रै त्रिपुरासुन्दरी नगरपालिका २ मा पर्ने रसी गाउँको शृजनशील युवा क्लवलाई सेनाले भलिवल,नेट लगायतका खेल सामग्री प्रदान गरेको थियो ।
त्यसैगरि सेनाकै नेतृत्वमा नेपालकै गहिरो फोक्सुण्डो ताल सरसफाई गर्नुका साथै शे–फोक्सुण्डो गाउँपालिका ८ मा पर्ने पुग्मो गाउँ र ताप्रिचा माध्यामिक बिद्यालयमा कोभिड १९ बारे जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना बिरुद्ध सतर्कता अपनाउन आग्रह गर्दै विकट गाउँ तथा बिद्यालयहरुमा पुगेर चेतना फैलाउने काम गरिहरहेको सेनाले जनाएको छ ।
उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थिकालागि खेल सामग्री समेत प्रदान गरिएको सेनाले जनाएको छ । सेना र नागरिक बिचको सम्बन्धलाई बलियो बनाउनकालागि सार्वजानिक स्थल तथा बाटाघाटा मर्मत तथा सरसफाई गर्ने,पर्यटकिय स्थलहरु संरक्षण संबद्र्धन गर्ने,प्राकृतिक विपत्तिका घटनामा यथाशिघ्र खटिने लगाएतका काम गर्दै आएको सेनाको भनाई छ ।
डोल्पाकै एकमात्र भरपर्दो डोल्पामा अस्पतालमा रगतको अभावमा ज्यान खतरामा परेका सुत्केरी तथा बिरामिकालागि रगत दिएर बचाउने काम समेत गर्दै आएको छ । जिल्ला अस्पतालमा ब्लड बैंक नभएकाले रगतको खाँचो पर्ने बित्तिकै सबैभन्दा पहिला सेनालाई फोन गर्ने गरेको अस्पतालले जनाएको छ । पछिल्लो समय सामाजिका कार्यमा सेनाको सक्रियता बडेको भन्दै सरोकारवाला निकायले प्रशंसा समेत गरेका छन् ।








